कार्तिक १८, २०८३ बुधबार November 4, 2026

सुदूरपश्चिममा बजेट विवाद कायमै, प्रदेश सभा बैठक बोलाउन कांग्रेसको माग

अनिवार्य दायित्वबाहेक बजेट कार्यान्वयन नगर्न कांग्रेसको सर्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

१८ कात्तिक, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले तत्काल प्रदेश सभाको बैठक बोलाउन माग गरेको छ । सँगै सर्वदलीय बैठक र बजेटबारेको छलफलका विषयमा केही सर्त अघि सारेको छ ।

बुधबार पूर्वमुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभाको बैठक तत्काल बोलाउन सभामुखलाई अनुरोध गर्न निर्णय गरेको हो ।

सर्वदलीय बैठकमा सहभागी हुने विषयमा भने कांग्रेसले अनिवार्य दायित्व भएका, कर्मचारीहरूको तलब, अस्पतालको विषयलगायत अन्य जरुरी कार्यक्रम सूची कार्यान्वयनमा लैजाने र बाँकी सबै बजेट कार्यान्वयनमा नलैजाने निर्णयसहित प्रदेश सभालाई जानकारी दिनुपर्ने सर्त राखेको छ ।

यसअघि नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारको राजीनामा माग गरिसकेको थियो । सोही बजेटको विषयलाई लिएर सभामुखले बोलाएको सर्वदलीय बैठकका सन्दर्भमा कांग्रेस संसदीय दलका नेता शाह र सभामुखबीच भएको भेट तथा संवादपछि कांग्रेसले यस्तो निर्णय लिएको हो ।

प्रदेश सभामा सभामुखले सरकारले ल्याएको बजेटमा देखिएका कमजोरी अध्ययन गर्न सर्वदलीय संसदीय समिति बनाउने घोषणा गरेका थिए । सोही समितिले दिने सुझावका आधारमा पूरक बजेट ल्याउने बताएका थिए ।

तर प्रमुख प्रतिपक्षी दल कांग्रेसले सर्वदलीय बैठक बहिष्कार गरेपछि अहिलेसम्म संसदीय समिति गठन हुनसकेको छैन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया