पाँचथर । हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास नै हुनसकेको छैन । डाइभर्सन नहुँदा दुई र तीनपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधन यस खण्डमा सञ्चालनमा आउन सकेका छैनन् ।
खोलामा पानीको बहाव घटेसँगै तमोर करिडोर सडकको फिदिम–मुलघाट खण्ड नियमित सञ्चालनमा आइसकेको छ । तर फिदिम–काबेली खण्डमा भने डाइभर्सन नहुँदा ठूला सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । हिउँद लागे पनि फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमास्थित हेंवाखोलामा पानीको बहाव मनग्य हुने हुँदा दुई र तीनपाङ्ग्रे सवारी र साना चारपाङ्ग्रे सवारीसाधन पार गर्न सक्ने अवस्था नरहेको हिलिहाङ–७ माझीटारका बासिन्दा रामकुमार माझीले बताउनुभयो । उहाँका अनुसार तमोर करिडोरको यस खण्डको निर्माण गरिरहेको एपेक्स निर्माण कम्पनीले तिहारपछि विगतमा डाइभर्सन रहेको स्थानबाट ठूला सवारीसाधन पार गर्न सक्ने संरचना बनाएको छ ।
साना सवारी पार हुन नसक्दा तमोर करिडोर सडकले समेट्ने पाँचथरको हिलिहाङ गाउँपालिकाका बासिन्दा अत्यधिक प्रभावित भएका छन् । “डाइभर्सन नहुँदा सदरमुकाम आवतजावत गर्न दोब्बर बढी दूरी यात्रा गर्नुपर्ने बाध्यता छ । तमोर करिडोर सडक आयोजना र निर्माण कम्पनीले हेलचेक्र्याइँ गर्दा हामीले दुःख पाइरहेका छौँ”, हिलिहाङ गाउँपालिका–५ का वीरेन्द्र मङ्ग्रातीले भन्नुभयो, “यस विषयलाई सम्बन्धित निकायले गम्भीरताका साथ लिनुपर्छ ।”
फिदिम–४ माझीटारका व्यवसायी रमेश तामाङ निर्माण कम्पनी र सरकारी निकायले साह्रै सामान्य काम पनि नगरिदिँदा यात्रुले लामो र घुमाउरो बाटो हिँड्नुपरेको तथा माझीटार क्षेत्रको व्यापार व्यवसाय सञ्चालनमा आउन नसकेको बताउनुभयो । यस वर्ष गत चैतदेखि निरन्तर वर्षा भएकाले डाइभर्सन टिक्न सकेको छैन । जसकारण तमोर करिडोरको यस खण्डमा सवारीसाधन नियमित हुनसकेका छैनन् । “एकातिर घुमाउरो बाटो हिँड्नुपरेको छ, अर्कातिर माझीटार क्षेत्रको व्यापार व्यवसाय चौपट भएको छ”, तामाङले भन्नुभयो ।
विगतमा पनि यहाँ डाइभर्सन मर्मत र पुनर्निर्माणमार्फत नै यातायात सञ्चालन गर्ने गरिएको थियो । तर यस वर्ष यातायात अवरोध भएको आठ महिना बितिसकेको छ । डाइभर्सन निर्माणमा फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले समन्वय गरेर तत्कालै काम अगाडि बढाउनुपर्ने स्थानीयवासीको माग छ ।
निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पर्ने हेंवाखोलामा पुल निर्माण हुन बाँकी छ । यहाँ रहेको बेलिब्रिज तथा खोला किनाराको सडक २०८० साल असारमा आएको बाढीले बगाएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिएको थियो । विगतमा नियमित रूपमा डाइभर्सन मर्मत तथा पुनर्निर्माण हुँदै आएकामा यस वर्ष निर्माण कम्पनीले चासो नदिएको र पुल निर्माणकार्यमा समेत प्रगति नभएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया