असार २४, २०८२ मंगलबार July 8, 2025

त्रिविको विश्व वरीयता- वाई.पी. आचार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टाइम्स हाइयर एजुकेसन (टिएचई)को सर्वेक्षणमा त्रिभुवन विश्वविद्यालय विश्व वरीयताको उत्कृष्ट हजारभित्र परेको छ । विश्व वरीयता निकाल्ने थुप्रै संस्था छन्, तर त्रिवि अरू कुनै वरीयतामा देखिँदैन । त्रिवि विश्वमै एउटा मात्र यस्तो संस्था हो, जसले मुलुकको उच्चशिक्षा अध्ययन गर्ने ७९.५ प्रतिशत विद्यार्थी थेगेको छ । शिक्षण र अनुसन्धान दुवै प्रकृति भएको, यति धेरै विधालाई समेटेको, केन्द्रीकृत व्यवस्थापन र केन्द्रीय परीक्षा प्रणाली भएको विश्वविद्यालय पनि विश्वमा अरू भेटाउन मुस्किल छ । तर, संख्यात्मक मापनको कसीमा अब्बल देखिए पनि गुणात्मकतामा त्रिवि कहाँ छ ? यो निकै गहन प्रश्न हो ।

विश्वस्तरीय विश्वविद्यालयको सैद्धान्तिक जग र आधिपत्य : विश्वस्तरको विश्वविद्यालय ज्ञानको क्षेत्रमा नवउदारवाद आधारित विश्व प्रतिस्पर्धाको एक आयाम हो । सन् १९७० को दशकमा बेलायतमा मार्गरेट थ्याचर र अमेरिकामा रेगनको उदयसँगै जब बजार अर्थतन्त्रको विस्तार भयो, शिक्षामा पनि नवउदारवादी धारणा व्यापक बन्यो ।

उद्योगमा आधारित पुँजीको स्थान ज्ञान आधारित अर्थतन्त्रले लिन थाल्यो । विकसित भनिएका देशहरू ज्ञानको क्षेत्रमा विश्व प्रतिस्पर्धाको नाममा विश्वका प्रतिभाशाली मस्तिष्कहरू भित्र्याउने  योजनामुताबिक लागिपरे जसका लागि आफूअनुकूलका मापदण्ड विकास गरी प्रतिस्पर्धाको नाटक रचना गरे । वरीयताको ब्रान्डमा उत्पादित जनशक्तिलाई बेच्न थाले ।

शिक्षाविद् जोनस्टोनका अनुसार ‘विश्वस्तरीय विश्वविद्यालयको नाममा ज्ञानलाई प्रयोग गरेर धनी देशहरू झन् धनी र गरिब देशहरू अझ गरिब हुने अवस्था आएको छ ।’ अंग्रेजी भाषाको आधिपत्य जमेको छ । त्यसैले एङ्लो अमेरिकन देशहरू विश्व वरीयतामा अगाडि देखिन्छन् । जबकि, विकसित मुलुक भईकन पनि जर्मनी, फ्रान्स, जापान, चीनलगायतका मुलुक भाषाको कारण वरीयता सूचीको क्रममा पछाडि देखिन्छन् ।

सन् २०१८ मा अल्फ्रेड र हकिन्सले गरेको एक तुलनात्मक अध्ययनअनुसार शीर्ष दुई सयमध्ये ५० प्रतिशत विश्वविद्यालय अंग्रेजीभाषी मुलुक मुख्यतः अमेरिका र बेलायतका छन् । वरीयताको प्रपञ्च ज्ञानको दुनियाँमा साम्राज्य फैलाउने विकसित देशहरूको हतियार भएको छ ।

अमेरिकाले सबै विश्वविद्यालय विश्वस्तरका बन्न सक्दैनन् भनेर शिक्षण विश्वविद्यालय र अनुसन्धान विश्वविद्यालय भनी वर्गीकरण गर्‍यो र अनुसन्धान विश्वविद्यालयलाई बढी जोड दियो । सबै विश्वविद्यालय शिक्षण र अनुसन्धान दुवै विश्वविद्यालय हुन् भनी हिँडेको जर्मनीले २००५ पछि एक्सिलेन्स इनिसिएटिभ भनेर केही विश्वविद्यालयलाई अलि बढी जोड दिएको छ । दक्षिण कोरियाले सन् १९९९ मा ब्रेन कोरियाको नारा लिई विश्वका गतिला प्रतिभा तान्न खोजेको छ । जापान पनि सन् २००५ देखि सेन्टर अफ एक्सिलेन्सको नाममा विश्व प्रतिस्पर्धामा उत्रेको छ ।

के हुनुपर्छ विश्वस्तरको विश्वविद्यालय हुन ? : फरक संस्थाका मापनका सूचक पनि फरक छन् । उत्कृष्ट अनुसन्धान, प्राज्ञिक स्वतन्त्रता, लचक शासकीय ‍स्वरूप, पर्याप्त भौतिक सुविधा र पर्याप्त लगानीलाई अल्टब्याचले उत्कृष्टता मापनका पाँच विशेषता बताउँछ । साल्मी मुख्यतः तीन तत्वमा जोड दिन्छ : प्रतिभाशाली प्राध्यापक र विद्यार्थीको आकर्षण, शिक्षण र अनुसन्धानमा व्यापक लगानी, अनुकूल र लचक शासकीय संरचना । यी सबैको जोड ब्रेनको आकर्षणविना नयाँ ज्ञान उत्पादन हुन सक्दैन भन्नेमा छ ।

विश्वस्तरको विश्वविद्यालय भनेको समतामा आधारित नभएर निरपेक्ष प्रतिस्पर्धा हो । तर, हाम्रो संविधानको मर्म समतामूलक शिक्षा हो । त्यसैले शिक्षा नीति २०७६ ले निर्दिष्ट गरेमुताबिक अब उपरान्त सम्बन्धन दिन बन्द गर्नुपर्छ ।

प्राज्ञिक स्वतन्त्रता, शासकीय स्वरूपमा उत्तरदायीपूर्ण संस्थागत स्वायत्तता, दिगो लगानी र अनुसन्धानमा जोड दिएको देखिन्छ । त्रिवि विश्वस्तरको विश्वविद्यालय बन्ने क्रममा छ ? : विश्वविद्यालय अनुदान आयोगको रिपोर्टअनुसार हरेक आठ वर्षमा सम्बन्धनप्राप्त क्याम्पसहरूको संख्या दुई गुणाले बढेको देखिन्छ । यही गति कायम रहे सन् २०३० सम्म सम्बन्धनप्राप्त क्याम्पसहरूको संख्या ३२ सय पुग्नेछ । तर, विगत आठ वर्षको विद्यार्थी भर्नादर हेर्दा सन् २०३० सम्ममा प्रतिक्याम्पस ९६ विद्यार्थी मात्रै हुनेछन् ।

त्रिविका ३९६ क्याम्पसमा ५० भन्दा कम विद्यार्थी छन्, जुन छिटै बन्द हुनेछन् । यसबाट त्रिवि विश्वस्तरको विश्वविद्यालय बन्ने सन्दर्भमा गम्भीर सवाल खडा हुन्छन् । के त्रिविका क्याम्पस आर्थिक, प्रशासनिक र प्राज्ञिक हिसाबले स्वायत्त छन् ? प्राज्ञलाई प्राज्ञिक स्वायत्तता छ ? के प्राध्यापकलाई विद्यार्थीको क्षमता हेरी भर्ना गराउन, उत्तीर्ण गराउन वा अराजक भएमा डिग्री खारेज गराउने अधिकार छ ? सरकारले पदाधिकारी नियुक्त गर्ने, दलको फेरो नसमाए पद नपाउने, महिनौँ नियुक्ति नभएर काम ठप्प हुने शासकीय स्वरूप भएको अवस्थामा कसरी लचक र विकेन्द्रीकृत व्यवस्थापन हुन्छ ? उत्तीर्ण दर औसतमा २७ प्रतिशत, तह पूरा नगर्ने ५५ प्रतिशत रहेको विश्वविद्यालयमा सिकाइ गुणस्तरको हबिगत के होला ? केन्द्रीकृत लिखित परीक्षा प्रणाली भएको प्राध्यापक र विद्यार्थीका बीच सोझो साइनो सम्बन्ध नभएको पद्धति कसरी उत्तरदायी हुन्छ र जवाफदेहिता कायम हुन्छ ?

प्राध्यापकले आफू र आफूनिकटको मान्छे नियुक्त नगरेको भनेर, कर्मचारीले काम गर्नुपर्‍यो भनेर, विद्यार्थीले आफ्नो पार्टीनिकटको प्रध्यापक नियुक्ति नभएको, चन्दा नदिएको, कम नम्बर दिएको भनेर तालाबन्दी गर्ने विश्वविद्यालय कसरी प्रतिस्पर्धी बन्ला ? राजनीतिको आडमा आंशिकबाट छिरेर धर्ना बस्दै करार र स्थायी बन्दै आएका प्राज्ञबाट कस्तो गुणस्तरको आशा गर्ने ? सेवा प्रवेशपछि छात्रावासको आवासमा बसेको व्यक्ति अवकाशपछि मात्रै निस्कने, विद्यार्थी बस्न नपाउने खालको व्यवस्थापन भएको विश्वविद्यालयमा विदेशी प्राध्यापक र विद्यार्थी कसरी आउलान् ? सेवा आयोगलाई नियमित बनाउन नदिने अनि आंशिक शिक्षकको भरमा पठनपाठन धान्ने गर्दा शिक्षण र अनुसन्धान कसरी जोडिन्छ ?

अबको बाटो : विश्वको बहावसँगै बहकिने कि मुलुकको विषेशता हेरी आफ्नो मूल्य मान्यताअनुरूप गुणस्तरमा जोड दिने, स्पष्ट हुन जरुरी छ । विश्वस्तरको विश्वविद्यालय भनेको समतामा आधारित नभएर निरपेक्ष प्रतिस्पर्धा हो । तर, हाम्रो संविधानको मर्म समतामूलक शिक्षा हो । त्यसैले शिक्षा नीति २०७६ ले निर्दिष्ट गरेमुताबिक अब उपरान्त सम्बन्धन दिन बन्द गर्नुपर्छ ।

भारतले पनि २०२० को शिक्षा नीतिमार्फत अनुसन्धान, शिक्षण र कलेज गरी तीन प्रकारका विश्वविद्यालय वर्गीकरण गरेको छ । अमेरिका, जर्मनी, फ्रान्समा पहिलेदेखि यस्तै अभ्यास छ । यसका लागि त्रिविलाई पुनर्संरचित गर्नुपर्छ । स्वायत्ततासहित फरक मिसन दिइनुपर्छ । बोर्ड अफ ट्रस्टीको निर्माण गरी त्यसैले कार्यसम्पादन करार गरी पदाधिकारी नियुक्त गर्नुपर्छ । तालाबन्दी गर्ने प्राध्यापकलाई सार्वजनिक अपराधअन्तर्गत अभियोगसहित सेवाबाटै हटाउनुपर्छ । संस्कार र संस्था नबनेसम्म गणितीय रूपमा जुनसुकै वरीयता क्रममा आए पनि तात्विक उपलब्धि हुनेछैन । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार