काठमाडौंः त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११४ रन बनाएको थियो। मलेसियाका लागि जुबाइदी जुल्किफले ३२, अहमद फैजले २४, मुहम्मद अमिरले १६ र सइद अजिजले १४ रन बनाए।
बलिङतर्फ नेपालका करन केसी र सन्दीप लामिछानेले दुई–दुई तथा अविनाश बोहोरा, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले एक–एक विकेट लिए।
११५ रनको लक्ष्य लिएर जवाफी व्याटिङ थालेको नेपालले १३ ओभर ४ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। नेपालका लागि आशिफ शेखले अर्धशतक प्रहार गरे। ३८ बलको सामना गरेका उनले ७ चौका र १ छक्काको मद्दतमा ५७ रन बनाए।
यस्तै दीपेन्द्र सिंह ऐरीले २१, रोहित पौडेलले १२, दिलिपनाथले १५, कुशल मल्लले २ र कुशल भुर्तेलले १ रन बनाए। मलेसियाका पवनदीप सिंहले दुई तथा सइद अजिज र मुहम्मद अमिले एक–एक विकेट लिए।
नेपालले आफ्नो पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई हराएको थियो। सिरिजमा नेपाल, मलेसिया र पीएनजी सहभागी छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया