काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको सुखद अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको विषयलाई उल्लेख गर्दै सभापति थापाले महाधिवेशनका क्रममा सक्रिय सहभागिता जनाउने, निरन्तर सहयोग गर्ने र अथक मेहनत गर्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति विशेष आभार व्यक्त गरे।
उनले नेपाली कांग्रेसले आफ्नो इतिहासका अनेकौँ कठिन मोडहरूमा निष्ठावान् सदस्य, शुभेच्छुक र आम नागरिकको साथ, विश्वास, संघर्ष र साहसकै आधारमा ठूलठूला चुनौतीहरू पार गर्दै आएको स्मरण गराए।
अहिलेको समयमा पनि पार्टीसामु विभिन्न स्वरूपका चुनौतीहरू कायम रहेको उल्लेख गर्दै थापाले भ्रम, दुष्प्रचार र घेराबन्दीका चौतर्फी प्रयासहरू भइरहे तापनि कांग्रेस आफ्नो बाटोबाट अलिकति पनि विचलित नहुने कुरा स्पष्ट पारे। सत्य, निष्ठा र अभेद्य एकताको बलमा सबै चुनौतीको निर्भीकतापूर्वक सामना गर्दै नयाँ आत्मविश्वासका साथ अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।
सभापति थापाले अब पार्टीको मुख्य साझा संकल्प र अर्जुनदृष्टि ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को राष्ट्रिय लक्ष्य प्राप्तिमा पूर्ण रूपमा केन्द्रित हुने बताए। पार्टी संगठनलाई थप सुदृढीकरण गर्ने, नागरिकको विश्वास पुनः आर्जन गर्ने र देशको उज्ज्वल भविष्य निर्माणका लागि सम्पूर्ण ऊर्जा लगाउने अठोट उनले दोहोर्याए।
यस दूरगामी अभियानमा सम्पूर्ण देशवासी तथा कार्यकर्ताको सक्रिय साथ, अतुलनीय योगदान र प्रतिबद्धता निरन्तर रहने विश्वास व्यक्त गर्दै सभापति थापाले अबदेखि पार्टीका आधिकारिक सूचनाहरू तथा आफूसँगको प्रत्यक्ष सम्पर्क मार्फत हुने जानकारी दिए।
साथै, पार्टीका आधिकारिक सूचना, आधिकारिक धारणा तथा विविध गतिविधिहरूबारे सहि जानकारी लिनका लागि नेपाली कांग्रेसका आधिकारिक सामाजिक सञ्जालका पेजहरू मात्र फलो गर्न पनि उनले सबैलाई आग्रह गरे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया