चुस्तदुरुस्त संगठन : पार्टी संरचनालाई वैज्ञानिक र प्रभावकारी बनाउनु अर्को आवश्यकता हो । कुनै पनि राजनीतिक दलको निर्देशक सिद्धान्त मानिने राष्ट्रिय अखण्डता र एकता प्राप्त गर्न अख्तियार गरिने समग्र प्रक्रियागत स्वरूपलाई संगठन भनिन्छ, जसको एउटा अंग कांग्रेस हो । अनि कांग्रेसका अंगचाहिँ भ्रातृ र शुभेच्छुक संघसंगठन हुन् । मुलुकमा भएका सम्पूर्ण तह र तप्का, वर्ग र समुदायलाई परिचालन गर्ने क्षमता विकासका लागि संगठनको आवश्यकता पर्छ । नेतृत्वले भागबन्डाका आधारमा होइन, योग्य व्यक्तिलाई उपयुक्त ठाउँ दियो भने मात्र संगठन बलियो हुन्छ ।
कांग्रेसलाई सम्पूर्ण नेपालीको विश्वासयोग्य र भरोसायोग्य बनाउन क्षमतावान्, ऊर्जावान्, गतिशील र वैचारिक नेतृत्व चाहिन्छ ।
भरोसायोग्य सक्षम नेतृत्व : पार्टीलाई नीति र विधिमा आधारित बनाएर अगाडि बढाउन भरोसायोग्य सक्षम नेतृत्वको आवश्यकता छ । विधिको ब्याडमा नीतिको बिरुवा उम्रिनुपर्छ । भागबन्डाकै आधारमा पार्टी सञ्चालन गर्दा असहमतिका स्वरहरू सतहमै पोखिएका छन् जसले गर्दा पार्टीभित्र वैमनस्य मौलाएको छ । पार्टीका होनहार र पुराना नेता–कार्यकर्ता ओझल पारिएका छन् । विधि र नीतिको अन्तरलाई मापन गर्न नेतृत्वमा ज्ञान, विवेक र दूरदर्शी सोचको आवश्यकता पर्छ । कांग्रेसलाई सम्पूर्ण नेपालीको विश्वासयोग्य र भरोसायोग्य बनाउन क्षमतावान्, ऊर्जावान्, गतिशील र वैचारिक नेतृत्व चाहिन्छ ।
निरन्तर प्रशिक्षण : पार्टीभित्र प्रशिक्षण, लेखपढ, छलफल, रचनात्मक बहसलाई प्राथमिकता दिइरहनुपर्छ । प्रशिक्षणले नै कार्यकर्तालाई कुशल वक्ता, बहसशिल्पी र प्रतिपक्षको भूमिका सक्षमतापूर्वक निर्वाह गर्न सक्ने बनाउँछ । सही प्रशिक्षण हुन नसक्दा कार्यकर्ताको क्षमता विकास हुन पाएको छैन ।
प्रभावकारी सञ्चार : पार्टीलाई युगानुकूल परिवर्तन गर्न प्रभावकारी सञ्चारको आवश्यकता पर्छ । पार्टीको आन्तरिक र बाह्य जीवनमा सञ्चारको महत्त्वपूर्ण भूमिका हुन्छ । सञ्चारको प्रभावकारी व्यवस्थापन हुन नसक्दा पार्टीका धारणाहरू एवं शीर्ष नेतृत्वका अभिव्यक्तिहरू बेलाबखत विवादमा पर्ने गर्छन् ।
तटस्थ मतदाताकेन्द्रित कार्यक्रम : हरेक राजनीतिक दलमा दुई प्रकारका मतदाता हुन्छन्– पार्टीलाई सधैं मत दिइरहने अर्थात् वफादार र पार्टीको नीति हेरेर मात्र आकर्षित हुने अर्थात् तटस्थ । कांग्रेसले युवा, महिला, जनजाति, मधेसी, दलित, विभिन्न पेसा–वर्गका जनसमुदायलाई आकर्षित गर्न प्रभावकारी कार्यक्रम गरिरहनुपर्छ ।
मूल्याङ्कन र न्यायोचित व्यवस्थापन : गुट–उपगुटको अन्त्य गर्दै पार्टीलाई विधिवत् सामूहिक नेतृत्वका आधारमा अगाडि बढाउनुपर्छ । पार्टीमा प्रत्येक कार्यकर्ताको योगदानको उचित मूल्याङ्कन गर्दै केन्द्रदेखि वडासम्मका सबै संरचनामा उनीहरूको न्यायोचित व्यवस्थापन हुनुपर्छ । निर्वाचनमा टिकट दिँदा, पार्टीभित्रको संगठनको जिम्मेवारी दिँदा एवं अन्य ठाउँमा राजनीतिक नियुक्ति दिँदा मूल्याङ्कन पद्धति अपनाउनुपर्छ ।
सीमान्तीकृत वर्गसँग निकटता : आर्थिक, सामाजिक, लैंगिक, शैक्षिक हिसाबले पछाडि पारिएका र राज्यको मूल प्रवाहमा आउन नसकेका सीमान्तकृत, अपाङ्ग र गरिब जनतासँग निकट सम्बन्ध हुन जरुरी छ । व्यापारी, पुँजीपति र दलालसँग साँठगाँठ भयो भन्ने आरोपबाट कांग्रेस मुक्त हुनुपर्छ ।
चुस्त व्यवस्थापन : अहिलेको युग व्यवस्थापनको युग हो तर कांग्रेसमा व्यवस्थापकीय कमजोरी छ । पार्टीको नियमित कार्य सञ्चालन गर्न, निरन्तर ढंगले गतिविधि सञ्चालन गर्न चुस्त व्यवस्थापन चाहिन्छ ।
राम्रो कामको प्रचार : नेपाली कांग्रेस लामो समय सत्तामा रहेको पार्टी हो । यो मुलुकमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, आर्थिक–सामाजिक संरचनाको विकास कांग्रेस सरकारकै पालामा भएको हो । तर त्यसको समयोचित प्रचार–प्रसार हुन सकेको छैन । सरकारमा रहेका बेला आफूले गरेका राम्रा कामको प्रचार नगर्ने, सधैं नकारात्मक टीकाटिप्पणी गर्ने, पार्टी अनुशासनविरुद्ध काम गर्नेलाई कारबाही नगर्ने शैलीलाई तिलाञ्जली दिनुपर्छ ।
भ्रातृ र शुभेच्छुक संस्थाको परिचालन : भ्रातृ र शुभेच्छुक संस्था नेपाली कांग्रेसको मेरुदण्ड र संगठनका आधारशिला हुन् । यिनीहरूको क्रियाशीलता, सशक्तता र मजबुतीबिना पार्टी मजबुत हुन सक्दैन । यिनलाई चलायनमान बनाउन विशेष कार्यनीति ल्याउनुपर्छ, विधानअनुसार क्रियाकलाप गर्न र समयमै अधिवेशन गर्न निर्देशन दिनुपर्छ । कान्तिपुर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया