काठमाण्डौंः नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचक्रयाँइ गरेको भन्दै पोखराका आठजना प्याराग्लाइडिङ पाइलटको उडाउनमा रोक लगाएको छ । यात्रुलाई उडाउने क्रममा ती पाइलटले सुरक्षालाई बेवास्ता गर्दै अतिरिक्त गतिविधि गराएको भन्दै क्यानले आठजना पाइलटलाई अनिश्चितकालसम्मका लागि उडानमा रोक लगाएको हो।
प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीका अनुसार आठजना पाइलटको उडान अनिश्चितकालका लागि रोकिएको छ। भण्डारीका अनुसार पाइलटहरु यूकेश गुरुङ, सहिल खान, संग्राम थापा, बिशाल थापा, रिखी पोडे, सुवास थापा, एलिस थापा र अञ्जन कुँवरलाई अनिश्चितकालसम्मका लागि उडान गर्न रोक लगाइएको छ।
‘आठजना पाइलटलाई अनिश्चितकालसम्मका लागि उडान गर्न रोक लगाइएको छ,’ ना का अध्यक्ष भण्डारीले भने, ‘उनीहरुलाई के कस्तो कारबाही गर्ने भन्ने क्यानले नै छानबिन गरेर निर्णय गर्नेछ।’ भण्डारीका अनुसार ती पाइलटले यात्रुसहित उडानको क्रममा उडान सुरक्षामा हेलचेक्र्याँइ गर्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने गतिविधि गरेका थिए। ‘सुरक्षालाई हेलचेक्र्याँइ गर्दै उडान गरेकोले उनीहरुलाई कारबाही गर्न खोजिएको हो,’ भण्डारीले भने, ‘हामीलाई क्यानले पत्र पठाउँदै ती पाइलटको उडानमा रोक लगाएको जानकारी गराएको छ।’
नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख भोलाप्रसाद गुराँगाइले पनि उडान सुरक्षालाई हेलचेक्र्याँइ गरेकोले ती पाइलटको उडान अनिश्चितकालिन रोक लगाइएको बताए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया