मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै

आणविक हतियार नियन्त्रण तथा युक्रेन र इरानमा जारी युद्ध अन्त्य गर्ने विषयमा छलफल हुने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सेन्जेन (चीन), ३ मङ्सिर :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ । आणविक हतियार नियन्त्रण तथा युक्रेन र इरानमा जारी युद्ध अन्त्य गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको यस भेटबाट ठोस उपलब्धि हासिल हुने सम्भावना भने कम रहेको विज्ञहरूले बताएका छन् ।

आफूलाई कुशल वार्ताकारका रूपमा प्रस्तुत गर्दै आउनुभएका ट्रम्पले चीन र रुसका नेतासँगको भेटलाई आणविक हतियार नियन्त्रणका नयाँ नियम निर्माण गर्ने तथा दुई युद्ध समाधान गर्ने अवसरका रूपमा लिनुभएको छ । त्रिपक्षीय बैठकअघि उहाँले सी र पुटिनसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । गत वर्ष अलास्कामा भएको वार्ता असफल भएपछि ट्रम्प र पुटिनबीच पहिलोपटक भेट हुन लागेको हो ।

अमेरिका र युक्रेनबीचको सम्बन्ध तनावपूर्ण बन्दै गए पनि ट्रम्पले पुटिनसँगको आफ्नो व्यक्तिगत सम्बन्धको प्रशंसा गर्दै आउनुभएको छ । यसैबीच, युक्रेनले रुसी ड्रोन आक्रमणविरुद्ध प्रयोग गर्दै आएको अमेरिकी सैन्य उपग्रह प्रणाली स्टारसिल्डको सेवा स्पेसएक्सले बेलाबेलामा सीमित गरेको छ । कम्पनीका प्रमुख एलन मस्क पनि एसिया भ्रमणमा सहभागी हुनुहुन्छ ।

अमेरिका र रुसबीचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ गत फेब्रुअरीमा समाप्त भएको थियो । ट्रम्पले चीनलाई समेत समेटेर नयाँ तथा आधुनिक सन्धि गर्न चाहनुभएको छ । तर चीनसँग ६०० भन्दा बढी आणविक वारहेड रहेको अनुमान छ भने अमेरिका र रुससँग पाँच–पाँच हजारभन्दा बढी छन् । यस्तो अवस्थामा चीनले हतियारको सीमा स्वीकार गर्न कम चासो देखाएको विज्ञहरूको भनाइ छ ।

आम्र्स कन्ट्रोल एसोसिएसनका कार्यकारी निर्देशक डेरिल किमबलले त्रिपक्षीय भेटले आणविक हतियार कटौतीका लागि निरन्तर वार्ताको प्रक्रिया सुरु गर्न सक्ने बताउनुभएको छ । उहाँले एउटै बैठकबाट नाटकीय उपलब्धिको अपेक्षा गर्न नसकिने स्पष्ट पार्नुभएको छ ।

रुसी राष्ट्रपति कार्यालयका सल्लाहकार युरी उसाकोभले त्रिपक्षीय वार्तामा युक्रेन युद्धबारे छलफल हुने सम्भावना रहेको बताउनुभएको छ । ट्रम्पले इरानको द्वन्द्व पनि वार्ताको विषय बनाउन चाहनुभएको छ । तर युक्रेन र उसका युरोपेली सहयोगीहरूले त्रिपक्षीय वार्ताले आफूहरूलाई निर्णय प्रक्रियाबाट बाहिर राख्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । जर्मन चान्सलर फ्रेडरिक मेर्जले गत वर्षको अलास्का बैठकजस्तै अवस्था दोहोरिन सक्ने आशङ्का व्यक्त गर्नुभएको छ ।

सी र पुटिनबीचको सम्बन्ध भने थप घनिष्ठ देखिएको छ । बुधबार एपेक सम्मेलनमा सीले पुटिनलाई ‘पुरानो मित्र’ र पुटिनले सीलाई ‘प्रिय मित्र’ भन्नुभएको थियो । सन् २०२२ मा युक्रेनमाथि रुसको आक्रमणपछि चीनले रुसलाई आर्थिक सहयोग गर्दै आएको छ । सीले चीन–रुस सम्बन्धले विश्वमा स्थिरता र निश्चितता प्रदान गरेको बताउनुभएको छ ।

ट्रम्पले सीसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो रहेको बताउँदै आउनुभएको छ । यस वर्ष दुवै नेताबीच चारपटक भेट हुने कार्यक्रम छ । उहाँले भेनेजुएला र इरानविरुद्ध सैन्य कारबाही गरे पनि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने आकांक्षा व्यक्त गर्दै आउनुभएको छ ।

यसैबीच, अमेरिका र चीनबीच कृत्रिम बौद्धिकता (एआई), उन्नत कम्प्युटर चिप्स र व्यापारमा प्रतिस्पर्धा बढिरहेको छ । चीनले विश्वसँग ठूलो व्यापार बचत कायम राखेको छ भने अमेरिकासँगको व्यापार असन्तुलन पनि प्रमुख विवादका रूपमा रहेको छ ।

एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले गत साता पदबाट राजीनामा दिएको तथा एलिस हुआङसँगको विवाहबाह्य सम्बन्ध स्वीकार गरेको समाचारले पनि चिप्ससम्बन्धी विवादलाई चर्चामा ल्याएको छ । एलिस हुआङको कम्पनीले चीनलाई एनभिडियाका उन्नत चिप्समा पहुँच पुर्‍याउन सहयोग गरेको बताइएको छ । उहाँ चिनियाँ सरकारकी एजेन्ट भएको आरोप भने बेइजिङले अस्वीकार गरेको छ । चीनसँगको सम्बन्ध बिग्रन नदिन ट्रम्पले उन्नत चिप्समा उसको पहुँच रोक्ने कडा प्रतिबन्ध लगाउन हिचकिचाउनुभएको छ ।

एपेक सम्मेलनअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रियरले चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग भेट गर्नुभएको थियो । अमेरिकी अधिकारीहरूले चीनले अमेरिकी कृषि उत्पादन खरिद बढाउने र इलेक्ट्रोनिक्सका लागि आवश्यक दुर्लभ पृथ्वीका खनिजको निर्यात प्रतिबन्ध खुकुलो पार्ने प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन नगरेको बताएका छन् ।

गत वर्ष अमेरिका र चीनबीच भएको व्यापार युद्धविराम आगामी जनवरी १० सम्म कायम रहने व्यवस्था छ । अर्कोतर्फ, ट्रम्प प्रशासनले युक्रेन युद्ध अन्त्य गर्न रुसमाथिका व्यापारिक प्रतिबन्ध हटाउने सम्भावनालाई पनि प्रोत्साहनको माध्यमका रूपमा अघि सारेको छ । यसैबीच, अमेरिकी आक्रमण जारी रहेका बेला पनि चीन र रुसले व्यापारमार्फत इरानलाई सहयोग गर्दै आएका छन् । इरानसँगको द्वन्द्वले ऊर्जा मूल्य बढाउनुका साथै विश्वव्यापी आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पारेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार