असार २६, २०८२ बिहिबार July 10, 2025

परिस्थितिले गरेको संकेत – जगदिश दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वर्तमान राजनीतिक घटनाक्रमले धेरै कुरालाई प्रतिबिम्बित गरिरहेको छ। पछिल्ला केही दिनमा विकसित घटनाहरूले विभिन्न संकेत गरेका छन्। कतिपय घटना अचम्मलाग्दा छन् त केही स्वाभाविक।मुलुककोभौगोलिक बनोट र आर्थिक स्थितिका कारण हामी अन्य देशसँग परनिर्भर छांै। जसका कारण दातृराष्ट्रले हाम्रो मुलुकमा विभिन्न किसिमका इच्छा, चाहना अनुसारको चलखेल गर्न सफल भइरहेका छन्। त्यसैको उदाहरण हो एमसीसी परियोजना।

दातृराष्ट्र वा दातृनिकायले दिने अनुदानबाट चल्ने भनिने त्यस्ता धेरै परियोजना छन्, जुन झट्ट हेर्दा विकास र अर्थतन्त्रसँग जोडिन्छन्। तर, त्यसभित्र राजनीतिक इच्छा वा उद्देश्य र राजनीतिक शक्तिसँग जोडिएर काम भइरहेको देखिन्छ। यसरी बुझ्दा छिमेकी मुलुकहरू भारत, चीन र ठूलो शक्ति राष्ट्र अमेरिका हाम्रो मुलुकलाई धेरै महत्त्वका साथ हेर्छन्।चाहे त्यो जे सुकै कारणले होस्, हाम्रो मुलुकभित्र आफ्नो अनुकूल राजनीतिक शक्ति, राजनीतिक नेतृत्व, राजनीति नेता र राज्यका महत्त्वपूर्ण निकाय संवैधानिक निकायको नेतृत्व र सुरक्षा निकायसम्म पनि आफूअनुकूल चाहन्छन्। यो कुरा विगतका दशकदेखि नै सबैलाई महसुस भएकै हो। अहिलेको राजनीतिक घटनाक्रम जसरी विकास भएको छ, यसलाई त्यसैको उपज मान्न सकिन्छ।

अमेरिका र पश्चिमा शक्तिलाई चुनौति दिइरहेको चीनको सीमा नेपालसँग जोडिएको हुनु तथा पश्चिमा शक्तिले चीनलाई काउन्टर दिन एसियामा आफ्नो सहयात्री बनाएको भारतको नेपालसँग खुला सीमा हुनु शक्तिकेन्द्रको प्राथमिकतामा नेपाल पर्नुको मुख्य कारण हो।नेपालको भौगोलिक अवस्थिति सामरिक हिसाबले यी शक्ति राष्ट्रका लागि यतिसम्म महत्त्वको छ कि उनीहरू नेपालमा आफूअनुकूलको सरकार चाहन्छन्। र, यसका लागि उनीहरू जुनसुकै हदसम्म जान तयार हुन्छन्।दुईतिहाई बहुमतको बलियो सरकारलाई समेत ढलाउनु चानचुने कुरा थिएन। तर, सरकार ढली छाड्यो वा ढलाइछाडियो। नेपाली जनताले केपी ओली सरकार पाँच वर्षसम्म टिक्ला भन्ने अपेक्षा गरेका थिए। तर, त्यसो हुन सकेन।सरकार ढलाउन सत्ताधारी पार्टीलाई नै विभाजित पार्न सक्ने शक्तिअभ्यास समेत नेपालमा भयो। यो नै शक्ति केन्द्रले नेपालको राजनीतिक नेतृत्व परिवर्तनका लागि कतिसम्म शक्ति लगाउन सक्छन् भन्ने बलियो उदाहरण हो।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली उनको कार्यशैली, उनको अभिव्यक्ति शैलीसबैले सहजै रुचाउने र पचाउने किसिमको पनि थिएन। त्यसमा पनि उनका नेतृत्व तहका नेताहरू जसलाई उनले फकाइ फुल्याइ समेटेर सत्ता चलाउनुपथ्र्यो। त्यो उनले गरेनन्, गर्न चाहेनन्अथवा आवश्यक ठानेनन्। त्यसैलाई विदेशी शक्तिले सत्ताको नेतृत्व परिवर्तनको भर्‍याङ बनायो।यो अहिलेको वास्तविक राजनीतिक घटनाको मुख्य कारण हो। हुनसक्छ, यस्ता अरू धेरै कारण होलान्। निवर्तमान प्रधानमन्त्रीका क्रियाकलाप, भ्रष्ट र भ्रष्टाचारी आसेपासेलाई दिएको संरक्षण कमीकमजोरीलाई ढाकछोप गर्ने तरिका, अयोग्य, असक्षम र अस्वाभाविक नियुक्तिका कुराहरूपनि केही कारण हुन्।ओलीप्रतिको इष्र्या, डाहा पनि अर्को कारण हुनसक्छ।तर, जे होस्अहिलेको देशको अवस्था, मुलुक र इमान्दार नेपाली जनताका लागि पक्कै राम्रो भएन।शान्ति, सुव्यवस्था र स्थायित्व नेपाल, नेपाली जनता र समृद्ध नेपाल सुखी नेपालीका लागि अति आवश्यक कुरा हो।

दातृराष्ट्र वा दातृनिकायले दिने अनुदानबाट चल्ने भनिने त्यस्ता धेरै परियोजना छन्, जुन झट्ट हेर्दा विकास र अर्थतन्त्रसँग जोडिन्छन्। तर, त्यसभित्र राजनीतिक इच्छा वा उद्देश्य र राजनीतिक शक्तिसँग जोडिएर काम भइरहेको देखिन्छ।

तर, लामो राजनीतिक अनुभव भएका धेरै पटकको सरकारको नेतृत्व लिएर सरकार सञ्चालन गरेको अनुभव भएका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको सत्तारोहण संसदीय पद्धति र संसदीय प्रजातन्त्रप्रति आस्था राख्ने देशीविदेशी जोकोहीलाई पनि जति खुसी लाग्नुपथ्र्यो, त्यति खुसी हुन सक्ने अवस्था भने रहेन।यसकारण पनि रहेन कि एउटा त प्रारम्भमै जनादेशको प्रधानमन्त्री नभएर परमादेशको प्रधानमन्त्री भन्ने विश्लेषण राष्ट्रपति कार्यालयदेखि सामान्य जनसमुदायसम्मको बुझाइ रह्यो। यस विषयमा ओलीले त खुलेरै भाषण गरे।अर्को सम्मानित सर्वोच्च अदालतको संसद् पुनःस्र्थापना र प्रधानमन्त्री नियुक्ति सम्बन्धी फैसला सर्सर्ती अध्ययन गर्दा र सर्वोच्च अदालतसमक्ष उपस्थित भएर रिट निवेदन दायर गर्ने प्रतिनिधिसभाका सदस्यहरू जो नेकपा एमालेको चुनाव चिन्हबाट चुनाव जितेका थिए।

माधव नेपालसहितका २३ जनाले अदालतसमक्ष उपस्थित भएर दिएको हस्ताक्षर प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाउँदा सुनाउँदै हामी गठबन्धनबाट बाहिरियौं। हामी गठबन्धनमा छैनौं र आउने दिनमा बन्ने सरकारलाई विश्वासको मत पनि दिँदैनौं भन्दा सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासलाई ढाँटेको, झुक्याएको सहजै जो कोहीलाई महसुस हुने कुरा भयो। एक महिनामा विश्वासको मत पाउने अवस्था नदेख्दा देख्दै आएको सर्वोच्चको फैसलालाई कसरी बुझ्ने ?हामी विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन चाहिने संख्या पुर्‍याउन समर्थन दिन र हस्ताक्षर गरौं भनेर अदालतमा जाने, अदालतको निर्णयमा प्रभाव पार्ने अनि अदालतले निर्णय दिएपछि हामी सरकार बनाउने कुुरामा छैनौं। सहयोग पनि गर्दैनौं, विश्वासको मत पनि दिन्नौं भनेर वक्तव्य दिनुबाट माधव नेपालजस्तो व्यक्तित्व र उनीजस्ता सांसद सदस्यले अदालतलाई झुक्याएकोमा कारबाही हुनुपर्ने हो कि होइन?यो गम्भीर विषय हो।

शान्ति, सुव्यवस्था र स्थायित्व नेपाल, नेपाली जनता र समृद्ध नेपाल सुखी नेपालीका लागि अति आवश्यक कुरा हो ।

अदालतले निर्णय दिँदै गर्दा अदालतको निर्णयले संविधानको ७६ को उपधारा ५ को सरकार गठनका लागि समर्थन दिने जो कोही दलको सांसद स्वतन्त्र हुन्छ, समर्थन दिन सक्छ। दलको ह्वीप लाग्दैन र त्यसरी समर्थन गर्ने सांसदलाई दलले कारबाही गर्न पाउँदैन भन्ने अदालतको निर्णय र आदेश हुँदा यसबाट धेरै कुराको प्रश्न आमनागरिकमा सृजना भएको छ। यो नजिरले त नेपालको निकट भविष्यमै असर गर्ने देखिन्छ। कसैकसैले त यसलाई निर्दलीय शासन व्यवस्था सुरु भयो भनेर पनि औंल्याएका छन्। के अब नेपालमा दलको कुनै महत्व हुँदैन ? जुन दलको चुनाव चिन्ह प्रयोग गरेर आएका सांसद छन्, उनीहरूले पार्टीको निर्णय नमान्ने र नमानेकालाई कारबाही गर्न पनि नपाउनु कतिको न्याय संगत हो ? अदालतको निर्णय हो त्यसमा हामिले प्रश्न उठाउन नमिल्ला तर के यसले निकट भविष्यमा राम्रो नजिर बसाल्छ त ? अहिलेसम्मको हेराई र बुझाइले भने त्यो संकेत त गर्दैन।

एक त प्रधानमन्त्रीले राष्ट्रको ढुकुटी दोहन गर्ने र सांसद खरिद बिक्री हुन सक्ने कुरा रह्यो। अर्को प्रधानमन्त्रीले कसैको दबाब वा बाध्यतामा राष्ट्र र नागरिकमाथि गम्भीर आघात पर्ने किसिमको जानेर वा नजानेर खुसीले वा दबाबले, संसद्द्वारा पारित गर्न दबाब दिए भने त्यस्तो प्रस्तावको समर्थन दिँदा त्यस बेलाको अवस्थामा के हुने? यो अझ धेरै गम्भीर विषय हो।यस्तै क्रियाकलापबाट लेन्डुप दोर्जे त जन्मिने होइन। यतातर्फपनि गम्भीर भएर सोच्न जरुरी देखिन्छ। यसैगरी सर्वोच्च अदालतको फैसलापछि यो फैसलाले गरेका निर्णय र औंल्याएका कुरा गम्भीर रूपले अध्ययन र मनन् गर्ने हो भने मुलुकलाई धेरै ठूलो र गम्भीर किसिमको प्रभाव पार्ने खालका प्रावधानहरू देखिन्छन्। यसमा सबै राजनीतिक दल, नेता र आमनागरिक गम्भीर हुनु जरुरी छ।अर्को कुरा अदालतको फैसलापछि सत्ता त्याग गर्न पुगेका ओली त्यसको भोलिपल्ट हजारौं कार्यकर्ताको स्कटिङका साथ बालकोट फर्किए।घरको बालकोनीबाट विभिन्न कुराहरू सम्बोधन गरे, त्यसले दिएको संकेत के हो त ? सत्ता छोड्न बाध्य भएका ओलीले कसका लागि शक्ति देखाए ? त्यस विषयमा पनि केही सोच्नु जरुरी छ।

जसले अहिलेको सरकारलाई बचाउन जोगाउन, विश्वास दिलाउन प्रतिवद्धता दिइरहेका थिए। अहिले उनीहरू टाढिन खोजेको महसुस भइरहेको छ। तराई केन्द्रित दलका नेता लक्ष्मणलाल कर्णले हामी बौलाएका छौं र यो सरकारलाई विश्वासको मत दिन्छौं जस्तो अभिव्यक्तिले पनि केही फरक कुराको संकेत गर्छ। यी कुराहरूलाई हेर्दा देउवालाई सफल बनाउन तथा जनतालाई सेवा दिन ल्याइएको सरकार नभएर, ओली नै देशका लागि उपयुक्त पात्र रहेछन् भन्ने बनाउन चालिएको रणनीति जस्तो देखिन्छ। होला यो हाम्रो बाहिरी सोचाइ तर अहिलेको अवस्था परिस्थितिले त्यस्तै संकेत गरेको छ। अब भोलिका दिनमा हुँदै जाने गतिविधिले अवस्थालाई अझ स्पष्ट पार्दै जाला। अन्नपूर्णपोष्टबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया