कार्तिक २९, २०८३ आइतबार November 15, 2026

राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान

छठ घाटमा बस्न नसक्ने व्रतालु भने आज बेलुकीको कर्म सकेर सोमबार बिहानै घाटमा पुगी व्रत समापन गर्ने परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिको गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधनासहित अर्घ दान गर्नुभएको छ ।

प्रथम महिला सविता पौडेलसहित छठ पूजा स्थल पुग्नुभएका राष्ट्रपति पौडेलले छठी माताको प्रतिमामा पूजा आराधना गरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गर्नुभएको थियो । 

राष्ट्रपति पौडेलले उद्घाटन गर्नुभएसँगै गुह्येश्वरी गौरीघाट क्षेत्रमा निर्माण गरिएका ६०० भन्दाबढी छठ घाट अर्थात् पूजा स्थलमा जम्मा भएका व्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अर्घ दिएर छठ पर्व मनाउँदै छन् ।

राष्ट्रपति पौडेललाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित सांसद पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं सदस्यहरु तथा छठ पूजा समिति तथा गुह्येश्वरीका पदाधिकारी एवं सदस्यहरुले स्वागत गर्नुभएको थियो ।

चार दिने छठ पर्वको मुख्य एवं तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ दान गरेका व्रतालु रातभर छठ घाटमै जाग्राम बस्छन् । कार्तिक शुक्ल सप्तमीका दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दान गरेपछि छठ पर्व समाप्त हुन्छ । छठ घाटमा बस्न नसक्ने व्रतालु भने आज बेलुकीको कर्म सकेर सोमबार बिहानै घाटमा पुगी व्रत समापन गर्छन् ।

छठ पर्वमा सहभागी हुने क्रममा पशुपति क्षेत्रमा हजारौँ भक्तजनको उपस्थिति रहेको छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले राससलाई जानकारी दिनुभयो ।  

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ पर्व मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको सूर्य पुराणमा उल्लेख छ । 

पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा व्रत बस्न नसक्ने व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका र व्रत गर्न इच्छुकलाई गुह्येश्वरीमा आई निःशुल्क रुपमा व्रत बस्न सक्ने व्यवस्था गरिएको पनि अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार