कार्तिक १६, २०८३ सोमबार November 2, 2026

न्यायालयमा छानबिन, संसदमा महाभियोगको तयारी

महाभियोगका लागि दुई तिहाइ बहुमत अनिवार्य, ११ सदस्यीय समितिले गर्नेछ आरोपको छानबिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूको बिचौलिया इनम सापकोटासँग साँठगाँठको विषय अब अदालतभित्रको छानबिनदेखि संसदीय कारबाहीसम्म पुग्ने भएको छ ।

सर्वोच्च अदालत आफैंले न्यायाधीश हरिप्रसाद फुयाल र सापकोटाबीचको सम्पर्क तथा भेटघाटलाई लिएर उत्पन्न विवादको सत्यतथ्य पत्ता लगाउन आन्तरिक छानबिन गर्ने तयारीमा जुटेको हो । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयभित्र देखिएका विकृति र विचलनमाथि संसदीय कारबाही अघि बढाउने तयारी अघि बढाएको छ ।

सो विषयमा छलफल गर्न प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आज सोमवार पूर्ण बैठक बोलाउनुभएको छ । यसअघि शुक्रवार बसेको बैठकमा न्यायाधीशहरूले विवादमा आएका विषयको आन्तरिक छानबिन गरी यथार्थ सार्वजनिक गर्नुपर्ने धारणा राखेका थिए । सर्वोच्च अदालत आफैँले छानबिन समिति गठन गरेर घटनाको टुंगो लगाउनुपर्ने प्रस्तावसमेत बैठकमा आएको थियो ।

सो बैठकमा न्यायाधीश फुयाँलले आफ्नो पक्ष राख्दै इनम सापकोटा प्रधानमन्त्रीको नाम लिएर आफूहरूसमक्ष आएको र सोही क्रममा कुराकानी भएको बताउनुभएको थियो । तर, उक्त भेटघाटबाट आफू कुनै प्रभावमा नपरेको र न्यायिक विचलन हुने कुनै काम नगरेको उहाँको स्पष्टीकरण थियो । त्यसपछि बैठकमा सहभागी अन्य न्यायाधीशहरूले भने विवादमा सार्वजनिक भएका सबै विषयको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका थिए ।

न्यायालयको निष्पक्षता र विश्वसनीयतासँग जोडिएकाले सो विषयमा अदालतभित्रैबाट तथ्य र प्रमाणका आधारमा टुंगो लगाउनुपर्ने धारणा न्यायाधीशहरूले राखेका थिए । शुक्रवार निर्णय हुन नसकेपछि थप छलफल र निर्णयका लागि आज पुनः बैठक बोलाइएको हो ।

रास्वपाको शनिवार बसेको सचिवालय बैठकले न्यायालयभित्रका विकृतिलाई संसद्बाट विधिसम्मत रूपमा निरुपण गर्न संसदीय दललाई निर्देशन दिएको हो । पार्टीले पछिल्लो विवादलाई गम्भीर रूपमा लिँदै निर्णायक कदम चाल्ने संकेत गरेपछि न्यायाधीशमाथि महाभियोगको सम्भावना बढेको छ । यद्यपि सो पार्टीको निर्णयमा महाअभियोग शब्द प्रयोग गरिएको छैन । ‘कतिपय न्यायाधीश नै गम्भीर विचलन र अनुचित साँठगाँठमा मुछिएका घटनाले न्यायालयको निष्पक्षता, तटस्थता र गरिमामाथि प्रश्न उठेको अवस्था छ’ –रास्वपाका प्रवक्ता एवं ललितपुर क्षेत्र नं २ का सांसद जगदीश खरेलले भन्नुभयो । न्यायालयभित्रका यी विकृतिलाई विधिसम्मत तवरले निरुपण गर्न संसद्बाटै निर्णायक कदम चाल्नुपर्नेमा उहाँको जोड रहेको छ ।

संविधानमा कार्यक्षमताको अभाव, खराब आचरण, पदीय दायित्व इमानदारीपूर्वक पूरा नगरेको वा आचारसंहिताको गम्भीर उल्लंघन गरेको आधारमा महाभियोगको प्रक्रिया अघि बढाउन सकिने प्रावधान रहेको छ । संविधानको धारा १०१ को उपधारा (२) तथा प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १६४ मा महाभियोगसम्बन्धी व्यवस्था छ ।

महाभियोग प्रस्ताव दर्ता गर्न प्राप्त सूचना, जानकारी वा उजुरी ग्राह्य रहेको भनी कम्तीमा तीन जना सांसदले प्रमाणित गरी पेस गर्नुपर्ने व्यवस्था छ । प्रस्तावमा आरोपको आधार र कारण स्पष्ट खुलाउनुपर्छ । प्रस्तावसम्बन्धी सूचना संसद्का महासचिव वा निजको अनुपस्थितिमा सचिवसमक्ष पेस गर्नुपर्नेछ । प्रस्ताव दर्ता भएको सात दिनपछिको कुनै बैठकमा छलफल हुने गरी सभामुखले दिन र समय तोक्ने व्यवस्था छ । संसद् अधिवेशन प्रारम्भ भएको अवस्थामा भने तीन दिनभित्रको कुनै बैठकमा छलफल हुने गरी समय निर्धारण गरिनेछ ।

सभामुखले तोकेको दिन प्रस्तावक सदस्यले महाभियोग प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछन् । त्यसपछि छलफल गरी प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइनेछ । प्रतिनिधि सभा नियमावलीको नियम १६५ अनुसार ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन हुनेछ । समितिले आरोपका आधार र कारण विद्यमान भए–नभएको छानबिन गरी सिफारिस गर्नेछ ।

प्रारम्भिक अनुसन्धानमा सम्बन्धित पदाधिकारीमाथि महाभियोग लाग्न सक्ने मनासिव र पर्याप्त आधार देखिएमा समितिले सिफारिससहितको प्रतिवेदन सदनमा पेस गर्नेछ । आरोपित पदाधिकारीलाई कारबाही प्रारम्भ भएपछि सात दिनभित्र आफ्नो सफाइ पेस गर्ने अवसर दिनुपर्नेछ । समितिको प्रतिवेदनमाथि सदनमा छलफल हुनेछ । आवश्यक परे थप छानबिनका लागि प्रतिवेदन पुनः समितिमा पठाउन सकिनेछ । त्यसरी फिर्ता पठाइएको अवस्थामा समितिले सात दिनभित्र अनुसन्धान गरी प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।

महाभियोग प्रमाणित भएको ठहरसहित समितिले पेस गरेको प्रतिवेदन प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित हुनुपर्छ । प्रस्ताव पारित भएमा सम्बन्धित पदाधिकारी पदमुक्त हुनेछन् । महाभियोगबाट पदमुक्त भएको व्यक्तिले सम्बन्धित पदबाट पाउने सुविधा लिन पाउने छैनन् भने भविष्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनोनयन हुनसमेत अयोग्य हुने संवैधानिक व्यवस्था छ ।

पार्टीका प्रवक्ता जगदीश खरेलले संवैधानिक व्यवस्थाअनुसार महाभियोग लगाउने वा नलगाउने विषय संसद्को भएकाले संसदीय दलले नै थप प्रक्रिया अगाडि बढाउन बताउनुभयो । आजको नेपाल समाचारपत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा
२०८३ कार्तिक १६, सोमबार
गाउँपालिका महासंघकी अध्यक्ष पाण्डे अन्तर्राष्ट्रिय संगठनको अध्यक्षमा निर्वाचित
२०८३ कार्तिक १६, सोमबार
नेतान्याहुलाई इजरायलमा नयाँ सरकार बनाउन र विश्वासको मत पाउन कठिन
२०८३ कार्तिक १६, सोमबार
मलेखु-मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द
२०८३ कार्तिक १६, सोमबार
न्यायालयमा छानबिन, संसदमा महाभियोगको तयारी
२०८३ कार्तिक १६, सोमबार
वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
२०८३ कार्तिक १६, सोमबार
एनपीएलमा आज सोमबार दुई महत्त्वपुर्ण खेलहरू हुँदै
२०८३ कार्तिक १६, सोमबार