वैशाख २५, २०८१ मंगलबार May 7, 2024

नेपालमा मुजाहिद्दीन आतंकवादको खतरा, सुरक्षामा कमजोरी :अमेरिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकाले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली कमजोर रहेको निष्कर्ष निकालेको छ ।

मेरिकी विदेश मन्त्रालयको एउटा प्रतिवेदनमा विमानस्थलको कमजोर सुरक्षाले गर्दा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट बन्न सक्ने खतरा औंल्याइएको छ । नेपालमा आतंकवादको खतरा सम्वन्धमा गरिएको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको विमानस्थलमा सुरक्षा अपर्याप्त र कमजोर छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको ‘प्रिस्कृन’ गरिँदैन र अवतरण गर्ने यात्रुको तथ्यांक कुनै पनि डाटावेशमा राखिँदैन ।

यात्रुहरुको भौतिक सुरक्षा जाँच झारा टार्ने खालको मात्र छ । ट्राभल डकुमेन्टको सुरक्षा सम्बन्धि कुनै व्यवस्था छैन भने डकुमेन्टको परिक्षणका लागि अल्ट्राभ्वाइलेट लाइटको विमानस्थलमा आभव छ ।’

‘नेपाल प्रहरीको विशेष ब्यूरोले करिब १० जनालाई विमानस्थलमा खटाउँछ र यसका करिब १५ अफिसरलाई इन्टरपोल नेसनल सेन्ट्रल ब्यूरोमा खटाउँछ, जुन नेपाल प्रहरीको हेडक्वार्टरमा अवस्थित छ । इन्टरपोलका सूचनाहरु एउटा डाटावेसमा राखिन्छन् तर यो डाटावेश मार्फत यात्रुहरुलाई नियमित स्कृन गरिदैन । अमेरिकाले सूचनाका लागि गरेको आग्रहमा सुरक्षा तथा अध्यागमन अधिकारीहरुले सामान्यतया रेस्पोन्स गर्छन् तर उनीहरुसँग धेरै सूचना नै हुँदैन ।’

नेपालले भारतसितको खुल्ला सीमामा पनि पर्याप्त सुरक्षा प्रबन्ध नगरेको प्रतिवेदनमा औंल्याइएको छ ।

‘एक हजार माइलको बोर्डरमा थोरै चेक प्वाइन्टहरु छन् तर त्यहाँ पर्याप्त सुरक्षा नियन्त्रण छैन । जस्तो कि, एउटा चेकप्वाइन्टमा एक जना मात्र इमिग्रेसन अफिसर उपलब्ध हुन्छन् । त्यसैले अधिकांस मानिसहरु कुनै रोकावट वा सुरक्षा जाँचविनै नेपाल प्रवेश गर्न र नेपालबाट बाहिरिन सक्छन्’ प्रतिवेदनले भनेको छ ।

सीमा सुरक्षामा स्रोत(साधनको अभाव रहेको र जनशक्तिले पर्याप्त तालिम नपाएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार सन् २०१८ भरि नेपालमा कुनै अन्तर्राष्ट्रिय आतंकवादको गतिविधि भएन । घरेलु आतंकवादतर्फ विप्लव समुहले केही विष्फोटका घटनाहरु गराएको उल्लेख गरिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष वैश्विक आतंकवादबारे आफ्नो रिपोर्ट तयार पार्छ । यसमा विश्वभर भइरहेको आतंकवादी गतिविधिबारे उल्लेख हुन्छ । साथै आतंकवादसँग जुध्न कुन देशले के गरिरहेको छ भन्ने कुरा पनि समेटिएको हुन्छ । यही रिपोर्टका आधारमा अमेरिकी संसदले बिभिन्न देशहरुलाई दिने आर्थिक सहयोगबारे निर्णय लिन्छ ।

सन् २०१८ का आतंकवादी गतिविधिबारे ३३२ पेज लामो प्रतिवेदनमा नेपालको प्रसंग १७५ देखि १७७ पेजसम्म छ । उसले नेपालमा विप्लव माओवादीको गतिविधिलाई घरेलु आतंकवादी क्रियाकलापको संज्ञा दिएको छ ।

सन् २०१७ को चुनावताका विप्लव समूहले केही आतंकवादी गतिविधि गरे पनि सन् २०१८ मा नेपालमा बाह्य आतंकवादी कार्यहरु नभएको प्रतिवेदनमा विश्लेषण गरिएको छ । तर, पछिल्लो समय नेपालमा मुजाहिद्दीन मुस्लिम आतंकवादीले प्रभाव विस्तार गरेको अमेरिकी रिपोर्टमा दाबी गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया