काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन लक्षित संगठनात्मक गतिविधिलाई अघि बढाउँदै हालसम्म ४३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । थप ६ जिल्लामा अधिवेशन प्रक्रिया सुरु भइसकेको छ ।
केन्द्रीय निर्वाचन समिति संयोजक एवं वरिष्ठ अधिवक्ता एगराज पोखरेलका अनुसार देशभरका ४३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ भने ६ जिल्लामा अधिवेशन उद्घाटनसहित प्रक्रिया अघि बढाइएको छ । त्यस्तै, १३४ वटा निर्वाचन क्षेत्रमा समेत अधिवेशन सम्पन्न भइसकेको उनले जानकारी दिए ।
जिल्ला र निर्वाचन क्षेत्रको अधिवेशन प्रक्रिया अघि बढिरहँदा मंसिर ४ गतेका लागि निर्धारित प्रदेश अधिवेशन भने केही दिन पछाडि सर्ने भएको छ । उक्त दिन हरिबोधिनी एकादशी परेकाले प्रदेशहरूलाई आफ्नो अनुकूलता हेरेर अधिवेशनको मिति तय गर्न भनिएको पोखरेलले बताए ।
प्रदेश अधिवेशनको मिति परिवर्तन हुने भएपछि महाधिवेशनको तयारीमा रहेका प्रदेशस्तरीय गतिविधि पनि सोहीअनुसार अघि बढ्ने देखिएको छ । यद्यपि, प्रदेश अधिवेशनको नयाँ मिति भने सार्वजनिक भइसकेको छैन ।
देउवा पक्षले कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा आयोजना गर्ने घोषणा गरेको छ । सोही समयतालिकालाई आधार बनाएर जिल्ला तथा निर्वाचन क्षेत्रका अधिवेशनहरू सम्पन्न गर्ने क्रम जारी रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया