काठमाडौँ, कात्तिक ३० गते । सामान्य रुघाखोकी, घाँटी दुख्ने र ज्वरो आउनेबित्तिकै चिकित्सकको परामर्शबिना एन्टिबायोटिक सेवन गर्ने प्रवृत्तिले औषधी प्रतिरोधको जोखिम बढाएको छ । आवश्यकताबिना एन्टिबायोटिक प्रयोग गर्ने र औषधीको पूरा मात्रा सेवन नगर्ने बानीले सामान्य सङ्क्रमणको उपचारसमेत भविष्यमा चुनौतीपूर्ण बन्न सक्ने चिकित्सकले बताएका छन् ।
हेटौँडाकी अनिता सुवेदीलाई सामान्य खोकी लाग्दा पनि एन्टिबायोटिक सेवन नगरी चित्त बुझ्दैन । केही समयअघि उहाँले पाँच दिनका लागि भन्दै खोकीको औषधीसँगै एन्टिबायोटिक खरिद गरेर सेवन गर्नुभयो । केही दिनमै खोकी निको भएपछि घरेलु उपचारभन्दा औषधीले छिटो काम गर्ने उहाँको विश्वास छ ।
“घरमा अदुवा, जिरा र बेसार मिसाएर बनाएको पानीले खोकी निको हुँदैन । त्यसैले खोकी लाग्नासाथ फार्मेसीमा गएर औषधी किनिहाल्छु,” अनिताले भन्नुभयो । सामान्य खोकी लाग्ने, फार्मेसीबाट औषधी किनेर खाने र निको भएपछि केही समयमै समस्या दोहोरिने उहाँको क्रम चलिरहेको छ । सुवेदीको यो अनुभव सामान्य लागे पनि चिकित्सकको परामर्शबिना एन्टिबायोटिक सेवन गर्ने प्रवृत्तिले नेपालमा औषधी प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) को जोखिम बढाइरहेको छ । सामान्य रुघाखोकी तथा भाइरल सङ्क्रमणमा एन्टिबायोटिकले काम नगर्ने भए पनि यसको जथाभाबी प्रयोगले भविष्यमा औषधीको प्रभावकारिता घटाउन सक्ने जोखिम बढाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२२ मा सातै प्रदेशलाई समेटेर गरेको अध्ययनमा ४३.४ प्रतिशत औषधी वितरकले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक बिक्री गर्ने गरेको पाइएको थियो । त्यस्तै
बहिरङ्ग सेवामा आएका करिब एक तिहाइ बिरामीले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक खरिद गरेको र एक चौथाइले चिकित्सकले तोकेको पूरा मात्रा सेवन नगरेको अध्ययनले देखाएको छ । नेपालका आठ जिल्लाका ७९ प्रतिशत उत्तरदाताले चिकित्सकको सिफारिसबिना औषधी पसलबाट एन्टिबायोटिक खरिद गरेको पाइएको थियो । यसले एन्टिबायोटिकको प्रयोगबारे जनचेतना र औषधी बिक्रीको नियमन दुवै कमजोर रहेको देखाएको छ ।
औषधी प्रतिरोधसम्बन्धी विशेषज्ञ डा. सन्तोष दुलालले एन्टिबायोटिकको जथाभाबी प्रयोगले जीवाणुमा औषधी प्रतिरोध गर्ने क्षमता विकास हुने बताउनुभयो । उहाँले सामान्य सङ्क्रमणमा प्रयोग हुँदै आएका औषधीले काम नगर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै विश्व स्वास्थ्य सङ्गठनले औषधी प्रतिरोधलाई विश्वव्यापी जनस्वास्थ्य चुनौतीका रूपमा लिएको जानकारी दिनुभयो । उहाँले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्ने, औषधीको मात्रा आफैँ घटाउने वा सुधार भएको भन्दै बिचमै छाड्ने प्रवृत्ति रोक्नुपर्ने बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनले सन् २०२३ सेप्टेम्बरमा सिफारिस नगरेका १०३ प्रकारका एन्टिबायोटिक औषधीको दर्ता, नवीकरण, आयात तथा उत्पादनमा औषधी व्यवस्था विभागले प्रतिबन्ध लगाएको थियो । विभागका महानिर्देशक भरत भट्टराईले विभागले मेरोपेनेम, पोलिमिक्सिन बी, पाइपेरासिलिन प्लस टाजोब्याक्टम, भ्यान्कोमाइसिन, कोलिस्टिन र लाइनजोलिड गरी छ वटा एन्टिबायोटिक औषधी अस्पतालबाहेकका औषधी पसलबाट बिक्री गर्न रोक लगाएको जानकारी दिनुभयो । गम्भीर सङ्क्रमणको उपचारमा प्रयोग हुने यी औषधीको अनावश्यक प्रयोग नियन्त्रण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उहाँको भनाइ छ ।
विभागले सन् २०२५ मा एन्टिमाइक्रोबियल औषधी खपत निगरानी कार्यविधि जारी गरेको थियो । यसले औषधी उत्पादक तथा आयातकर्ताबाट खपतको विवरण सङ्कलन र विश्लेषण गरी राष्ट्रिय तथ्याङ्क तयार गर्ने व्यवस्था गरेको छ । सरकारले सन् २०२३ मा राष्ट्रिय एन्टिमाइक्रोबियल उपचार निर्देशिका जारी गरी स्वास्थ्यकर्मीलाई सङ्क्रमणको प्रकृति अनुसार सही औषधी, मात्रा र अवधि निर्धारण गर्न मार्गदर्शन गरेको छ ।
त्यस्तै सन् २०२४–२०२८ का लागि राष्ट्रिय एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रण कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ । यसले मानिस, पशुपन्छी, कृषि तथा वातावरण क्षेत्रमा औषधीको विवेकपूर्ण प्रयोगलाई प्राथमिकता दिएको छ । गोरखापत्रबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया