काठमाण्डौंः बैंक तथा वित्तीय संस्थाहरूले जस्तै अब बीमा कम्पनीहरूले पनि वित्तीय विवरण सार्वजनिक गर्दा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणालीअनुसार गर्नुपर्ने भएको छ । बीमा समितिले पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरूलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण बनाउन निर्देशन दिएकाले उनीहरूले पनि यस्तो प्रणालीअनुसार वित्तीय विवरण बनाउनुपर्ने भएको हो ।
समितिले सोमवार पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका लागि छट्टुाछुट्टै निर्देशिका जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
अब पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरूले एनएफआरएस प्रणालीअनुसार नै वार्षिक तथा त्रैमासिक वित्तीय विवरण बनाउनुपर्ने भएको छ । यो व्यवस्था चालू आर्थिक वर्षको साउनदेखि नै लागू हुनेछ । अब कम्पनीहरूले सार्वजनिक गर्ने त्रैमासिक तथा वार्षिक वित्तीय विवरण एनएफआरएस प्रणालीमार्फत नै गर्नुपर्ने समितिको भनाइ छ ।
हाल बीमा कम्पनीहरूले नेपाल वित्तीय मान र बीमा समितिको वित्तीय विवरणसम्बन्धी निर्देशिका २०६४ अनुसार वित्तीय विवरण बनाउँदै आएका थिए । अब भने एनएफआरएस प्रणालीबाट नै बनाउनुपर्ने समितिको भनाइ छ । यद्यपि, बीमा समितिमा पेश गर्नुपर्ने वित्तीय विवरण भने वित्तीय विवरणसम्बन्धी निर्देशिका २०६४ अनुसार नै बनाउनुपर्ने छ ।
बीमा कम्पनीहरूले सार्वजनिक गर्न र बीमा समितिमा पेश गर्न छुट्टाछुट्टै वित्तीय विवरण बनाउनुपर्ने हुन्छ । संसद्मा विचाराधीन अवस्थामा रहेको बीमा विधेयक लागू भएपछि मात्र बीमा कम्पनीहरूले समितिमा पेश गर्ने र सार्वजनिक गर्दै दुवै वित्तीय विवरण एनएफआरएस प्रणालीबाट बनाउनुपर्ने हुन्छ ।
एनएफआरएस वित्तीय कम्पनीहरूले वित्तीय विवरण बनाउने एउटा अन्तरराष्ट्रिय प्रणाली हो । नेपालले इन्टरनेशनल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (आईएफआरएस) लाई ग्रहण गरेर नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड नाम राखेको हो ।
यसमार्फत वित्तीय विवरण प्रस्ततु गर्दा अन्तरराष्ट्रिय वित्तीय कम्पनी र नेपालको वित्तीय कम्पनीको अवस्था सहज रूपमा तुलना गर्न सक्ने बताइन्छ ।
नेपालमा यो प्रणाली भित्रिएको ३/४ वर्ष नै भइसकेको छ । तर, बीमा कम्पनीहरूमा भने यो व्यवस्था लागू भएको थिएन । पहिलो चरणमा आव २०७५/७६ मा वाणिज्य बैंकहरूमा मात्र यो व्यवस्था लागू गरिएको थियो । अभियान
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया