काठमाण्डौंः नेपाली फुुटबलको राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्काले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल प्रहरीमा जागिर खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार खड्काले पेश गरेको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानमा खुलेको छ । आयोगका अनुसार खड्का महानगरीय प्रहरी गण नं २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकूद समितिमा प्रहरी नायब निरीक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार खड्काले प्रहरीमा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र माध्यमिक शिक्षा परिषद् वाराणसी, उत्तर प्रदेशबाट जारी भएको देखिन्छ ।
उक्त प्रमाणपत्र नक्कली रहेको आयोगको दाबी छ । आयोगले बिगोबमोजिमको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया