असार २४, २०८२ मंगलबार July 8, 2025

नेकपा : तीन भ्रम, एक सत्य – केशव दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेकपा अन्त्यहीन आरोप–प्रत्यारोपमा फसेको छ । यद्यपि यो अनपेक्षित थिएन । पछिल्लोपटक अध्यक्षहरूले प्रस्तुत गरेका १९ र ३८ पृष्ठका आरोपपत्रहरू हेर्दा लाग्छ, उनीहरूबीच सम्बन्धको मैलो कटकटिइसकेको छ, जो सजिलै पखालिँदैन ।

वस्तुतः यी आरोपहरूले नेकपाको दुर्भाग्यलाई मात्र उजागर गर्दैनन्, यिनले नेतृत्वको औकात, चिन्ता र चासोलाई समेत छरपस्ट पार्छन्, जसको निष्कर्ष हुन्छ– नेकपा पार्टी हैन, अनेक स्वार्थहरूको गठबन्धन हो, जसले जनतालाई वैचारिक भ्रम, राजनीतिक धोका र शासकीय अहंकारको उपहार मात्र दिएको छैन, लोकतान्त्रिक परिवर्तनको गरिमालाई समेत मूल्यहीन बनाएको छ । यही निष्कर्षसाथ नेकपाले उत्पादन गरेका तीनवटा वैचारिक/राजनीतिक भ्रम र एउटा सत्यमाथि यो लेखमा चर्चा गरिन्छ ।

भ्रम : एक

नेकपाले नेपाली जनतालाई दिएको सबैभन्दा ठूलो भ्रम विचारको भ्रम हो । नामको भ्रम हो । राजनीतिको भ्रम हो । यी सबै भ्रमलाई जोडेर हेर्दा लाग्छ– योजति विचारहीन, ढुलमुले र अवसरवादी पार्टी अर्को छैन । कसरी यस्तो भयो ? यो रोचक प्रसंग हुन सक्छ, जसलाई बुझ्न पूर्वएमाले र पूर्वमाओवादीका वैचारिक/राजनीतिक संकथनहरूको स्मरण गरौं । कुनै बेला एमाले लेनिनवादी थियो, माओवादी कट्टर माओवादी भैहाल्यो । शास्त्रमा लेनिनवाद र माओवादबीच के फरक छ ? वाम विश्लेषकहरू भन्छन्- लेनिनवादी हुनु र माओवादी हुनुमा तिलको हैन, पहाडको फरक हुन्छ । यी दुई धारबीच समयको भेद त छ नै, आन्दोलन, शैली र संस्कृतिको समेत भेद छ । मूलतः लेनिनवाद सर्वहारा क्रान्ति र समाजवाद निर्माणको विचार हो । माओवाद जनवादी क्रान्ति र पुँजीवाद निर्माणको । लेनिनवादीहरू मजदुरवर्गलाई क्रान्तिको मुख्य शक्ति मान्छन् । माओवादीहरू किसानलाई । भनिन्छ– साम्राज्यवादी युगमा सर्वहारा क्रान्तिको वैचारिक संरचना लेनिनवाद हो । यता माओवाद सामन्तवादविरोधी क्रान्तिको सिद्धान्त । माओले गुरिल्ला युद्धका नियमहरूको विकास गरे । गाउँले सहर घेर्ने रणनीति बनाए । तर लेनिनको संघर्षको केन्द्रविन्दु थियो सहर । लेनिनले बोल्सेभिक क्रान्तिका सहयात्री देशहरूलाई सोभियत संघमा मिलाए । माओले चीनलाई राष्ट्रिय मुक्ति दिलाए । कालान्तरमा लेनिनका उत्तराधिकारीहरूले सोभियत संघमा रुसी सभ्यताको प्रवर्द्धन गरे ।

माओले निरन्तर सर्वहाराकरणका नाममा ‘सर्वहारा सांस्कृतिक क्रान्ति’ । कुनै बेला सर्वहारा सांस्कृतिक क्रान्तिलाई एमालेहरू ‘चरम उग्रवाद’ ठान्थे । भन्नुपर्दैन, यी दुई धारबीच नेपाली कम्युनिस्ट इतिहासमै सबैभन्दा निर्मम आरोप, प्रत्यारोप र भौतिक आक्रमणहरू हुने गर्थे । ती घटना दस्तावेजहरूमा अझै जीवित छन् ।

माओवादीहरू मूलतः ‘एन्टागोनिस्टिक कन्ट्राडिक्सन’ मा विश्वास गर्छन् । यसको अर्थ हो– समाजमा वर्गहरू हुन्छन्, जो कहिल्यै मिल्दैनन् । यसैले वर्ग सम्मिलन होइन, वर्ग संघर्षबाट मात्र न्याय स्थापित हुन्छ, जुन संघर्ष सशस्त्र हुन्छ । माओवादीहरू ठान्थे– माओवाद विश्वक्रान्तिको सबैभन्दा ‘उच्च वैचारिक संश्लेषण’ हो । यो मार्क्सवादको लेनिनवादभन्दा विकसित प्रयोग हो । तर लेनिनवादीहरू (एमाले) ठान्थे कि, ‘माओवाद’ भन्नु दर्शनको सार्वभौमिकता नबुझ्नु हो । उनीहरू माओवाद हैन, विचार भन्थे । उनीहरूको तर्क थियो– माओवाद क्रान्तिको चिनियाँ प्रयोग मात्र हो ।

एमाले संसदीय संघर्षलाई संघर्षको मुख्य मोर्चा मान्थ्यो । तर माओवादीहरू ठान्थे– क्रान्तिकारीहरूका लागि संसद्‌मा भाग लिने काम दक्षिणपन्थतिरको पतन हो । माओवादीका विचारमा ‘पहिलो विश्वयुद्धअघिको संसदीय प्रणाली धेरथोर जनताको पक्षमा थियो, तर जब विश्वयुद्धले साम्राज्यवादको विकास गर्‍यो, त्यसपछिको संसदीय व्यवस्था सम्पूर्ण रूपले साम्राज्यवादको सेवामा समर्पित छ । संसदीय व्यवस्था प्रगतिशील हुने जमाना महान् अक्टोबर समाजवादी क्रान्तिपछि समाप्त भयो ।’ यसर्थ नै हुनुपर्छ, माओवादीहरू नेपाली कम्युनिस्ट आन्दोलनको मूल समस्या नै ‘संसद्‌वाद’ ठान्थे । उनीहरूको निष्कर्ष थियो– वर्गसंघर्षलाई दीर्घकालीन जनयुद्धको पथबाट विचलित गर्ने संसदीय भ्रमबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई जोगाउनुपर्छ । माओवादीहरू भन्थे– नेपालमा माओवादी हुन नसक्नेहरू मार्क्सवादी र लेनिनवादी दुवै हुँदैनन् । यो मुख्यतः एमालेबाट माओवादीलाई जोगाउने वैचारिक प्रस्ताव थियो ।

प्रश्न आउँछ, यी तमाम बेमेल, विरोधाभास र वैचारिक द्वन्द्वमा नेकपा कहाँ उभिन्छ ? यदि ऊ कम्युनिस्ट पार्टी नै हो भने यस्ता प्रश्नहरूमा उसको पछिल्लो अडान के हो ? अन्यथा नेकपा कम्युनिस्ट पार्टी हैन र वादका झमेलाबाट मुक्त हुँदै गएको हो भने त्यो स्पष्टता खै ? कस्तो पार्टी बनाउने ? कसको पार्टी बनाउने ? पार्टीको वैचारिक मार्गदर्शन के हुने ? पार्टीको लक्ष्य के हो ? यावत् प्रश्नलाई थाती राखेर गरिने कम्युनिस्ट एकताले जनतालाई के दिन्छ ? भ्रम र मात्र भ्रम । यद्यपि एमाले र माओवादीहरू मिले ।

नेकपा स्वयंले पछिल्लो समय निर्माण गरेको सत्य हो– यथावस्थामा नेकपा अर्थहीन भयो । अब यसले देश र दुनियाँ बदल्ने कुनै सामर्थ्य राख्दैन । अतः यसलाई भत्किन दिनु नै जाती ।

यिनीहरूलाई मिल्न उत्प्रेरित गर्ने मुख्य तत्त्व के हो ? फरक विचार र आन्दोलनको पृष्ठभूमिबाट आएका यी दुई पार्टीले वैचारिक प्रश्नहरूको हल कसरी गरे ? एकता प्रक्रियामा न कतै ‘जबज’ थियो, न त ‘एक्काइसौं शताब्दीको जनवाद’ । पार्टी एक गरिरहँदा, उनीहरूले न कुनै बेला एकअर्कालाई लगाएका आरोपहरूको स्वीकारोक्ति, आलोचना वा खण्डन गरे, न त विचारहरूको संगतिपूर्ण विवेचना, संश्लेषण र नयाँ प्रस्तावहरूको रचना । स्पष्ट छ, एमाले र माओवादीहरूको एकता दुई कम्युनिस्ट पार्टीको एकता थिएन । समाजवादी आन्दोलनको एकता थिएन । देशलाई समुन्नत गर्ने लक्ष्यको एकता थिएन । त्यो सत्तास्वार्थको एकता थियो । त्यो शक्तिकांक्षाको एकता थियो । परिणाम, नेकपाका नेताहरूले आ–आफ्ना वैचारिक पाठ्यक्रम, इतिहास र पक्षधरतालाई च्यातिदिए । बाँकी राखे मात्र सत्ता र शक्तिको सपना । आखिर भ्रमको पर्दाफास भयो । पछिल्लो आरोप–प्रत्यारोपको गूढ रहस्य यही हो ।

भ्रम : दुई

नेकपाको पछिल्लो विवाद के हो ? भ्रममा नपरौं, यो देशलाई समृद्ध बनाउने विवाद होइन । यो न आर्थिक–सामाजिक न्यायका मुद्दाहरूमाथिको बहस हो, न त जनतालाई राहत र सुविधा दिने विषयकै लफडा । यो विवादमा भ्रष्टाचारको अन्त्य गर्ने विषय कतै छैन । यो न त लोकतन्त्रको विवाद हो, न समाजवादको । आरोप–प्रत्यारोपहरू नियालौं, यो विवादमा नेकपाले निर्वाचनमा गरेका वाचाहरू कतै भेटिँदैनन् । त्यसैले स्पष्ट छ– जनताका सपनाहरूसँग नेकपाको पछिल्लो विवाद कतै जोडिँदैन । किनभने यो छोटे राजाहरूको अहंकारको भिडन्त मात्र हो । शक्ति र स्वार्थको टकराव । बादशाह बन्ने महत्त्वाकांक्षा । वर्चस्वको युद्ध । सिंहासन र श्रीपेच हत्याउने लडाइँ । यो नेपाली जनतालाई उज्यालो दिने संघर्ष होइन, बरु जनताका सपनाहरूमाथिको खेलबाड हो । यो विवादलाई यो वा त्यो पक्षले कहीँ–कतै सैद्धान्तिक रूप दिन खोज्छ भने त्यो मात्र भ्रम हो ।

भ्रम : तीन

कतिपयलाई लाग्छ– नेकपाको पछिल्लो संकट केपी ओली र पुष्पकमल दाहालको संकट हो । नेकपा ठीक छ, मात्र अध्यक्षहरू बेठीक भए । केही मान्छे ठान्छन्– नेकपाको दोस्रो पुस्ता अब्बल छ । चाँडै यसले सबै कुरा ठीकठाक बनाउनेछ । सायद यही मनोविज्ञानसँग खेल्न केपी ओलीले दोस्रो पुस्तामा पार्टी हस्तान्तरणको प्रस्ताव गरेका हुन् ।

वस्तुतः यो अपेक्षा र ओलीको प्रस्ताव दुवैमा भ्रम निहित छ । किनभने, नेकपाको पछिल्लो संकट पार्टीका अध्यक्षहरूको मात्र संकट होइन, न त यो सचिवालयको मात्र संकट हो । यो संकट पार्टीको वैचारिक/राजनीतिक द्विविधा, सत्ताकांक्षा र विचलनले निर्माण गरेको महासंकट हो, जसमा हिस्सेदार छन्– नेकपाका सदस्यहरू । झट्ट हेर्दा लडाइँमा दुई सम्राट् अगाडि देखिन्छन् । तर युद्धका उत्प्रेरक छन्– सचिवालयका जर्नेलहरू र मतियार छन्- दोस्रो पुस्ताका सैनिकहरू । अतः स्पष्ट हुन्छ, नेकपामा अहिले सार्वभौम कार्यकर्ताहरू छैनन् । प्रश्नहरू छैनन् । आलोचना छैन । समीक्षा छैन । मात्र षड्यन्त्र छ र छन् त्यसका मतियारहरू ।

राजनीतिमा पुस्ता हस्तान्तरण एक बहुआयामिक प्रयोग हो, जसलाई मुख्यतः विचार, संस्कृति र सपनाहरूको पुनर्गठनका रूपमा बुझ्नुपर्छ । यो समय–चेतनामा आउने परिवर्तन त हो नै, यसले भविष्यबोध र सृजनशीलतमा समेत बदलाव ल्याउँछ । त्यसैले राजनीतिमा पुस्ता हस्तान्तरण एक सूत्र होइन, लहड होइन, षड्यन्त्र होइन, बरु बृहत्तर राजनीतिक, आर्थिक, सामाजिक चेतनाको पुनर्गठन हो । के यस्तो युगीन प्रयत्नका लागि ओली कमरेड तयार छन् ? के त्यस्तो ऐतिहासिक अवसर लिने नयाँ पुस्ता कतै छ ? त्यस्तो देखिँदैन । यथार्थमा पार्टी मुखियाहरूले एकअर्कालाई गलाउन गरेको पुस्ता हस्तान्तरणको प्रस्तावमा न त रस छ, न सुगन्ध । व्यापक राजनीतिक तथा सांगठनिक पुनर्गठनबिनाको पुस्ता हस्तान्तरण मात्र भ्रम हो ।

सत्य : एक

माथिका तीनवटा भ्रमले नेकपालाई नांगेझार बनाएका छन् । ऊ सर्वांग नांगै छ, जोसँग लाज छोप्ने विचार, आस्था र मूल्य–मान्यताको टालो कतै छैन । नेकपामा केही आशालाग्दा नेताहरू अवश्य छन् । उनीहरूलाई थाहा छ- राजनीति भ्रमले चल्दैन । उनीहरूले बुझेका छन्– सिद्धान्त, विचार र मूल्य–मान्यताबिना राजनीति असम्भव छ । जुन अनिवार्य छ, त्यही नै असम्भव हुनु नेकपाको पछिल्लो संकट हो । यो संकटलाई बालुवाटारको रातो कार्पेटले छोपेर कति दिन चल्छ ? यसरी राजनीति सप्रिँदैन । यसरी देश र दुनियाँ बदलिँदैन । अतः सत्यलाई स्वीकार गर्नु र त्यसलाई प्रवर्द्धन गर्नु नै नेकपाका योग्यतम साथीहरूको आजको दायित्व हो । निश्चय नै नेकपामा सत्यको साधना गर्न कठिन होला, तर असम्भव छैन ।

अन्तिम कुरा, नेकपा स्वयंले पछिल्लो समय निर्माण गरेको सत्य हो– यथावस्थामा नेकपा अर्थहीन भयो । अब यसले देश र दुनियाँ बदल्ने कुनै सामर्थ्य राख्दैन । अतः यसलाई भत्किन दिनु नै जाती, जसको जगबाट एउटा नयाँ र ताजा राजनीतिक दलको पुनर्जन्म हुन सकोस्, जसलाई संगठित गरून् योग्यतम कमरेडहरूले । माफ गर्नुहोला, यो कुनै पूर्वाग्रह होइन, भविष्यप्रतिको मात्र एक अपेक्षा हो । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार