काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा छठ पर्व मनाउन घर जाँदै गरेका एकै गाउँका १० जनाको ज्यान गुम्ने र ६ जना घाइते हुने गरी घटेको यस घटनाले आफूलाई अत्यन्तै मर्माहत बनाएको उनले बताएका छन्।
घिसिङले दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। हरेक वर्ष चाडपर्वका समयमा सडक दुर्घटनाहरू बढ्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै उनले सवारीसाधनमा सुरक्षा मापदण्डहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।
विशेषगरी विद्युतीय सवारीसाधनको विशिष्ट प्राविधिक पक्षलाई मध्यनजर गर्दै चालकहरूलाई आवश्यक तालिम र विशेष सचेतना प्रदान गर्नु उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
‘चाडपर्वको खुसी मनाउन घर फर्किने यात्राको अन्त्य शोकमा हुन नदिन सरकार, यातायात व्यवसायी र यात्रु सबै जिम्मेवार बनौँ,’ घिसिङले आह्वान गर्दै भनेका छन्, ‘सडक सुरक्षा र नागरिकको जीवनरक्षालाई हामी सबैले सर्वोच्च प्राथमिकता दिनुपर्दछ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया