बागलुङ, २१ कात्तिक: बागलुङको दुर्गम गाउँ नौटुवामा स्वास्थ्य सेवाको पहुँच पुगेको छ । बागलुङको बडिगाड गाउँपालिका-१ नौटुवामा सामुदायिक स्वास्थ्य इकाइ शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
बडिगाड गाउँपालिकाले स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा लिने वातावरण बनाएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्य सेवा लिन एक घण्टाभन्दा बढी पैदल हिँडेर दगातुन्डाँडा स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता रहँदै आएकामा नौटुवा क्षेत्रका नागरिकले गाउँमैसेवा पाउन थालेका उहाँले बताउनुभयो ।
अध्यक्ष अधिकारीका अनुसार स्वास्थ्य इकाइ सञ्चालनमा आएपछि खोप सेवासहित आधारभूत स्वास्थ्य सेवा लिन स्थानीयलाई सहज भएको छ । गण्डकी प्रदेश सरकारको रु १० लाख लागतमा गतवर्ष नै निर्माण भएको भवनमा नगरपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्था मिलाएको छ ।
स्वास्थ्य इकाइमा एक जना स्वास्थ्यकर्मीको दरबन्दी बनाएर सेवा दिन थालिएको हो । यसअघि खोप केन्द्रका रूपमा रहेको उक्त स्थानबाट अब बर्थिङ सेवाबाहेक अन्य आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने भएपछि स्थानीय खुसी भएका छन् । स्वास्थ्य सेवा नागरिकको घरदैलोमै पुर्याउने गाउँपालिकाले स्वास्थ्यचौकीको पहुँच टाढा रहेको स्थानमा स्वास्थ्य इकाइ स्थापना गरेको हो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया