असार २९, २०८२ आइतबार July 13, 2025

महिला लिग : विवादास्पद खेलमा पुलिसले आर्मीलाई हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विवादास्पद बनेको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ अन्तरले पराजित गर्दै  नेपाल पुलिस क्लबले बुधबार  राष्ट्रिय महिला लिग प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

चितवनको शारदानगरमा सम्पन्न तेस्रो चरणको खेलमा पुलिसलाई जिताउन कप्तान निरु थापा र निर्मला उपाध्यायले समान एक गोल गरे । आर्मीका लागि डिफेन्डर पुनम जर्घा मगरले सान्त्वना गोल फर्काइन ।

खेलको १३औं नीरु थापाको गोलबाट अग्रता लिएको पुलिसका लागि त्यसको एक मिनेटपछि निर्मला उपाध्यायले दोब्बर अग्रता बनाइन् ।

निकै प्रतिस्पर्धात्मक खेलको ७०औं मिनेटमा पुनम जर्घामगरले आर्मीका  लागि सान्त्वना गोल फर्काइन् ।

दोस्रो हाफमा रेफ्रीले आर्मीलाई पेनाल्टी दिएपछि पुलिसका खेलाडी त्यसको प्रतिवादमा उत्रँदा खेल करिब १२ मिनेट रोकिएको थियो । रेफ्रीले हेन्ड भएको भन्दै पेनाल्टी दिएपछि पुलिसका खेलाडीले खेल खेल्न आनाकानी गरेका थिए ।

करिब १२ मिनेटको विवादपछि खेल पुनः सुरु भएको थियो । आर्मीकी रश्मि कुमारी घिसिङको पेनाल्टी प्रहार पुलिसकी गोलरक्षक उषा नाथले सेभ गरेकी थिइन् ।

तीन खेल खेलेको पुलिसले दुईमा जित र एकमा हार बेहोर्दै ६ अंक बनाएको छ । यस्तै, समान खेलेको आर्मी एक जित र दुई हार बेहोर्दै मात्र तीन अंक बनाएको छ ।

यसअघि, बुधबारै भएको चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले १–१ बराबरी खेलेका थिए ।

बिहीबार हुने पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र वालिङ नगरपालिका तथा धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाबीच खेल हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया