काठमाण्डौः समाजवादी पार्टीले देशब्यापी माघको पहिलो सातादेखी संगठन बिस्तार अभियानलाइ तिब्र पार्ने भएको छ ।
देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण गर्ने र पार्टीको विचार जनताको बिचमा लैजाने उद्देश्यका साथ समाजबादीले आगामी माघ ३ गतेदेखि ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)-२०२०’ सञ्चालन गर्ने भएको छ ।
समाजवादी पार्टीका सह-अध्यक्ष तथा विसु अभियानका संयोजक राजेन्द्र श्रेष्ठको अगुवाइमा हुने अभियानले माघ ३ गते सातवटै प्रदेशबाट एकसाथ अभियानको उद्घाटन गर्ने जनाएको छ । अभियानको उद्घाटनका लागि सो पार्टीका शीर्ष नेताहरु सातै प्रदेशका कार्यक्रममा सहभागी हुनेछन् ।
प्रदेश नम्वर १ मा वरिष्ठ नेता अशोक राईले अभियानको उद्घाटन गर्नेछन् । प्रदेश नं २ मा केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव, प्रदेश नं ३ मा सह-अध्यक्ष राजेन्द्र श्रेष्ठ, प्रदेश नं ४ (गण्डकी प्रदेश) मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, प्रदेश नं ५ मा उपाध्यक्ष नवराज सुवेदी, प्रदेश नं ६ (कर्णाली प्रदेश)मा उपाध्यक्ष युवराज कार्की र प्रदेश नं ७ (सुदुरपश्चिम प्रदेश)मा उपाध्यक्ष हेमराज राईले उद्घाटन गर्ने छन् ।
आगामी तीन महिनासम्म सञ्चालन हुने उक्त अभियानमा देशका ७७ वटै जिल्लामा संयोजक र १ सय ६५ वटै निर्वाचन क्षेत्रमा अभियान्ताहरू परिचालन हुने छन् । सम्बन्धित जिल्लाका जेष्ठ केन्द्रीय सदस्यलाई जिल्ला संयोजकको जिम्मेवारी दिइने सो पार्टीको तयारी रहेको बताइएको छ ।
पार्टी एकताको उर्जालाई संगठन विस्तार कार्यमा बदल्नका लागि अभियान सञ्चालन गर्न लागिएको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । अभियानले पार्टीको नीति तथा कार्यक्रम स्थानीय तहसम्म पुग्ने र पार्टी विस्तारमा उर्जा थप्ने उनको दावी छ ।
समाजवादी पार्टीले उक्त अभियानमार्फत सम्पूर्ण गाउँपालिका र नगरपालिकाको वडामा वडा समिति र गाउँ तथा टोलमा प्रारम्भिक समिति निर्माण गर्नेछ । अभियानको अवधिभर पार्टीका उपाध्यक्षहरुलाई अनुगमनको जिम्मेवारी दिइएको छ ।
अनुगमन गर्ने जिम्मेवारी पाउनेहरूमा प्रदेश नम्बर १ मा रकम चेम्जोङ, प्रदेश नं २ मा लालबाबु राउत, प्रदेश नं ३ मा हिसिला यमी, प्रदेश नं ४ (गण्डकी प्रदेश)मा हेमराज राई, प्रदेश नं ५ मा नवराज सुवेदी, प्रदेश नं ६ (कर्णाली प्रदेश) मा युवराज कार्की र प्रदेश नं ७ (सुदुरपश्चिम प्रदेश) मा पनि युवराज कार्की रहेका छन् ।
समाजवादी पार्टीको संगठनात्मक संरचना तल्लो इकाइदेखि माथिल्लो तहसम्म यस्तो हुनेछ ।
१. टोलमाः प्रारम्भिक समिति ।
२. वडा तहमाः वडा समिति ।
३. गाउँ तथा नगर तहमाः गाउँपालिका र नगरपालिका समिति ।
४. जिल्ला तहमाः जिल्ला समन्वय समिति ।
५. दश प्लस एक प्रदेश तहमाः पहिचानमा आधारित राष्ट्रिय समिति ।
६. प्रदेश तहमाः प्रदेश तथा प्रशासनिक समिति ।
७. केन्द्रीय समिति ।
८. संघीय परिषद ।
९. महाधिवेशन । विधानतः महाधिवेशन सर्वोच्च अंग हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया