काठमाण्डौंः धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’अन्तर्गत आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो खेलमा आर्मीले प्रदेश नं १ लाई ३–० को सोझो सेटले पराजित ग¥र्यो । सो क्रममा २५–१७, २५–२१ २५–९ को सेटले आर्मीसँग प्रदेश नं १ पराजित भएको हो । खेलका ‘म्यान अफ द म्याच’ आर्मीका दुर्गा खड्का भए । दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ ।
पुलिसले २५–८, २५–९ र २५–१५ को सेटले पराजित गरेको हो । खेलका ‘म्यान अफ द म्याच’ पुलिस क्लबका हिम राना भए । आजै बिहान भएको अर्को खेलमा घरेलु टोली सुदूरपश्चिम बागमती प्रदेशलाई पराजित गर्दै समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको छ । सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–१ को सेटले पराजित गरेको हो ।
पहिलो र दोस्रो सेट २५–१६ र २५–२३ ले जितेको सुदूरपश्चिमले तेस्रो सेट भने १६–२५ ले गुमाएको थियो । चौथो सेट २५–२२ ले जित्दै सुदूरपश्चिम समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको हो ।
खेलका म्यान अफ द म्याच सुदूरपश्चिमका सन्तोष महता भए । प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख, तेस्रो हुने टोलीले रु एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले रु ५० हजार सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया