काठमाण्डौंः ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो ।
हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए। उनले भने, ‘चार जना तीर्थ यात्रीसँगै लिएर जाँदैछु । हिमपात हुन रोकिएको छैन । हिउँले बाटो पूरै छोपिएको छ । बाटो अनुमान गर्दै जानु पर्नेछ ।’
पाथीभरामा जानुभन्दा पनि फर्किन समस्या हुने गरेको उनले बताए। मन्दिर पुगेर फर्किने समयमा बाटो ओरालो पर्ने भएकोलो हिउँमा चिप्लिने जोखिम रहेको उनले बताए।
पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात हुन सुरु भएको हो । सोदिन ६० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको क्षेत्र विकास समितिले जनाएको छ ।
समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ याङमा तीन हजार ४०० मिटर उचाइ क्षेत्रका बस्तीमा बिहीबारदेखि हिमपात हुन थालेको छ । हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए।
हिमपातले जनजीवन प्रभावित हुनुका साथै पशुचौपायसमेत प्रभावित हुने घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले जानकारी दिए। हिमाली क्षेत्रका प्रमुख पुख्र्यौली पेसाका रुपमा पशुपालन गर्दै आएको छ । तर हिमपातको समय पशु जोगाउने मुस्किल पर्ने शेर्पाले बताए। सबैभन्दा याक चौँरीको बाछाबाछीलाई हिमपातको समयमा जोगाउने समस्या हुने उले बताए। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया