कार्तिक २३, २०८३ सोमबार November 9, 2026

पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा

वित्तीय अनियमितता र शङ्कास्पद ऋणका विषयमा जानकारी हुँदाहुँदै पनि समस्या लुकाएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । पाराग्वेको बैंकिङ सङ्कट र आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पूर्वराष्ट्रपति सान्टियागो पेनाको घरमा छापा मारेको छ । युएनो बैंकको पतनसँग जोडिएको यस प्रकरणमा पदबाट हटाइएका पेनाविरुद्ध आपराधिक अभियोगसमेत लगाइएको छ ।

अधिकारीहरूले गत साता पाराग्वेको लोकप्रिय अनलाइन ऋणदाता युएनो बैंक नियन्त्रणमा लिएका थिए । उक्त बैंकमा देशका करिब ६५ लाख जनसङ्ख्यामध्ये झन्डै आधाको खाता रहेको थियो भने सरकारी निकायको ८० करोड अमेरिकी डलरभन्दा बढी रकमसमेत जम्मा थियो । बैंकको पतनपछि देशभर विरोध प्रदर्शन भएको थियो ।

सन् २०२३ मा राष्ट्रपति बन्नुभएका पेनाले गत वर्षसम्म बैंकको होल्डिङ कम्पनी युएनो होल्डिङमा सेयर स्वामित्व राख्नुभएको थियो । उहाँमाथि राष्ट्रपतीय प्रभाव प्रयोग गरी बैंकमा सरकारी निक्षेप जम्मा गराएको तथा वित्तीय अनियमितता र शङ्कास्पद ऋणका विषयमा जानकारी हुँदाहुँदै पनि समस्या लुकाएको आरोप छ ।

अभियोजकहरूका अनुसार सरकारी निकायबाट निक्षेप सङ्कलन गरिरहेको युएनो बैंकले बैंकका उच्च अधिकारीसँग सम्बन्धित कम्पनीहरूलाई शङ्कास्पद ऋणसमेत प्रवाह गरेको थियो । यही प्रकरणको अनुसन्धानका क्रममा असुनसियोनबाहिर रहेको पेनाको निवासमा छापा मारिएको हो ।

अभियोगपत्रमा सन् २०२४ मा घर निर्माणका लागि पेनाले युएनो बैंकबाट दुईपटक गरी पाँच लाख अमेरिकी डलर ऋण लिनुभएको उल्लेख छ । उहाँको मासिक घरकर्जा किस्ता ३८ हजार अमेरिकी डलर रहेको र यो राष्ट्रपतिका रूपमा प्राप्त गर्ने मासिक तलबको छ गुणा भएको अभियोगपत्रमा जनाइएको छ ।

सिनेटले गत शुक्रबार पेनालाई पदबाट हटाउने निर्णय गरेपछि उपराष्ट्रपति पेद्रो एलियानाले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले आइतबार बैंक धराशायी भएपछि निक्षेप रोकिएका १२ लाख ग्राहकको रकम सरकारले फिर्ता गरेको जानकारी दिनुभयो ।

हालसम्म करिब १५ करोड ८० लाख अमेरिकी डलर फिर्ता गरिएको र बाँकी रकम वितरणको काम यसै साता पनि जारी रहने एलियानाले बताउनुभएको छ ।(रासस/एएफपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार
पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा
२०८३ कार्तिक २३, सोमबार
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
२०८३ कार्तिक २३, सोमबार
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
२०८३ कार्तिक २३, सोमबार
उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट
२०८३ कार्तिक २३, सोमबार
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल
२०८३ कार्तिक २३, सोमबार
नेपाली मौलिक संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ, संरक्षणमा जुटौँ : केपी ओली
२०८३ कार्तिक २३, सोमबार