काठमाडौँ, २२ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विदेश विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले संवाद, छलफल र समन्वयलाई प्राथमिकता दिन सरोकार भएका सबैलाई आग्रह गर्नुभएको छ ।
साइप्रस कम्युनिष्ट पार्टी (एकेल) को स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा साइप्रसको निकोसियामा शनिबार आयोजित कार्यक्रममा उहाँले समकालीन विश्वमा बढ्दो भू-राजनीतिक तनाव, आर्थिक असमानता, जलवायु सङ्कट र अति दक्षिणपन्थी प्रवृत्तिको पुनरुत्थानले लोकतन्त्र, सामाजिक न्याय र अन्तरराष्ट्रिय शान्तिमा चुनौती थपेको बताउनुभयो ।
उहाँले अन्तरराष्ट्रिय सम्बन्धमा शक्तिको प्रयोगभन्दा अन्तरराष्ट्रिय कानुन, प्रभुत्वभन्दा सार्वभौमसत्ता, संवाद र छलफललाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । शान्ति शक्तिशाली राष्ट्रको मात्र विशेषाधिकार नभई सबै राष्ट्रको मौलिक अधिकार भएको उहाँको भनाइ थियो ।
समकालीन पुँजीवादी व्यवस्थाले सम्पत्ति र अवसरमा असमानता बढाएको उल्लेख गर्दै ज्ञवालीले श्रमिक अधिकार, सामाजिक सुरक्षा, सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा र किफायती आवास सुनिश्चित गर्नुपर्ने बताउनुभयो । कृत्रिम बौद्धिकता (एआई) तथा डिजिटल प्रविधिको विकास मानवकल्याण र लोकतान्त्रिक नियन्त्रणमा उपयोग हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
समाजवादलाई शोषण र असमानताविरुद्धको आवश्यक ऐतिहासिक विकल्पका रूपमा व्याख्या गर्दै उहाँले माक्र्सवादी सिद्धान्तलाई प्रत्येक देशको विशिष्ट इतिहास र सामाजिक परिस्थितिअनुसार सिर्जनात्मक रूपमा प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपालको राजनीतिक अनुभव प्रस्तुत गर्दै उहाँले एमालेले माक्र्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा लोकतन्त्र, सामाजिक न्याय, समावेशीकरण र राष्ट्रिय स्वाधीनताका पक्षमा काम गर्दै आएको बताउनुभयो ।
उहाँले नेपालको परराष्ट्र नीति सार्वभौम समानता, अहस्तक्षेप, असंलग्नता र पारस्परिक लाभका सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै अन्तरराष्ट्रिय वामपन्थी शक्तिबीच शान्ति, समानता र न्यायका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले एकेनको शतवार्षिकीका अवसरमा शुभकामना व्यक्त गर्दै पार्टीको आगामी यात्रा सफलताको कामना गर्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया