काठमाडौंः दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) का लागि धनगढी फुटबल क्लबले राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडीमा पुनः घोषणा गरेका छ ।
धनगढीले बुधबार सामाजिक सञ्जालमार्फत विशाललाई मार्की खेलाडीमा सार्वजनिक गरेको हो । गत सिजन क्लब उपविजेता बन्दा विशाल नै मार्की खेलाडी थिए ।
यसअघि एनएसएलका लागि झापा एफसीले राष्ट्रिय टोलीका स्ट्राइकर अञ्जन विष्ट र ललितपुर सिटी एफसीले विमल घर्तीमगरलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरिसकेको छ ।
प्रतियोगिताको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले यस सिजन तीन क्लब थपेको छ । यसअघि पहिलो सिजन सात टोली थिए भने यस सिजन १० क्लबको सहभागिता रहनेछ ।
आयोजकले प्रतियोगिताको दोस्रो संस्करणमा स्पोर्टिङ इलामा मेची, झापा एफसी र विरगंज युनाइटेड गरी तीन टोली थपेको छ । गत बैशाखमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीको सहभागिता थियो ।
प्रतियोगिताको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया