काठमाडाैं, २८ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया आगामी मंसिर ४ गतेदेखि १० गतेसम्म सञ्चालन हुने भएको छ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय महाधिवेशनमा विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन प्रतिनिधिका रूपमा सहभागी हुनेछन् भने अन्य प्रतिनिधिहरू सक्रिय सदस्यहरूबाट छनोट गरिनेछन्। विभिन्न तहका अधिवेशनहरू सम्पन्न भइसकेपछि अब सक्रिय सदस्यहरूबाट प्रतिनिधि छनोटको प्रक्रियालाई अगाडि बढाइएको पार्टीले जनाएको छ।
गाउँपालिका, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि भइसकेका छन्। प्रदेशसभा निर्वाचन क्षेत्रबाट छनोट: प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रका सक्रिय सदस्यहरूबाट जम्मा ९ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ। जसमध्ये महिला: ३ जना, उत्पीडित: १ जना, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व हुने गरी: २ जना र र अन्य निर्धारित मापदण्डअनुसारका प्रतिनिधिहरू चयन हुनेछन् ।
साथै, सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिहरूमा ४० वर्षमुनिका युवाहरूको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने नियम बनाइएको छ।
हिमाल, पहाड र तराईमा प्रतिशतका आधारमा विधान तथा निर्देशिकाबमोजिम निर्धारित संख्या र मापदण्ड पूरा गरेका सक्रिय सदस्यहरूबाट मंसिर ४ देखि १० गतेभित्र प्रतिनिधि छनोट गरिनेछ।
राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते राजधानी काठमाडौँमा हुँदैछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया