कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

हरफहरूबीचको नेपाली राजनीति – प्रा. कृष्ण पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गत साता सर्वोच्च अदालतबाट भएको युगान्तकारी फैसलाले एकसाथ संविधान, लोकतन्त्र र कानुनीराजको आधारभूत मान्यतालाई जोगायो र निरंकुशताको बेलगाम घोडामा सवार भई हिनहिनाइरहेको एक दम्भी शासकलाई उसको वास्तविक औकातमा झारिदियो । यदि त्यो फैसलाले प्रतिनिधिसभा मात्र पुनस्र्थापित गरेको भए नेपाली राजनीतिमा फेरि तिकडमवीरको राइँदलो चल्थ्यो र राष्ट्रिय राजनीति पुनः दिशाहीन हुन्थ्यो ।

त्यसैले, सर्वोच्च अदालतले १४६ सांसदको मागदाबीको जसरी सम्बोधन गर्‍यो, त्यही नै यो फैसलाको चुरो हो । यसले राष्ट्रपतिको संवैधानिक दायरा मात्र देखाएन, प्रधानमन्त्रीबाट भएको संविधानमाथिको जालसाजी पनि उदांगो पारिदियो । यो संविधानको व्याख्या त हो नै साथमा राजनीतिक संविधानवादका विद्यार्थी र यसका अध्येताका लागि पठनीय र संग्रहणीय दस्तावेज पनि हो ।

शक्ति पृथकीकरण कि न्यायिक स्वतन्त्रता ? :  यतिवेला यस फैसलाबाट अपदस्थ हुन पुगेको पक्षले अदालतको फैसलाबारे लगाएका एक–दुई आरोपको विवेचना गर्नु यहाँ वाञ्छनीय नै हुनेछ । जस्तो कि यस फैसलाले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको आधारभूत मान्यतालाई भत्काइदियो रे ! पहिलो कुरा के बुझौँ भने सिद्धान्ततः शक्ति पृथकीकरण भनेको राष्ट्रपतीय शासनको प्रमुख गुण हो ।

किनकि, त्यहाँ कार्यपालिका र विधायिकाको बेग्लाबेग्लै निर्वाचन हुन्छ । न त्यहाँ राष्ट्रपति विधायिकाले बनाउँछ न त राष्ट्रपतिले विधायिका भंग गर्न पाउँछ । त्यहाँ त आ–आफ्नो अधिकार क्षेत्रको दायरामा बसेर सरकारका तीनै अंगले काम गर्छन् । तीमध्ये कुनै एकले सीमा नाघ्यो भने अर्कोले आफ्नो अधिकार प्रयोग गरेर नियन्त्रण गर्छ र सन्तुलन कायम गर्छ । संसदीय व्यवस्थामा भने कार्यपालिकाको जन्म विधायिकाको गर्भबाट हुन्छ र त्यसले विश्वास गरुन्जेल कार्यपालिका सत्तामा बस्छ र विश्वास गरेन भने बाहिरिन्छ । वस्तुतः त्यहाँ कार्यपालिका र विधायिकामाझ शक्तिको ‘फ्युजन’ हुन्छ । त्यसैले त्यहाँ न्यायिक स्वतन्त्रताको व्यवस्था गरिएको हुन्छ । र त्यही स्वतन्त्रताको प्रयोग गरेर न्यायपालिकाले संविधान र नागरिकका मौलिक अधिकार संरक्षण गर्छ ।

विचारच्यूत भएपछि र नेतृत्व गलत मान्छेको हातमा परेपछि सत्ताको शिखरमा पुगेको र जनताले पत्याएको राजनीतिक दल पनि पतन भएर कहाँ पुग्दो रहेछ भन्ने विषयको ‘केस’ बनेको छ यतिवेला एमाले ।

