मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

गुरु नानक जयन्तीमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना

गुरु नानक जयन्तीले सबैलाई सत्य, न्याय र मानव कल्याणको मार्गमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सिख धर्मावलम्बीको विशेष पर्व गुरु नानक जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सिख धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

गुरु नानक जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले सिख धर्मका प्रवर्तक गुरु नानकले समाजमा विद्यमान अन्धविश्वास, रूढिवादी परम्परा, जातीय विभेद र असमानता अन्त्य गर्दै समतामूलक, न्यायपूर्ण र सभ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको उल्लेख गर्नुभएको छ ।

गुरु नानकले दिनुभएको सत्य, करुणा, परोपकार, सहिष्णुता र मानवसेवाको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी रहेको राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलले गुरु नानक जयन्तीले सबैलाई सत्य, न्याय र मानव कल्याणको मार्गमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

यसै गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले गुरु नानक जयन्ती (प्रकाश पर्व), २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बी तथा सबै नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । “मानव इतिहासमा गुरु नानक देव धार्मिक अगुवा मात्र नभई सामाजिक चेतना, नैतिक जागरण र मानवीय एकताको अग्रदूतका रूपमा सम्मानित हुनुहुन्छ,” उपराष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ,  “उहाँले मानवतालाई केन्द्रमा राख्दै विविधताबिच एकता, परस्पर सम्मान, सत्यनिष्ठा, करुणा र सेवाभावको जीवनदर्शन अवलम्बन गर्न प्रेरणा दिनुभयो । उहाँका विचारहरूले मानव मर्यादा, सहिष्णुता र सहयोगका मूल्यहरूलाई सुदृढ बनाउँदै समतामूलक, सौहार्दपूर्ण र सहअस्तित्वमा आधारित समाज निर्माणको प्रेरणा प्रदान गर्दछन् ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया