असार २, २०८३ मंगलबार June 16, 2026

एमाले ए-कता ? – गुणराज लुँईटेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हालै युवा वैज्ञानिकहरूसँगको जुम बैठकमा एक जनाले सोधे– तपाईँहरू राजनीतिलाई किन यति धेरै ठाउँ दिनुहुन्छ ? राजनीतिको समाचार भन्दा अहिले मुलुकमा रहेको कोरोना विषाणु संक्रमण र यसबाट सिर्जित समस्यालाई बढ्ता ध्यानु दिनुपर्ने होइन ?  

प्रायः हामी यस्ता प्रश्न आउँदा जवाफ दिने गर्छौँ– राजनीति मुलुकको मूल नीति हो। राम्रो राजनीतिले नै मुलुकका समस्या समाधानमा सघाउँछ। आखिर कोरोनाबाट सिर्जित समस्याको समाधान पनि राम्रो राजनीति भएकै ठाउँमा सहज भएको छ। जुन मुलुकको राजनीतिले यस्ता विषयलाई गम्भीरपूर्वक लिएको छ, त्यहाँको जनजीवन सामान्य हुँदैछ।  

हाम्रो मुलुकमा भने राजनीति मूल नीतिका रूपमा रहन सकेको छैन। राजनीति मूल नीति हुँदा हो त यसले आमजनजीवनलाई आफ्नो कामको मुख्य विषय बनाउन सक्थ्यो। पहिला–पहिला वामपन्थीहरूले जीवन र जगत्का कुरा गर्थे। त्यसैगरी प्रजातन्त्रवादीहरूले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हुनुपर्छ भन्थे। मुलुकमा प्रजातन्त्र हुँदै अहिले लोकतन्त्र आइसकेपछि पनि न वामपन्थी न प्रजातन्त्रवादी कसैको पनि ध्यान जनजीविकातर्फ गएको छैन।  

एमालेले आफूलाई विघटनतिर लैजाँदा नै देशको हित हुन्छ। यो भत्किएपछि बल्ल त्यसको जगमा राम्रो पार्टी तयार हुन्छ।

यो लेखको उद्देश्य भने प्रजातन्त्रवादीतिर भन्दा मुलुकका वापन्थी भनेर आफूलाई भन्ने दल नेकपा (एमाले) तिर लक्षित छ। वास्तवमा एक वर्षयता सत्तारुढ एमालेले मुलुकका निम्ति चिन्ता गर्ने भन्दा पनि हामीले उसको चिन्ता गरिदिनुपर्ने जस्तो स्थिति देखिएको छ। मुलुकमा कोरोना विषाणु् सिर्जित समस्या जति पुरानो भयो, एमाले सिर्जित समस्या पनि उत्तिकै पुरानो भएको छ। अर्थात् २०७६ चैतदेखि अहिलेसम्म हामी कोरोना र एमाले दुवैबाट उत्तिकै पीडित भएका छौँ। त्यसै कारण आममानिसलाई राजनीतिसम्बन्धी समाचारले समेत वितृष्णा पैदा गरेको छ।  

झण्डै डेढ वर्ष हुन लागेको छ– एमालेको एकताको अलाप सुनेको। देशमा अन्य धेरै समस्या छन्। तर एमाले एकताको समस्या समाधान नभइ केही होला जस्तो छैन। र, एमाले एकताको यो समस्या शीर्ष नेताहरू हुँदै अहिले कथित दोस्रो पुस्ताका नेताहरूले जिम्मेवारी लिएका छन्। तिनीहरू पार्टी एकताका निम्ति निरन्तर शीर्षासन गरिरहेका छन्। तिनले कहिले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई त कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई दबाब दिइरहेका छौँ भन्दैछन्। तिनको दबाब न ‘ओली बा’ ले सुनेका छन्, न ‘नेपाल काका’ ले नै।  

एमालेको दोस्रो पुस्ता भनेको यस्तो झुण्ड हो जो बाको पौरखमा गौरव गर्छ। बाहरूले बनाइदिएको ‘ठूलो पार्टी’ को कौसीमा बसेर यसले समाजवादको तर चाख्ने चाहना राखेको छ। आमनागरिकलाई समाजवाद आउँदैन पक्का भइसकेको छ तर दोस्रो पुस्ता बाहरूसँगै बस्ने र तिनको सेखपछि जहिले समाजवाद आउँछ, त्यसबाट लाभान्वित हुने परम इच्छाबाट वशिभूत छ।  