यस सैद्धान्तिक मान्यताको आलोकमा हेर्दा नेपालमा न्यायपालिकाले अभ्यास गरेको न्यायिक स्वतन्त्रता हो र त्यो कुनै शासकको निगाहले होइन, संविधानले प्रदान गरेको हो । संविधानको धारा १२८ मा भनिएको छ– संविधान र कानुनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुनेछ । थप के पनि भनिएको छ भने सर्वोच्च अदालतले गरेको संविधान र कानुनको व्याख्या वा प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालन गर्नुपर्नेछ । र, सर्वोच्च अदालतले न्यायसम्पादन गर्दा यो संविधान र मुलुकमा प्रचलित अन्य कानुनका आधारमा मात्र होइन, न्यायका मान्य सिद्धान्तबमोजिम पनि गर्न पाउँछ (धारा १२६) । यो ऐतिहासिक परमादेशमा नेपालको सर्वोच्च अदालतले आफ्नो त्यही संविधानप्रदत्त अधिकार प्रयोग गरेको हो र संविधानविपरीत बेलगाम कुदिरहेको कार्यपालिकामाथि वाञ्छनीय अंकुश लगाएको हो । लिकबाट उत्रेको राष्ट्रिय राजनीतिलाई पुनः लिकमा ल्याएको हो ।

निर्दलीयताको कृत्रिम भय : रह्यो धारा ७६ (५)को व्याख्याको सवाल । संविधानको एक विद्यार्थीका हैसियतले हेर्दा यस्तो व्यवस्था मैले अन्यत्र कतै देखेको छैन । अझ संसदीय शासन भएको मुलुकमा त झनै देखेको छैन । त्यस मानेमा यो नेपालको संविधानको अनौठो विशेषता हो । त्यसैले त यसलाई हामीले सुधारिएको संसदीय व्यवस्था भनेका हौँ । प्रतिनिधिसभाले सरकार दिन सकुन्जेल त्यसलाई त्यसको कार्यकालभरि भंग गर्न नपाइने यो बन्दोबस्त प्रकारान्तरमा बेलायतको ‘फिक्स टर्म पार्लियामेन्ट एक्ट’सँग मिल्छ । संविधान निर्माताहरूले यो पक्का पनि भाङको नशामा विनाकुनै सुझबुझ राखेका होइनन् । अब संविधानमा त्यसको व्यवस्था छ भने त्यसको प्रयोग त हुन्छ नै र प्रयोग गर्दा कुनै जटिलता आयो वा विवाद भयो भने संविधानतः त्यसको व्याख्या गर्ने एक मात्र निकाय भनेको सर्वोच्च अदालत नै हो ।

हो, त्यही व्याख्या गर्दा उसले ‘दलीय ह्विप आकर्षित नहुने’ व्याख्या गर्‍यो । ओहो ! यसले त अब मुलुकमा निर्दलीयता आउने भो वा पञ्चायतै फर्कने भो भनेर कोकोहोलो मच्चाउनुको कुनै तुक छैन, किनकि अन्य कुनै धाराको प्रयोग वा संसदीय अभ्यासमा ह्विप नलाग्ने भनेको छ र यो फैसलाले ? बडो लोकतन्त्रको वकिल बनेर सांसदले विवेक प्रयोग गर्ने विषय लोकतन्त्रविपरीत हुन्छ भनेर रडाको मच्चाइँदै छ यतिखेर । यिनलाई बताऊँ, अमेरिकामा त्यहाँका सांसदमाथि ह्विप लगाउने व्यवस्थै छैन । त्यहाँ तिनले सधैँ आफ्नो विवेक प्रयोग गर्छन् । त्यसैले एउटा पार्टीको राष्ट्रपति र अर्को पार्टीको कांग्रेसमा बहुमत हुँदा पनि विनाकुनै ठूलो गतिरोध सरकार चलेकै छ, त्यहाँ लोकतन्त्र सकिएको छैन त ! अनि हाम्रोमा चाहिँ धारा ७६(५)को प्रयोगमा ह्विप नलाग्नेबित्तिकै संविधानै सकिन्छ अनि लोकतन्त्र नै मासिन्छ र ?

वस्तुतः सर्वोच्च अदालतमाथि यी र यस्ता अन्य सबै आरोप फत्तुर मात्र हुन् । पराजयका उपज हुन् । रिसाएको बिरालोले खाँबो चिथोरेबराबर हो ।

पार्टीलाई वामपन्थीबाट रामपन्थी बनाउनेले कम्युनिस्ट विचारसँग पटक्कै नसुहाउने सामन्ती संस्कारअनुसारको ‘बा’ संस्कृति भित्र्याएर पार्टीभित्रका अनेकौँ होनहार दोस्रो पुस्ताका नेताहरूको व्यक्तित्वको क्षय गराई तिनलाई निरीह अनुचर बन्नुपर्ने अवस्थामा पुर्‍याए । 

बिचरा एमाले ! :  विचारच्यूत भएपछि र नेतृत्व गलत मान्छेको हातमा परेपछि सत्ताको शिखरमा पुगेको र जनताले पत्याएको राजनीतिक दल पनि पतन भएर कहाँ पुग्दो रहेछ भन्ने विषयको ‘केस’ बनेको छ यतिवेला एमाले । यो पार्टीको जीवनमा अनेक संकट आए । असल नेतृत्वको हातमा पर्दा वर्गशत्रुको रगतले हात नरंगिउन्जेल सच्चा कम्युनिस्ट होइँदैन भनी सफायाको बाटोमा हिँडेको यही पार्टी पछि पञ्चायती चुनावमा जनपक्षीय हस्तक्षेप गरेर राष्ट्रिय राजनीतिलाई तरंगित पार्ने ठाउँमा आइपुग्यो । संसारमा साम्यवाद प्रतिरक्षात्मक भएका वेला जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरेर सगरमाथाको देशमा पहिलोपटक निर्वाचनका माध्यमबाट कम्युनिस्ट प्रधानमन्त्री दिन सफल भयो । महाकाली सन्धिपछि विभाजित भएर २०५६ सालमा पराजित भए पनि पुनः उठ्यो र यहाँसम्म आयो । सिपी मैनालीबाट प्रारम्भ भएको नेतृत्व झलनाथ खनाल, मदन भण्डारी, माधव नेपाल, पुनः झलनाथ खनाल हुँदै केपी ओलीसम्म आइपुग्यो । तर, विडम्बना यिनकै पालामा एमाले सफलताको चूडान्तमा पुग्यो पनि र समयअगावै खुर्मुरिएर पिँधमा झर्‍यो ।

यिनैले पार्टीमा दोहोरो संवादको पद्धति र भिन्न विचारप्रतिको सहिष्णुताको संस्कृतिलाई बन्देज गरे र संगठनलाई हुकुमी शैलीमा सञ्चालन गर्न थाले । पार्टीलाई विचारशून्य त बनाए नै, त्यसलाई वामपन्थीबाट रामपन्थी पनि बनाए, र कम्युनिस्ट विचारसँग पटक्कै नसुहाउने सामन्ती संस्कारअनुसारको ‘बा’ संस्कृति भित्र्याए । पार्टीभित्रका अनेकौँ होनहार दोस्रो पुस्ताका नेताहरूको व्यक्तित्वको क्षय गरी तिनलाई निरीह अनुचर बन्नुपर्ने अवस्थामा पुर्‍याए । हुँदाहुँदा यो पार्टी आफ्नो जीवनकै अत्यन्त कठिन अक्करमा पुगेको छ र विभाजित हुने हो वा बौरिने हो, यसै भन्न सकिने अवस्था छैन । संसदीय कम्युनिस्टहरूको एउटा कित्ता सरकारमा र अर्को कित्ता त्यसविरुद्ध संघर्षमा उत्रिनुपर्ने खण्ड आयो । सबैभन्दा विचित्र त के भने त्यसरी संघर्षमा ध्रुवीकृत भई सरकारविरुद्धको मोर्चामा उनकै पार्टीका नेता र ठूलो पंक्ति मैदानमा उत्रने अवस्था आयो । तर, जबसम्म यो पार्टीले आत्ममन्थन र आत्मनिरीक्षण गर्दैन यो विद्रुप अवस्थाले किनार पाउने देखिँदैन ।

नयाँ सरकारका अवसर र चुनौती : अब एकपटक नयाँ सरकारतर्फ नियालौँ । अहिले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्दा उनीसँग जनताको न कुनै ठूलो अपेक्षा छ न त्यति ठूलो कुनै माग नै छ । राजनीतिक विडम्बना नै भन्नुपर्ला, यही स्थिति नै उनका लागि सबैभन्दा अनुकूल स्थिति बनेको छ । त्यसैले, अलिकति सकारात्मक काम गरे पनि वाहवाही पाउने अवस्था छ । उनले भ्याक्सिनको उचित जोहो र समन्यायिक वितरण गर्न सके भने पुग्छ । कोभिडको सम्भावित तेस्रो लहर आउँदा उनको मुख विगतका प्रधानमन्त्रीको झैँ पतरपतर नबोलेर उनको काम बोले पुग्छ । कोभिडले थला पारेका मुलुकका मजदुर एवं निमुखा जनतालाई तत्काल आर्थिक प्याकेज दिन सके भने र मारमा परेका यातायात व्यवसायी, पर्यटन व्यवसायी तथा अन्य मझौला उद्यमीलाई राहतको मलम लगाउन सके भने पुग्छ । विगतको सरकारझैँ भ्रष्टाचारमा नडुबे पुग्छ । निर्माण अधुरो रहेका राष्ट्रिय गौरवका आयोजनामा काम खुरुखुरु गर्ने र कामै नसकी उद्घाटन गरेर हाँडीगाउँको जात्रा देखाउने निर्लज्ज लोभबाट जोगिएर साँच्चै काम सकिएपछि मात्रै उद्घाटन गर्ने सुग्घर परम्परा पुनः थाले पुग्छ ।

देउवासामु सबैभन्दा ठूलो चुनौती नै विश्वासको मत पाउनु थियो । त्यो खड्गो उनले सहजै पार गरे । आफ्नो पुरानो ट्र्याक रेकर्ड पनि उनका लागि चुनौती नै हो । त्यसबाट बाहिर निस्केर गठबन्धनलाई जोगाउने, आफ्नै पार्टी र गठबन्धनका अन्य साझेदारहरूको अकांक्षामाझ उचित समन्वय गर्ने चुनौती छ । राजनीतिमा तालमेल गर्ने र सम्झौता गर्ने मामिलाका देउवा माहिर खेलाडी हुन् । तर, यतिवेला मन्त्रिमण्डल जम्बो बनाएर विगतको जस्तो विकृत परम्परालाई प्रश्रय दिने छुट उनलाई छैन । यो गठबन्धनका हिस्सेदारहरूका चासोको सम्बोधन गर्न न्यूनतम साझा कार्यक्रम र उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर अघि बढ्नु नै यतिवेलाको निरापद बाटो हो ।

अघिल्लो सरकारले थुुपारेका विकृतिका डंगुरलाई बढार्ने काम पनि चुनौतीपूर्ण नै छ किनकि यतिवेला संसद्को सबैभन्दा ठूलो पार्टी प्रतिपक्षमा छ र तुलनात्मक रूपमा कम भूमिका भए पनि राष्ट्रिय सभामा ऊ बहुमतमा छ । कुरा त्यहीँ सकिँदैन, त्यो आफ्नै कर्तुतका कारण बलात् सत्ताच्यूत भएर प्रतिपक्षमा बस्नुपरेकाले ऊ घाइते बाघजस्तो भएको छ । त्यसैले प्रतिपक्षलाई ‘गुड ह्युमर’मा राखेर काम गर्ने कौशल विकास गर्नु पनि एउटा चुनौती नै हो । आशा गरौँ, यी चुनौतीलाई पार गर्दै नवगठित सरकारले निरापद रूपमा अर्को निर्वाचनसम्म मुलुकलाई पुर्‍याउनेछ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार
२०८२ कार्तिक १४, शुक्रबार
गण्डकी प्रदेशमा यसै वर्ष शतप्रतिशत विद्युत् पहुँच पुग्ने मुख्यमन्त्रीको दाबी
२०८२ कार्तिक १४, शुक्रबार
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार
लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमपातः पर्यटक उत्साहित
२०८२ कार्तिक १४, शुक्रबार
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
२०८२ कार्तिक १४, शुक्रबार
भारत–अमेरिका बीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर
२०८२ कार्तिक १४, शुक्रबार
एमालेका सचिवालय सदस्य भट्टले परित्याग गरे पार्टी
२०८२ कार्तिक १४, शुक्रबार