असार २, २०८३ मंगलबार June 16, 2026

ओली अहंकारको अवसान – हरि रोका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रधानमन्त्रीका रूपमा सात महिनादेखि प्रधानमन्त्री ओलीले नेपाली राजनीतिलाई जेनतेन घिसारिरहेका थिए । महामहिम राष्ट्रपति उनका लागि ‘रबरस्ट्याम्प’ भइदिनुभएको भान हुन्थ्यो । ओली अहंकारलाई नबुझेका मानिसहरूले सोचेका थिए, प्रम ओलीले फागुन ११, ०७७ को पुनस्र्थापनाको पहिलो फैसलापछि नैतिकताका आधारमा राजीनामा दिनेछन् र नयाँँ पुस्ताका राजनीतिज्ञका लागि नैतिकताको एक थान पाठ पढाउन उनले नयाँ राजनीतिक संस्कारको थालनी गर्नेछन् । तर, आफ्नै पौरखको वरपर आफ्नै संरक्षणमा हुर्किएको ‘दलाल नोकरशाही पुँजीवादी’ सञ्जालको आडभरोसामा राष्ट्रिय राजनीतिभित्र फोहोरी खेल सुरु गरे । महामहिम राष्ट्रपतिबाहेक उनलाई यस कार्यमा आन्तरिक र बाह्य सहयोग कसरी पाप्त भइरह्यो भन्ने संकेत त पाँच पूर्वप्रधानमन्त्रीहरूको पछिल्लो संयुक्त आह्वान वक्तव्यबाट प्रस्टै बुझ्न सकिन्थ्यो ।

संविधानमा भएका लुपहोलहरूको आफूअनुकूल व्याख्या गर्दै ओलीले आफ्नो सर्बसत्तावादी चिन्तनलाई व्यावहारिक रूप दिँदै गए । ठेक्कापट्टा, लिज, लाइसेन्स, पदहरूको पजनी, राजदूत तथा अन्य संवैधानिक नियुक्तिका यावत् काम संविधान र कानुनलाई छलेर कसरी व्यवस्थित गर्ने र आर्थिक तथा राजनीतिक फाइदा लिने भन्ने उनको सोच अझ तीव्र गतिमा बढ्दै गयो । उनमा सर्बसत्तावाद (एकलौटी शासन गर्ने मोह) डरलाग्दो गरी प्रकट भएसँगै विपक्षी पार्टीहरू मात्र होइन, स्वयं एमालेभित्रकै नेता कार्यकर्ताहरूको ठूलो पंक्ति विपक्षमा सामेल भएर उनलाई रोक्न बहुमत पु¥याएर गठबन्धन सरकारको दाबी गर्दागर्दै राष्ट्रपति महोदयले उनै ओलीलाई प्रधानमन्त्री बनाइदिनुभयो र ७ जेठ ०७८ को मध्यरातमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दिनुभो । एउटै कार्यकालमा एउटै प्रधानमन्त्रीले दुईपटक संसद् विघटन गरेको सायद संसारकै यो पहिलो रेकर्ड हुन सक्छ ।

राष्ट्रपतिले स्वेच्छाचारी प्रधानमन्त्रीको विघटन सिफारिसलाई दायाँ–बायाँ, लोक–लाज केही पनि ख्याल नगरी जब विघटनको छाप लाइदिनुभयो, त्यसको विपक्षमा अदालतको शरण जानुको अर्को विकल्प विपक्षीहरूसँग थिएन । अदालतले संविधानको धारा ७६(५) बमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घन्टाभित्र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । र, साउन ३ गतेभित्र पुनस्र्थापित प्रतिनिधिसभाको अधिवेशन बोलाउनसमेत आदेश दिएको छ । ११ फागुन ०७७ को निर्णयभन्दा एक कदमअगाडि बढेर कित्ताकाट गरिदिएपछि ओलीको ४१ महिने बहुलट्ठीपूर्ण शासनको अन्त्य भएको छ ।

सर्बोच्चको संवैधानिक व्याख्या

 नेपालको संविधान सहमतिको दस्तावेज हो । असन्तुष्टि र असन्तुलन हुँदाहुँदै पनि विशेष कारण र परिस्थितिमा यसलाई जारी गरियो । संविधान जारी गरेपछि ठूलो असहमति जनाइयो, आन्दोलन भयो । धेरैको हताहती र अंगभंग पनि भयो । अपूर्ण छ र जनहितमा परिष्कृत गर्दै लैजानुपर्छ भन्नेमा धेरैले ओठे सहमति जनाउने गरेका पनि छन् । तर, केमा कसरी पूर्ण बनाउने भन्ने विषयमा गहिरो खोज खनुसन्धान र सार्वजनिक बहसहरू भएका छैनन् । कतिपय लेखिएका सैद्धान्तिक कुराको व्यवहारमा कसरी व्याख्या गर्ने भन्ने समस्या पनि थिए । जस्तो, धारा ७६ कै १–७ सम्मको व्याख्याका बारेमा रहेको अस्पष्टता । सांसदहरूले ह्विप मान्नुपर्ने बाध्यात्मक प्रावधान हो या होइन भन्ने विषय । यस्ता विषयहरूको संवैधानिक व्याख्या आवश्यक थियो र छ ।

ओली र उनको एमालेपंक्तिले श्रमजीवी सर्वहारालाई धोका दिए । उनलाई सच्याउने त कोही निस्कनैपर्थ्यो । ओली अहंकार भुइँमा बजारिएको छ र अवसानउन्मुख छ । कथित दोस्रो पुस्ता ओलीपथकै अनुयायी हुने हो भने एमाले अवसानलाई कसैले रोक्न सक्तैन ।

प्रधानमन्त्री ओलीका हरेक संवैधानिक/असंवैधानिक कदममा साथ दिँदै आउनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले द्रुत गतिमै प्रधानमन्त्रीलाई सिफारिसमा साथ दिनुहुनेछ भन्ने अड्कल त काटिएको थियो । यद्यपि, पहिलो सिफारिस कार्यान्वयनलाई न्यायपालिकाले उल्ट्याइदिएको सन्दर्भमा फेरि उही गल्ती दोहोर्‍याउनुहुनेछैन, सांसदहरूको हस्ताक्षर ट्याली गर्नुहुनेछ, तथ्य, तथ्यांकलाई हेर्नुहुनेछ, सर्बोच्च अदालत, संविधानविज्ञ, धुरन्धर राजनीतिज्ञहरूसँग कम्तीमा परामर्श गर्नुहुनेछ भन्ने थियो । उहाँले सीधा–सीधा पक्षधरता लिनुभयो । संविधानमा एउटै व्यक्ति फरक–फरक सबै उपधारामा टेकेर कसरी प्रधानमन्त्री बन्न पाउँछ ? यसको संवैधानिक व्याख्या हुन जरुरी थियो ।

संविधानलाई संशोधनमार्फत कसरी अपडेट गर्ने भन्ने विषय सार्वभौम संसद्को हो । एउटै पार्टीको स्पष्ट बहुमतको सरकार बनेर संविधानको मर्म र भावनाअनुरूप लगभग तीन सयभन्दा बढी नयाँँ कानुन निर्माण र परिमार्जन गर्ने अवसर पाउँदा पनि ओली सरकारले संविधानको मर्म र भावनालाई समेट्न सकेन । न त संविधान जारी हुँदाका बखतका असन्तुष्टिलाई सम्बोधन गर्न संविधान संशोधनका लागि नयाँ प्रयत्न नै गर्‍यो । ०७७ को सुरुवातदेखि नै उसले अध्यादेशहरूको खेती सुरु गर्‍यो । गएको पुसदेखि त यो खेतीको विस्तार नयाँ प्रयोगका रूपमा नै विस्तार हुन पुग्यो । यी अध्यादेशमार्फत गरिएका अधिकांश निर्णय कार्यान्वयन हुँदा मध्यकालीन र दीर्घकालीन हिसाबले राज्यलाई पर्ने राजनीतिक तथा आर्थिक प्रभावको जिम्मेवारी कसले व्यहोर्ने भन्ने समस्या रहनेछ ।

संविधानमा राखिएका प्रावधानलाई व्याख्या गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने गरी केही नयाँ संस्थाहरूको निरूपण गर्नु थियो र केही पुराना संस्थाहरूलाई संघीयताअनुरूप फेरबदल गर्नु थियो । खासगरी, योजना आयोगका काम, कर्तव्य, अधिकारको विषय, वित्तीय आयोगको नयाँ संरचना निर्माणमा उसले तय गर्नुपर्ने भूमिका र तीन तहका सरकारबीच अधिकार प्रत्यायोजन तथा समन्वय गर्न आवश्यक राजनीतिक संयन्त्रको विकास तथा सुरक्षासँग सम्बन्धित सबै अंगहरूको संरचना तथा जिम्मेवारीको भूमिका निर्वाह गर्ने विषय, सामाजिक सेवा र विकासका क्षेत्रमा जिम्मेवारीको परिभाषा गर्नुपर्ने थियो । तर, ओली सरकारले यी सबै विषयमा पुरानै केन्द्रीकृत मानसिकता बनाएर अधिकारलाई प्रधानमन्त्री र अर्थ मन्त्रालयको सेरोफेरोमा कैद गर्‍यो । यी सबै विषयमा व्याख्या र विश्लेषण गर्न जरुरी थियो । खासगरी, राष्ट्रपति संविधानको संरक्षण गर्नेभन्दा भ्रष्टीकरण गर्नमा उद्यत् देखिएपछि संविधानको रक्षा कसरी गर्ने भन्ने सय करोडको प्रश्न खडा भएको थियो । जब सत्तारूढ प्रधानमन्त्रीको स्वेच्छाचारी शासन र संघीयताको मर्मविपरीत क्रियाकलापविरुद्ध प्रतिपक्षहरू एकजुट भएर अगाडि आए, त्यसपछि संविधानको मर्मको व्याख्या र समग्रमा संविधानको रक्षामा न्यायपालिका खरो उत्रियो ।

ओलीका बहुदलीय जनवादी परिभाषा

पुस ५ को संसद् विघटनलगत्तै अर्थात् ६ पुसमा नयाँ पत्रिकामा ‘संसद् विघटनसँगै ओलीको राजनीतिक अवसान’ विषयमा लेखिएको लेखमा मैले प्रधानमन्त्री ओलीको राजनीतिक यात्राबारे संक्षिप्त चर्चा गरेको थिएँ । म फेरि उनै कुरा उनका बारेमा दोहोर्‍याउन चाहन्न । यति यहाँ भन्नैपर्ने हुन्छ– प्रधानमन्त्री ओली राजनीतिका चतुर खेलाडी हुन् । धेरै विषयमा छिपछिपे ज्ञान राख्छन्, तर उनी सैद्धान्तिक तथा वैचारिक सुझबुझले भरीपूर्ण नैतिक आचरण भएका मानिस होइनन् । उनका अहिलेसम्मका काम कार्यवाही र व्यवहारले यही पुष्टि गर्छन् । दोस्रो, उनी कम्युनिस्ट विचारधाराप्रति लगाव भएर आमसर्वहारा श्रमजीवीको जीवनमा कायापलट ल्याउन कम्युनिस्ट बनेका थिएनन् । धेरै मानिस उनको उत्थान आधारभूत वर्गबाट भएको कुरालाई भट्याउँछन् । हो, उनी आधारभूत वर्गकै मानिस थिए । तर, कम्युनिस्ट पार्टीमा लाग्नुको कारण ‘पुँजीगत ईष्र्या’ थियो । सपाट शब्दमा, धनी र सम्पत्तिवालप्रतिको ईर्ष्या । उनी समाज रूपान्तरणका लागि होइन, धनीलाई मासेर आफू धनी बन्ने लालसाले कम्युनिस्ट भएका थिए । रामनाथ दहालदेखि सिपी र आरके मैनाली हुन् या कामरेड मोहनचन्द्र अधिकारीदेखि माधव नेपालसम्मका कामरेडहरूसँगको उनको सम्बन्ध कामरेडी होइन, ईष्र्याको थियो ।

ओली व्यक्ति होइन, प्रवृत्ति हो । यो प्रवृत्तिले एकलकाँटे समाज निर्माण गरेको छ । सर्वसाधारणको भाषामा १० प्रतिशत भर्सेस ९० प्रतिशतजस्तो, सन् २०११ को अमेरिकाको अकुपाइड मुभमेन्टको ९९ प्रतिशत भर्सेस एक प्रतिशतजस्तो । ओली प्रवृत्ति गठबन्धनका सबै नेतामा धेरथोर देखिन्छ ।

उनी धनले, सीप र चातुर्यले ती सबैलाई छोड्दै अगाडि बढे । उनी राजनीतिक शक्ति (पावर) हासिल गर्न चाहन्थे, कसैलाई पावर सेयरिङ गर्न होइन । सन् २०१५ मा पहिलोपटक पुष्पकमल दाहाल प्रचण्डसँग उनले सम्झौता गरे, तर सम्झौताअनुरूप पावर सेयरिङ गर्न नचाहेपछि त्यो सम्झौता भंग भएको थियो । हालसालै नेकपाको विघटन र फेरि एमाले माओवादी केन्द्रको पुनस्र्थापनाको मूल जड हेर्ने हो भने पावर सेयरिङ नै मूल कारण थियो, विभाजनको । अरूका कुरा छाडौँ, चार दशकभन्दा बढी समय संगत र सहकार्य गरेका माधव नेपाल र झलनाथ खनालसँग अलग्गिनुपर्ने अर्को कुनै सैद्धान्तिक, वैचारिक मतभेद थिएन र होइन । यो कुनै पक्षले पनि आजसम्म भनेका पनि छैनन् । पार्टी पद्धति, सहकार्य, सहभागिता तथा आफैँले स्थापना गरेका आधारभूत नियम पालन अरूका लागि मात्र तर उनी आफूलाई ती सबैभन्दा पर राख्ने र रहने चाहना उनमा कुटकुट भरिएको छ । उनको सोफा बस्ने स्टाइल, उनको मिटिङको सबैभन्दा भिन्न र अग्लो कुर्सी । यी कुनै कम्युनिस्ट वा वामपन्थी आचरण र व्यवहार होइनन् ।

बहुदलीय जनवादका बारेमा पनि मैले धेरैपटक आफ्नो राय व्यक्त गरेको छु । वास्तवमा बहुदलीय जनावाद सारमा उदारवाद (लिबरालिज्म)मा आधारित संसदीय व्यवस्था तर रूपमा वा आवरण माक्र्सवादी समाजवादी देखिन्थ्यो । मदन भण्डारी लिखित यो सिद्धान्त संसदीय पुँजीवादलाई जनवादको लेपन घसिएको कार्यक्रम थियो । जो अनिकालमा बिउ जोगाउन लगाइएको ठानिन्थ्यो । कामरेड ओलीको बहुदलीय जनवादसँग त्यति मात्र साइनो छ, जति उनलाई आवश्यक लाग्छ वा ठहरिन्छ । राष्ट्रिय सम्पत्तिको निजीकरण, जानीजानी एकाधिकारवादीहरूको पक्षपोषण, भ्रष्टाचार र व्यभिचारमा संलग्नता, प्राकृतिक स्रोतको दोहन, सम्पत्तिको एकोहोरो केन्द्रीकृत सञ्चिति, समाजवादका कुनै पनि रूपमा ग्राह्य विषय होइनन् । माक्र्सवादी कम्युनिस्ट साहित्य यी सब सामन्तवादी पुँजीवादी हथकण्डाविरुद्ध संघर्षलाई उत्पे्ररणा दिने शास्त्र हो । ओलीको बहुदलीय जनवादमा ठोरीका राम अटाउनुको अर्थ, सुनको जलहरीको अर्थ र अर्कातर्फ करोडौँ मानिस रोजगारविहीन हुनु, भोको हुनु र सडकमा भोकले पीडित भएर मर्नुपर्ने वातावरणको अर्थलाई केलाउँदा उनको सिद्धान्तको अर्थ के हो भन्ने बुझ्न सकिन्छ । भर्खरै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा ‘संघीयता र धर्मनिरपेक्षताको समीक्षा गरौँ’को प्रस्ताव उवका सर्वथा नजिकका अनुयायीबाट प्रस्तावित हुनुले पनि उनको बहुदलीय जनवाद कति क्यारेटको हो, बुझ्न गाह्रो पर्दैन ।

महासचिव मदन भण्डारीको देहावसानपछि एमालेले बहुदलीय जनवादलाई जे पनि झिक्न मिल्ने मनचिन्ते झोला बनायो । त्यसरी नै प्रशिक्षण गर्दै, भन्दै आयो । एमाले पार्टी आज माथि (केन्द्र)देखि तल आधारसम्म (बेस) मध्यमवर्गीय मौकापरस्तहरूको पार्टी बनेको छ । एकरूपता पनि देखिन्छ । आधारभूत परिवर्तनका खास मुद्दाहरू, जहाँ समाजवादउन्मुख समाज बनाउन संरचनागत परिवर्तन गरिनुपर्ने हो, त्यसको मुहान नै उहाँहरूको कब्जामा छ । जस्तो, शिक्षा र स्वास्थ्यको व्यापार, सडक तथा पूर्वाधार निर्माणको व्यापार, रियल इस्टेटको व्यापार, बैंक तथा वित्तीय क्षेत्रको व्यापार । गच्छेअनुसार तल वडा तथा गाउँपालिकाको अध्यक्ष व्यापारमा संलग्न छ । यहाँ पूर्वमहासचिव हालका उपमहासचिव आफैँ संलग्न हुनुभएको प्रमाण देखिएका छन् । महाधिवेशनमा दलाल पुँजीवादविरुद्ध संघर्षको दस्तावेज पास गर्ने तर खेतीचाहिँ यती, ओम्नी, बिएन्डसी आदिको गर्ने । सिद्धान्ततः ओली यस थेसिसका प्रवक्ता हुन्–होइनन्, थाहा छैन तर दलाल पुँजीवादको सञ्जालको कमान्ड भने उनको हातमा छ । यी सबै हरकतहरू छोपिँदै आएका थिए । एकीकृत सरकार बनेपछि एकपछि अर्को पर्दा च्यातिए । बहुदलीय जनवाद मुठीभर शासकहरू (संघ, प्रदेश र गाउँ/नगर) पुँजी सञ्चितिको साधनमा व्यवहारमै रूपान्तरित हुँदै आयो । तिनले सञ्चिति गरेको सम्पत्ति र बलमा ओली अहंकार चुलिँदै गयो, सर्वसाधारणहरूले तिनको मूल्य चुक्ता गर्नुपर्ने अवस्था सिर्जना भयो ।

सर्वोच्च अदालतले राजनीतिक फैसला गर्‍यो भन्ने एमालेको एउटा वृत्तको भनाइ बाहिरिएको छ । यो पंक्तिकार पनि सहमति राख्छ । मुद्दा राजनीतिक भएपछि फैसला राजनीतिक हुनु अस्वाभाविक होइन । ओली र उनको एमालेपंक्तिले श्रमजीवी सर्वहारालाई धोका दिए । उनलाई सच्याउने त कोही निस्कनैपर्थ्यो। ओली अहंकार भुइँमा बजारिएको छ र अवसानउन्मुख छ । कथित दोस्रो पुस्ता ओलीपथकै अनुयायी हुने हो भने एमाले अवसानलाई कसैले रोक्न सक्तैन ।

के सिक्ने देउवा र गठबन्धनले ?

शेरबहादुर देउवा कुनै दूधले नुहाएका सात्विक लोकप्रिय व्यक्ति होइनन् । अहिले देउवा जुन उचाइमा उक्लिन पुगेका छन्, त्यो अरू वाम–प्रजातान्त्रिक शक्तिकै आडमा प्रधानमन्त्रीका रूपमा अगाडि सारिएको हो र अदालतले लोकतान्त्रिक गणतन्त्रका लागि एकबद्ध भएर आएका पार्टीहरूको सामूहिक स्वरलाई सम्बोधन गरेको हो । एक महिनाभित्र उनले विश्वासको मत लिनुपर्छ । यस अर्थमा, उनको सबैभन्दा ठूलो जिम्मेवारी आफ्ना सहयात्रीहरूसँगको एकतालाई कसरी अक्षुण्ण राख्ने, पावर सेयरिङको भरपर्दो सूत्र कसरी तयार पार्ने भन्ने नै हो । नेपालको व्यक्तिगत इगोको समस्या सबैभन्दा ठूलो हुने गरेको छ । त्यसलाई हल गरेन भने अहिलेको अलायन्स पानीफोकाझैँ फुट्न बेर छैन ।

दोस्रो, महामारीलाई नियन्त्रण गर्ने योजना के हुन सक्छन्, सम्भावित भोकमरीलाई टार्ने उपायहरू के हुन सक्छन्, बालबालिकाको शिक्षामा भएको क्षतिलाई कसरी सम्बोधन गर्न सकिन्छ, फजुल खर्चलाई कसरी कम गर्न सकिन्छ, दण्डहीनता र असुरक्षालाई तत्काल नियन्त्रण कसरी गर्न सकिन्छ, कालोबजारी र महँगीलाई कसरी नियन्त्रण गर्न सकिन्छ, सम्बोधन गर्न जरुरी छ । तेस्रो, सर्वोच्च अदालतले जुन सामाजिक न्याय र लोकतन्त्रको संस्थाकरणलाई बल पुग्ने गरी व्याख्या पस्किएको छ, त्यसअनुरूप संविधानमा घोषित लक्ष्य समाजवादउन्मुख समाज कसरी बनाउन सकिन्छ र स्थापित गर्न सकिन्छ भनेर खोज्ने नै हो । लोककल्याणकारी राज्यको अवधारणा र समाजवादउन्मुखतालाई कस्ता सुधारमार्फत, कस्ता संरचनामार्फत खोज्ने भन्ने हो ।

हामी सबैलाई थाहा छ, ओली विपक्षमा बनेको यो गठबन्धन राजनीतिक रूपले एक भएको हो, तर अब उसले सर्वसाधारण जनतालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारीमा पुगेको छ । त्यस्तो जिम्मेवारी सिंगल–सिंगल मन्त्रालयको भागबन्डाले सम्हाल्न र सम्बोधन गर्न सम्भव हुन्न । त्यसका लागि कम्तीमा साझा न्यूनतम कार्यक्रम (कमन मिनिमम प्रोग्राम) तयार पार्नुपर्ने हुन्छ । त्यसमा प्रतिबद्धता जाहेर गरेर मात्र पुग्दैन, संस्थागत कार्यान्वयनको आधार खोज्नुपर्ने हुन्छ । ओली व्यक्ति होइन, प्रवृत्ति हो । यो प्रवृत्तिले एकलकाँटे समाज निर्माण गरेको छ । सर्वसाधारणको भाषामा १० प्रतिशत भर्सेस ९० प्रतिशतजस्तो । सन् २०११ को अमेरिकाको अकुपाइड मुभमेन्टको ९९ प्रतिशत भर्सेस एक प्रतिशतजस्तो । गठबन्धनका सबै नेतामा ओली प्रवृत्ति धेरथोर देखिन्छ । अहिले अति खराब (वस्र्ट) ओलीभन्दा कम खराब (ब्याड) शेरबहादुर रोजिएको हो । व्यक्तिवादी प्रवृत्ति नत्याग्ने हो भने ओली अहंकारको अवसानजस्तै अरूको अवसान पनि सुनिश्चित हुने पक्कापक्की छ । -नयाँपत्रिका दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न
२०८३ असार २, मंगलबार
सडक पूर्वाधार र यातायात क्षेत्रलाई बजेटमा प्राथमिकताः मुख्यमन्त्री पाण्डे
२०८३ असार २, मंगलबार
कालीकोटको पलाँतामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, ७४६ नागरिक लाभान्वित
२०८३ असार २, मंगलबार
स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो
२०८३ असार २, मंगलबार
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
२०८३ असार २, मंगलबार
रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ
२०८३ असार २, मंगलबार
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
२०८३ असार २, मंगलबार