खासमा अहिलेको बा पुस्ताले तिनका पनि बाहरूले पार्टी ठूलो बनाइदेलान्, तिनले आर्जन गर्लान् र खाउँला भनेर बसेका भए अहिले तिनीहरू मुलुक हाँक्ने स्थितिमा हुने थिएनन्। आजका जल्दाबल्दा युवाले लोभिएर बस्नुपर्ने गरी ती सत्तादेखि प्रतिपक्षसम्म फैलिएर बसेका छन्। यसबाट पाइने शिक्षा भनेको के हो भने राज्यसत्ता होस् वा पार्टीसत्ता, आफैँले आर्जन गर्ने हो, कुनै बाले टपक्क टिपेर थालमा राखिदिँदैनन्। प्रत्येक दोस्रो पुस्ताले आफैँ त्यसका निम्ति पहल गर्नुपर्छ।  

त्यसबाहेक पनि पार्टी एकता भनेर सधैँ रोइलो गरिरहनु पनि आवश्यक छैन। पार्टी एउटा औजारमात्र हो। त्यो औजारका निम्ति कुरिबस्ने होइन। हतियार धारिलो भयो भनेमात्र त्यसले आर्जन गर्न सक्छ। सिद्धान्तनिष्ट पार्टी बन्यो भनेमात्र त्यसले अपेक्षित उपलब्धि हासिल गर्छ। अन्यथा त्यस्ता पार्टी हुनु र नहुनुको कुनै अर्थ हुँदैन। अहिले मुलुकमा एमालेमात्र होइन, अन्य पार्टीको औचित्यसमेत समाप्त भइसकेको छ।

मुलुकमा कोरोना विषाणु सिर्जित समस्या जति पुरानो भयो, एमाले सिर्जित समस्या पनि उत्तिकै पुरानो भएको छ। अर्थात् २०७६ चैतदेखि अहिलेसम्म हामी कोरोना र एमाले दुवैबाट उत्तिकै पीडित भएका छौँ।

यी दलहरूले नेपालमा शासनसत्तामा आफूलाई सरिक गराएको ३० वर्ष भइसकेको छ। पञ्चायती व्यवस्था पनि ३० वर्षमात्र मुलुकमा टिक्न सकेको थियो। अहिलेकै जस्ता विकृति–विसंगतिका साथ हिँडेर व्यवस्था धेरै टिक्न सक्दैन। सिद्धान्तहीन राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताबाट कुनै उपलब्धि हासिल हुन सक्दैन। त्यसमा पनि एमालेले ओलीको नेतृत्वमा आफ्नो सिद्धान्त सम्पूर्णरूपमा गुमाइसकेको छ।

यो स्थितिमा एमालेको दोस्रो पुस्ताले तय गर्नुपर्छ– अहिलेकै स्थितिमा यो दलले अपेक्षित परिणाम हासिल गर्न सक्छ ? निर्वाचन जित्न, सपनाका पुल बाँध्न र आश्वासनका तारा आकासबाट झारिदिन दलहरूले जानेका छन्। अहिलेका दलका नेताहरू यसका निम्ति निपूर्ण छन्। तर यही ढंगले अबको राजनीति चल्न सक्छ ? हिजो दलहरू सिद्धान्तका आधारमा चलेका थिए। तिनले उद्देश्य प्रष्ट भएका कारण देशमा परिवर्तन पनि भएको हो। परिवर्तनपछि दलहरूले आफूलाई सत्ताका मल्खुबाहेक अन्य ठाउँमा आफूलाई पुर्‍याउनै सकेनन्।  

एमालेको दोस्रो पुस्ता अब प्रष्ट हुनुपर्छ– हिजो पार्टी सिद्धान्तनिष्ठ कार्यकर्ताका बलमा चल्थ्यो। आज पार्टी बाहुबलीहरूको साथ र सहयोगमा चल्छ। जसले पार्टीलाई ‘मनी’ (रकम) र ‘मसल’ (पाखुरा) दिन्छ, त्यही नै महान् कार्यकर्ता हुन्छ। घनश्याम भुसालको समाजवादको व्याख्या भन्दा महेश बस्नेतका पाखुराको पौरख धेरै हुने ठाउँमा पार्टी पुगिसकेको छ। त्यही एमाले हो, जतिबेला भुपाल किराँती त्यहाँ प्रवेश गर्दा ठूलै रोइलो थियो। फर्केर हेर्दा भूपाल किराँती त अहिलेका धेरै एमाले नेता तथा कार्यकर्ता भन्दा सिद्धान्तनिष्ठ रहेछन्।  

एमालेले आफूलाई विघटनतिर लैजाँदा नै देशको हित हुन्छ। यो भत्किएपछि बल्ल त्यसको जगमा राम्रो पार्टी तयार हुन्छ। त्यसैले विकृतिको घर बनिसकेको दललाई जोगाउनतिर भन्दा पनि नयाँ सिर्जना गरेर मुलुकका समस्या समाधानतिर लाग्नु एमालेका दोस्रो पुस्ताको अहिलेको कार्यभार हुन सक्छ। तर, तिनीहरूबाट त्यो सम्भव देखिएको छैन। पार्टी जोगाऔँ भनेको छ, दौडिएको छ। त्यसले मुलुकको अहिलेको परिस्थितिमा तत्विक अन्तर आउँदैन।  

वास्तवमा ओली आफू पार्टी अध्यक्ष भएपछि र सरकारको पनि नेतृत्व गरिसकेपछि एक किसिमको शैलीमा अगाडि बढ्न अभ्यस्त भएका छन्। त्यसलाई अचेल धेरैले ‘ओलीतन्त्र’ अर्थात् ओलीगार्कीका रूपमा समेत चर्चा गरेको सुनिन्छ । यस हिसाबले ओली अब व्यक्ति होइन, प्रवृत्तिकै रूपमा विकसित भइसकेका छन्। उनकै कारण जनआन्दोलन २०६२/०६३ को उपलब्धिका रूपमा आएको नेपालको संविधानसमेत अधमरो स्थितिमा पुगिसकेको छ।  

पञ्चतन्त्रको बूढो बाघले जस्तो बेलाबेलामा सुनको बाला लिएर लोभी बाहुनलाई दान थाप्न बोलाएको जस्तो परिस्थितिलाई बेलैमा बुझ्न नसके दुर्घटना अवश्यम्भावी छ।

ओली एक जना व्यक्तिले आफूले चाहेअनुसार संविधान, सरकार र सत्तामा हस्तक्षेप गर्न सकेका होइनन्। यो काममा एउटा ठूलो समूह तयार भएर लागेको छ। ओलीको निरन्तर पौरखका कारण यो सम्भव भएको हो। यस्तो स्थितिमा दोस्रो पुस्ता एकता, एकता भन्दै दौडिरहँदा कता पुग्ने हो भन्न सकिँदैन। तिनले एमालेमा कुनै तात्विक परिवर्तन ल्याउन सक्दैनन्। यति हो, तिनले पद भने सहजै पाउन सक्छन्। र, यस्ता कार्यकर्तालाई गणेश पहाडी जस्ता नेपाल पक्षका कार्यकर्ताले मन्त्री पाएको देख्दा पक्कै पनि जिब्रोमा पानी आउँछ। यसो गर्दा आफू लाभको पदमा पुग्न सकिन्छ तर देशलाई लाभको स्थानमा पुर्‍याउन सकिँदैन।

एमालेका धेरैले आशा गरेका केही युवा नेताहरूको अहिलेको हतास मनस्थिति देखेर आश्चर्य चकित हुनु पर्दैन। सबैले सधैँ आन्दोलन गर्ने, क्रान्ति गरिरहने वा परिवर्तनमा लागिरहने भन्ने हुँदैन। बीचमा थकाइ पनि लाग्छ। शरीरले आराम पनि खोज्छ। ठूला पदमा पुग्ने शोख पनि हुन्छ। त्यसका निम्ति प्रयत्न गर्नु स्वाभाविक हो। परिवर्तनको भगिरथ प्रयत्न गर्नेहरू पनि यो प्रवृत्तिसँगै विकसित भइरहेका हुन्छन्।

यो स्थितिमा नेपाल पक्षले आफूलाई बुझेको छ/छैन ? ओलीसँग केही ‘बार्गेनिङ’ गरेर देशका समस्या समाधान हुन्छन् कि आफैँ समस्या समाधानमा लाग्ने हो ? पञ्चतन्त्रको बूढो बाघले जस्तो बेलाबेलामा सुनको बाला लिएर लोभी बाहुनलाई दान थाप्न बोलाएको जस्तो परिस्थितिलाई बेलैमा बुझ्न नसके दुर्घटना अवश्यम्भावी छ। आमनागरिकमा राजनीतिप्रति किन वितृष्णा छ भन्ने बुझ्ने नेता तथा कार्यकर्ताका निम्ति मैदान खाली छ। लड्न, भिड्न र अघि बढ्न कोसिस गर्नेले बाहरूप्रति आशामुखी हुनै पर्दैन। आफैँ आर्जन गरे हुन्छ। एमालेको एकताको पछि लाग्दालाग्दै ए–कता ? भन्ने स्थितिमा नपुगियोस्। नागरिक दैनिक 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार
२०८३ असार २, मंगलबार
भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा
२०८३ असार २, मंगलबार
सङ्घसङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन काठमाण्डौं प्रशासनको निर्देशन
२०८३ असार २, मंगलबार
रास्वपाको महाधिवेशन भरतपुरमा, उद्घाटनमा ५० हजार सहभागी हुने अनुमान
२०८३ असार २, मंगलबार
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
२०८३ असार २, मंगलबार
रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न
२०८३ असार २, मंगलबार
सडक पूर्वाधार र यातायात क्षेत्रलाई बजेटमा प्राथमिकताः मुख्यमन्त्री पाण्डे
२०८३ असार २, मंगलबार