बाजुरा, १३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेर सुदूरपश्चिम प्रदेशको गौरव बढाउन सफल सुदूरपश्चिम रोयल्स क्रिकेट टोलीलाई बाजुरामा भव्य स्वागत तथा सम्मान गरिएको छ।
ऐतिहासिक जितपछि उपाधिको ट्रफीसहित सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको भ्रमणमा निस्किएको टोली शनिबार अछामको वैद्यनाथधाम हुँदै बाजुरा सदरमुकाम मार्तडी पुगेको हो।
नेपालकै प्रसिद्ध धार्मिकस्थल बडीमालिका माताको पावन चरणमा ट्रफी पुर्याएपछि टोलीलाई मार्तडीमा भव्य स्वागत गरिएको थियो। बडीमालिका नगरपालिकाले विशेष सम्मानसहित मायाको चिनो प्रदान गरी टोलीको स्वागत गरेको नगरप्रमुख अमर खड्काले जानकारी दिए।
उनका अनुसार प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल सुदूरपश्चिम रोयल्स प्रदेशकै गौरव बनेको छ। टोलीको ऐतिहासिक सफलताले सुदूरपश्चिम प्रदेशसँगै समग्र नेपाली क्रिकेटको शिर उच्च बनाएको उनले बताए।
सुदूरपश्चिम रोयल्सको सफलता खेलकुदको जितमा मात्र सीमित नभई प्रदेशको पहिचान, गौरव र सम्भावनालाई राष्ट्रियस्तरमा स्थापित गर्ने महत्वपूर्ण उपलब्धि भएको नगरप्रमुख खड्काको भनाइ छ।
ट्रफी टूरले बाजुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय युवा खेलाडीलाई खेलकुद क्षेत्रमा अघि बढ्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम रोयल्सले मंसिर १३ देखि २० गतेसम्म सञ्चालन गर्ने ट्रफी टूरअन्तर्गत प्रदेशका नौवटै जिल्लामा ट्रफी प्रदर्शन तथा र्याली आयोजना गर्ने जनाएको छ।
शनिबार बिहान अछामको वैद्यनाथधाममा पूजाआराधना तथा स्वस्तिवाचनपछि ट्रफी यात्राको औपचारिक शुभारम्भ गरिएको थियो। निर्धारित कार्यक्रमअनुसार मंसिर १४ गते डोटी र डडेल्धुरा, १५ गते बैतडी, १६ गते दार्चुला र १७ गते बझाङमा ट्रफी पुर्याइनेछ। मंसिर १८ गते डडेल्धुराको परशुराम धाममा ट्रफी प्रदर्शन गरिनेछ।
त्यसैगरी, मंसिर १९ गते कैलाली र कञ्चनपुरमा ट्रफी यात्रा आयोजना हुनेछ भने मंसिर २० गते धनगढीमा र्याली तथा सांगीतिक कार्यक्रमसहित ट्रफी टूरको समापन गरिने रोयल्सले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया