काठमाण्डौंः कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन आह्वान भएको छ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले यही जेठ २४ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख कलौनीले २४ गते दिउँसो २ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको छ ।
बिहीबार बसेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल नेकपा एमालेलगायतका दलहरुले सरकारले असार १ गते ल्याउने बजेट ल्याउनु १५ दिनअघि प्रि–बजेटको सैद्धान्तिक तथा प्राथमिकताका बारेमा छलफल नगरेको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अधिवेशन बोलाउन आग्रह गरेका थिए । उनीहरुले प्रदेश सरकारले नीति तथा कार्यक्रम (बजेट अधिवेशन) नगरी एकैचोटि बजेट ल्याउन लागेको आरोप लगाएका थिए ।
आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि कर्णाली सरकारले करिब रु ३३ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले जानकारी दिनुभएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया