कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

एसिया कप क्रिकेट : नेपाल भारतसँग पराजित

नेपालले यही कात्तिक २२ गते युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो ।

जितका लागि नेपालले दिएको १२९ रनको लक्ष्य पच्छाएको भारतले कुनै विकेट नगुमाई १९ दशमलव एक ओभरमा लक्ष्य पूरा गर्‍यो । भारतको जितमा आर्यभिर सेवाङले सर्वाधिक ७० रनको योगदान दिए । उनले ५२ बलमा सात चौका र चार छक्काको सहयोगमा अविजित ७० रनको योगदान दिएका हुन् । त्यसैगरी लक्ष्य रैचदनीले ६३ बलमा सात चौकाको सहयोगमा अविजित ५३ रनको योगदान दिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर १२८ रनको योगफल बनाएको थियो ।

नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । उनले ९३ बलमा १ चौका र १ छक्का प्रहार गरे । त्यस्तै आशिष लुहारले ४५ बलमा २९ रन जोड्दा नीरजकुमार यादवले ४८ बलमा २० रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ भारतका इशान सूदले १० ओभरमा १८ रन खर्चेर तीन विकेट लिए । त्यस्तै अर्जुन राजपुतले पाँच दशमलव तीन ओभरमा आठ रन दिँदै तीन विकेट हात पारे । शवीर गौडले दुई विकेट लिए भने मनाल चौहान र काव्या परेश पटेलले समान एक/एक विकेट लिए ।

उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । अब नेपालले यही कात्तिक २२ गते युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया