मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

आइजिपी पुनर्बहालीको माग गर्दै कार्कीको रिट, न्यायाधीश पौडेलको इजलासमा सुनुवाइ हुँदै

आइजिपी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कार्कीको रिट आज पेसीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

रिट निवेदनको सुनुवाइका लागि न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ। कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसको सुनुवाइका लागि सोमबार पेसी तोकिए पनि छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएपछि सुनुवाइ हुन सकेको थिएन।

तिहार र छठ पर्वको बिदापछि सरकारी कार्यालय सञ्चालनमा आएसँगै सर्वोच्चले बुधबारका लागि पेसी तोकेको हो। कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो।

सरकारले उनको स्थानमा मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। तर, कार्कीले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको नियुक्ति नलिई सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।

उनले आफूलाई आइजिपी पदबाट हटाउने निर्णय संविधान, कानुन र सर्वोच्च अदालतका नजिरविपरीत रहेको दाबी गरेका छन्। कुनै कानुनी आधार र निर्धारित कार्यविधिबिना स्पष्टीकरण सोध्ने वा आफ्नो कुरा राख्ने अवसरसमेत नदिई आफूलाई कमान्ड र जिम्मेवारीबाट अलग गरिएको कार्कीको रिटमा उल्लेख छ। उनले आफूलाई आइजिपी पदमा पुनर्बहाली गर्न माग गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया