असार २४, २०८२ मंगलबार July 8, 2025

के राजतन्त्र फर्किन्छ ? – प्रा. कृष्ण खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अहिले सञ्चारमाध्यममा सत्तावादी र राजावादीको बहस हावी छ । स्वाभाविक हो, जहाँ केही हलचल हुन्छ त्यसलाई सञ्चारमाध्यमले पछ्याउनु । यो सञ्चारमाध्यमको पेसागत धर्म नै हो । सत्तारूढ नेकपा विभाजित छ, एउटै छातामुनि यसका बैठकहरू नहुने अवस्थामा पुगेका छन् । बैठकबाट हुने निर्णय पनि एउटालाई मान्य भए अर्कोलाई अमान्य हुने अवस्था छ ।

बहसी कार्यकर्ताहरू कुनै हालतमा पनि नेकपा फुट्दैन, फुट्न दिँदैनौं भन्छन् । कार्यकर्ताले पार्टी फुटाएका उदाहरण छैनन्, नेताले नै फुटाउने हो । नेताको लाइन समातेर कार्यकर्ता उफ्रिने मात्र हुन् । राजावादीहरू कांग्रेस र कम्युनिस्ट दुवै असफल भए, अब हामीले नै मुलुक सम्हाल्ने हो, राजतन्त्र र हिन्दु राष्ट्र फर्काउनुपर्छ, संघीयता खारेज गर्नुपर्छ, अर्को उपाय छैन भनेर अलि चर्को स्वर निकाल्दै सडकमा पुग्न थालेका छन् । के होला नेपालको राजनीति ? विगतमा जस्तै के यो संवैधानिक प्रणाली पनि दुर्घटनामा पुग्दै छ ? के राजतन्त्र फर्किन्छ ?

कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर समूहहरूको एकतापछि राप्रपाको हौसला बढ्नु स्वाभाविक हो । एकतापछि राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको पुनःस्थापना तथा संघीयताको खारेजीलाई प्रमुख राजनीतिक मुद्दा बनाएको छ । वर्तमान संविधानले नेपाललाई धर्मनिरपेक्ष एवं संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर उल्लेख गरेको छ, यसलाई आधारभूत संरचना भनेको छैन । यो संविधानले आधारभूत संरचनाको सिद्धान्तलाई अंगीकार गरेको छैन ।

संघीय संसद्को दुईतिहाइ बहुमतले संविधानका कुनै पनि प्रावधान संशोधन हुन सक्छन् । अर्थात्, पूरै प्रणाली नै खारेज पनि हुन सक्छ । संविधानले व्यवस्था गरेको प्रक्रियाबाट राजतन्त्र पुनःस्थापित पनि हुन सक्छ । संविधानको प्राविधिकतामा सीमित भएर हेर्दा यो सम्भव छ, हुन सक्छ । तसर्थ अहिले सडकमा देखिएका राजतन्त्र र हिन्दु राज्यको पुनःस्थापना, संघीयताको खारेजी लगायतका नाराहरू संविधानविपरीत नलाग्न सक्छन् । तर साँच्चै त्यसो भयो भने राजनीतिमा त्यो प्रतिक्रान्ति मानिनेछ । संशोधन होइन, यो संविधान समाप्त भएको मानिनेछ ।

संविधानका व्यवस्था एवं प्रावधानहरू यसले व्यवस्था गरेको मान्यता र प्रणालीको संवर्द्धन तथा प्रवर्द्धनका लागि हुन्, विध्वंस र प्रतिक्रान्तिका लागि होइनन् । संविधानको प्रयोग र संशोधन अग्रगामी हुन्छ, प्रतिगामी हुँदैन । २०१७ पुस १ गते राजा महेन्द्रले त्यस बेलाको संविधानको धारा ५५ कै प्रयोग गरेका थिए । त्यो विध्वंस थियो, प्रतिक्रान्ति थियो । अन्ततः त्यसले लोकतन्त्रलाई नै समाप्त गर्‍यो । त्यस्तै, २०५९ असोज १८ मा राजा ज्ञानेन्द्रले संविधानको धारा १२७ लाई नै समातेका थिए । परिणाम के भयो ? विध्वंस, प्रतिक्रान्ति । २०६१ माघ १९ मा पुग्दा संविधान नै समाप्त भयो । राजा ज्ञानेन्द्र र कमल थापाहरू २०४७ सालको संविधान देखाउँदै थिए, बाँकी रह्यो त त्यो संविधान ? त्यसैले संविधानको मर्म तथा भावनाविपरीत राजतन्त्र र हिन्दु राष्ट्र फर्काउने, संघीयताको खारेजीलाई पनि संशोधनले धान्न सक्दैन, संविधानकै खारेजीमा पुग्नुपर्छ । राजनीति गर्नका लागि, चुनाव जित्नका लागि यी नारा लगाउनुलाई भने आश्चर्य मान्नुपर्दैन ।

संवैधानिक दुर्घटना राजावादीका कारण होइन, सत्तारूढ नेकपाबाटै हुने सम्भावना बढी छ । दल विभाजनसम्बन्धी अध्यादेश र राष्ट्रपतिको गलत साखले त्यो देखाइसकेको पनि छ ।

भाजपाको सैद्धान्तिक एवं सांगठनिक जगमा अहिले पनि राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) छ । आरएसएस भारतको झन्डादेखि संविधानसम्म सबै पक्षको विरुद्ध थियो । पुराणहरूमा वर्णित देवझन्डालाई राष्ट्रिय झन्डा बनाउन चाहन्थ्यो । संसदीय प्रणालीलाई पश्चिमा नक्कल भन्दै मनुस्मृतिमा आधारित संविधान लागू गर्न चाहन्थ्यो । अहिले पनि धर्मनिरपेक्षताको खुलेर विरोध गर्छ र हिन्दुत्वलाई राष्ट्रिय सिद्धान्त (न्यासनल आइडोलोजी) मान्छ । पूर्ण बहुमतसहित भाजपा दोस्रो कार्यकालका लागि सत्तामा छ अहिले । तर धर्मनिरपेक्षता हटाएर भारतलाई हिन्दु राष्ट्र घोषणा गर्ने विषयलाई किन संसद्मा लैजाँदैन ? भाजपाका कुनै सांसदले व्यक्तिगत तहमा पनि त्यो प्रयास गरेको देखिँदैन ।

हामी संविधान बनाउने कसरत गर्दै थियौं । भारतमा भाजपाको सरकार बनेको थियो । विदेशमन्त्री सुषमा स्वराज नेपाल आएकी थिइन् । सञ्चारकर्मीहरूले उनलाई हिन्दुत्वको विषयमा अलि उत्तेजित पार्न खोज्दै थिए । उनी सजिलै पन्छिइन्, ‘मैले भारतको संविधानको शपथ खाएकी छु’ भनेर । संविधानले भारतलाई ‘पन्थनिरपेक्ष’ (सेक्युलर) भनेको छ । भाजपा सिद्धान्ततः यो कुरासँग असहमत छ । उसको नेतृत्वको सरकार हिन्दुत्वको नारा र राजनीतिलाई जोगाइराख्न चाहन्छ भन्नेमा शंका छैन । तर संविधानको सवालमा घडीको सुई उल्टो घुमाउन सकिँदैन भन्ने उसले बुझेको छ । नेपालमा पनि कमल थापा यही संविधानको शपथ खाएर उपप्रधानमन्त्री भइसकेका छन् । राप्रपाका अरू नेता पनि गणतन्त्रमा मन्त्री भैसकेका छन् । आफ्नो सीमा उनीहरूलाई पनि याद होला ।

त्यसैले होला, अहिले राजावादीहरूको सडक प्रदर्शनमा राप्रपा नामको ब्यानर देखिँदैन, नयाँ–नयाँ नाम र समूहहरू आएका छन् । यसका सैद्धान्तिक प्रवक्ताहरू पनि पार्टी पङ्क्ति बाहिरको जस्तो गरेर देखिन्छन् । तर कुराको तत्त्व उही छ- राजतन्त्र र हिन्दु राष्ट्रको पुनःस्थापना एवं संघीयताको खारेजी । एउटा अनौठो भन्ने कि अति सुस्त, अग्रगमन देख्छु म राजावादीहरूमा पनि । उनीहरू २०४७ सालको संविधानमा राजाको भूमिका पुगेन भन्थे । पार्टीहरूको कमजोरीमा राजाले लौरो नचाएर भूमिका खेलून् भन्ने चाहन्थे । जनताको मतभन्दा सजिलो थियो त्यो उनीहरूको राजनीतिका लागि । त्यसैले असोज १८ पछि मात्र २०४७ सालको संविधान, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र उनीहरूलाई आदर्श बन्यो । अहिले पनि सुनिन्छ- उनीहरूले राजाको निरंकुश शासन होइन, राजसंस्थाको पुनःस्थापना र राजाको प्रतीकात्मक उपस्थिति मात्र खोजेका हुन् । शासकीय जिम्मेवारी जनताले निर्वाचन गरेको संसद् र प्रधानमन्त्रीबाटै हुने हो । के बेर, राजनीति अलि बढी अग्रगामी भएर समाजवादी/साम्यवादी धारमा पुग्न लाग्यो भने संघीय लोकतान्त्रिक गणतन्त्र नै ठीक भन्न

जहाँसम्म धर्मनिरपेक्षताको प्रश्न छ, यो एउटा सैद्धान्तिक स्थापना मात्र हो । राज्यले कुनै धर्म र धार्मिक आस्थाको पक्ष लिँदैन भन्ने मान्यता हो । यसबाट हिन्दुहरूले आहत महसुस गर्नु आवश्यक छैन । जनताको हिन्दु पहिचान मेटिएको छैन । व्यवहारमा के नै फरक भएको छ र ? हिन्दु परम्पराअनुसार मानिसका सामाजिक, धार्मिक, सांस्कृतिक व्यवहारहरू चलिराखेकै छन् । मठमन्दिरमा पूजाआजा चलेकै छ । राज्यका हकमा पनि राष्ट्रपतिले हिजोको बिँडो थामेकै छन् । राजावादीहरू भन्छन्- हिन्दु राष्ट्र नेपालीको सनातनदेखिको पहिचान हो । यसको संवैधानिक मान्यता कायम गर्न खोजेको मात्र हो, धार्मिक स्वतन्त्रता सबैका लागि उपलब्ध हुनेछ । संघीयता नेपालले धान्न सक्दैन, राष्ट्रिय एकताअनुकूल पनि छैन । तीन वर्षकै प्रयोगमा यो काम नलाग्ने सिद्ध भइसक्यो । तर्कको कुनै कमी हुँदैन, तर राजनीति तर्कमा होइन, केही आधारभूत एवं संगतिपूर्ण सिद्धान्त र धरातलीय शक्ति सन्तुलनका आधारमा चल्छ ।

संघीयता नेपालले धान्न सक्दैन, राष्ट्रिय एकताअनुकूल पनि छैन । तीन वर्षकै प्रयोगमा यो काम नलाग्ने सिद्ध भइसक्यो ।

पञ्चायती व्यवस्था थियो, महेन्द्र नै राजा थिए । मेरा हजुरबा भन्नुहुन्थ्यो, ‘यिनीहरूभन्दा त राणाजीहरू नै ठीक थिए ।’ उहाँले पञ्चायतभन्दा अघिको कांग्रेस सरकारलाई पनि ठीक भन्नुभएको थिएन । कुनै जागिर वा राजनीतिमा हुनुहुन्थ्यो, सामान्य र साक्षर किसान मात्र । २०४६ सालको आन्दोलनपछि कांग्रेसको सरकार फर्क्यो, राणा शासन होइन । सडकबाट आन्दोलन हुन्छ, प्रतिक्रान्ति होइन । आन्दोलनकारी नागरिक सडकमा निस्केपछि प्रतिक्रान्तिवादी सडक छाडेर भाग्छन् । २०४६ साल, २०६२/६३ सालका आन्दोलनहरू साक्षी छन् ।

संवैधानिक राजतन्त्र ठीक थियो त, त्यसलाई ठीक ठाउँमा राख्न राजावादीहरू पनि हिजै चुकिसकेका छन् । आज फेरि तिनले त्यसलाई सीमाबद्ध गर्छौं भन्दैमा कसले पत्याउने ? कांग्रेस, कम्युनिस्टबाट निराश भएका नवयुवाहरूलाई गलत भासमा धकेल्ने दुष्प्रयत्नभन्दा बढी त्यो केही साबित हुँदैन । मलाई पनि चित्त बुझेको छैन, अहिलेका धेरै कुरा । के समाप्त भैसकेको थोत्रो कराहीको घेराजस्तो राजतन्त्र समाउन पुग्ने ? छैन कुनै प्रगतिशील राजनीतिक एजेन्डा ? गणतन्त्र र धर्मनिरपेक्षता युगीन चेतनाका प्रतीक हुन्, संघीयता समयको माग हो । युवाहरू परिवर्तनका वाहक हुन्, प्रगतिका द्योतक । उनीहरूबाट मुलुकले अपेक्षा गर्ने भनेको एक्काइसौं शताब्दीअनुकूल चेतना, अग्रगामी सोच र कर्मशीलता हो । चिहानमा गाडिसकेको लास उधिन्न खोज्नु भनेको घडीको सुई उल्टो घुमाउनु हो । राजतन्त्र फर्किने कल्पना युवाचेतनाविपरीत कुरा हो । अहिलेका शासक/नेताहरूको अकर्मण्यता, अयोग्यताको मारमा गणतन्त्रलाई घचेट्नु आवश्यक छैन । खाँचो नयाँ र प्रगतिशील सोचको युवा नेतृत्व र संगठनको छ, प्रतिक्रान्तिको होइन ।

राजसंस्था ब्युँताउने नारा बोकेर राजावादीहरू सडकमा निस्कने क्रम बढ्न थालेपछि सरकारले कोरोना संक्रमणको बहाना देखाएर देशभर राजनीतिक प्रकृतिका जुलुस, प्रदर्शन, भेलाहरू गर्न निषेध गरेको छ । यसको पहिलो मारमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल परे । मलाई राजतन्त्र ब्युँताउने केही स्वर चर्केकामा त्यति चिन्ता छैन, बरु निहित स्वार्थका लागि यो धमिलो पानीमा माछा मार्न खोज्ने कथित संविधानवादीकै दोहोरो भूमिकामा भने बढी चिन्ता छ ।

मलाई राजतन्त्र ब्युँताउने केही स्वर चर्केकामा त्यति चिन्ता छैन, बरु निहित स्वार्थका लागि यो धमिलो पानीमा माछा मार्न खोज्ने कथित संविधानवादीकै दोहोरो भूमिकामा भने बढी चिन्ता छ ।

सरकारले त त्यो प्रवृत्ति देखाइसक्यो । निषेधलाई उसले आफ्नो प्रतिरक्षा ठानेको छ । कतै, विपक्षीहरू पनि गत चुनावमा हारको क्षतिपूर्ति राजावादी र हिन्दुवादीहरूको पछि लागेर हुन्छ भन्ने आसमा त छैनन् ? राजनीतिमा खुलेआम विरोधभन्दा दोहोरो चरित्र बढी खतरनाक हुन्छ । हो, कांग्रेस र कम्युनिस्ट दुवैले हिजैदेखि धर्मनिरपेक्षता र संघीयताको सवाललाई जनतामाझ लोकप्रिय बनाउन सकेका थिएनन् । सरकारको व्यवहारका कारण यसको लोकप्रियतामा अरू ह्रास आएको छ । राजनीतिक मुद्दामा लोकप्रिय जनमत निर्माण र परिचालन गर्ने काम राजनीतिक दलहरूको हो । कांग्रेस र कम्युनिस्ट दुवैले यो बुझ्नु जरुरी छ, संविधानका प्रमुख मान्यता र संरचनामा क्षयीकरण बढ्यो भने उनीहरूको राजनीतिक हैसियतको पनि क्षय हुन्छ ।

जहाँसम्म संवैधानिक दुर्घटनाको सवाल छ, त्यो राजावादीका कारण होइन सत्तारूढ नेकपाबाटै हुने सम्भावना बढी छ । दल विभाजनसम्बन्धी अध्यादेश र राष्ट्रपतिको गलत साखले त्यो देखाइसकेको पनि छ । एकातिर सरकार आफ्नो अक्षमताबाट ग्रस्त छ भने, अर्कातर्फ आन्तरिक द्वन्द्वले पार्टी हल न चलको अवस्थामा पुगेको छ । लोकतन्त्रमा खेलका नियम राज्यसत्तामा मात्र होइन, पार्टीमा पनि उत्तिकै आवश्यक छन् । संसदीय प्रणालीमा पार्टीभित्र सत्ता चलखेलको ठाउँ बढी हुन्छ । सरकारी तहमा खेलका धेरैजसो नियम संविधानले नै निर्धारण गरेको हुन्छ, पार्टीको हकमा भने सम्बन्धित दल र त्यसको नेतृत्व पङ्क्तिमा बस्नेले नै निर्धारण गर्नुपर्ने हुन्छ । त्यो गर्न नसक्दा सत्तामा जाने कुरामा हाम्रा साना–ठूला सबै पार्टी विभाजित भएको ताजा इतिहास छ ।

जब बहुमतमा भएको पार्टी र सरकार विपक्षीसँग मिलेर आन्तरिक प्रतिस्पर्धा र चुनौतीको सामना गर्न लाग्छ, असफलताभन्दा बढी केही हात लाग्दैन । २०४८ सालपछि नेपाली कांग्रेस त्यसैको सिकार भयो । आज नेकपा हुँदै छ । किन जाँदैनन् प्रधानमन्त्री आफ्नै पार्टीको संसदीय दलमा मलाई विश्वासको मत देऊ भन्न ? संकटमा उनको आडभरोसाको ठाउँ त्यही हो । अर्को संसद् हो । यीमध्ये कुनैबाट पनि विश्वासको मत लिनु प्रधानमन्त्री ओलीका लागि अनिवार्य भैसकेको छ । अन्यथा उनले छाड्नुपर्छ । प्रधानमन्त्रीको नेतृत्वमाथि प्रश्न उठेपछि संसदीय प्रणालीमा पालना गर्नुपर्ने खेलको नियम यही हो । अर्को बाटोले राजनीतिक दुर्घटना निम्त्याउँछ ।

जब बहुमतमा भएको पार्टी र सरकार विपक्षीसँग मिलेर आन्तरिक प्रतिस्पर्धा र चुनौतीको सामना गर्न लाग्छ, असफलताभन्दा बढी केही हात लाग्दैन ।

प्रधानमन्त्रीमाथि विश्वासको चुनौती न संसद्मा पुगेको छ, न उनकै संसदीय दलमा । यस्तो अवस्थामा अल्पमतको सरकार चलाएको शैलीमा विपक्षी दलसँग अपारदर्शी साँठगाँठले प्रधानमन्त्रीको राजनीतिक वैधतामै प्रश्न उठाउँछ । नेकपाभित्रको असहमत पक्ष पनि निर्णायक रूपमा आउन सक्नुपर्‍यो । नेताहरूको अनुकूलता र चोचोमोचो होइन, विधिसम्मत र राजनीतिक छिनोफानो हुनुपर्‍यो । केवल द्वन्द्व र टकरावको निरन्तरताले नेकपालाई घाटा भैसकेको त छ नै, यसले मुलुकको राजनीतिक प्रणालीमा पनि जोखिम बढाउँदै छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार