असार २९, २०८२ आइतबार July 13, 2025

१७औँ राष्ट्रिय तेक्वान्दो : बागमती टिम च्याम्पियन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः १७औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि बागमती प्रदेशले जितेको छ । ललितपुर सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा शुक्रबार र शनिबार भएको दुई दिने प्रतियोगितामा बागमतीले नौ स्वर्ण, चार रजत र ११ कांस्य पदक जित्दै च्याम्पियन बनेको हो ।

पाँच स्वर्ण र एक कांस्य जितेको विभागीय टोली नेपाल प्रहरी क्लब दोस्रो भयो । तेस्रो भएको लुम्बिनी प्रदेशले तीन स्वर्ण, चार रजत र पाँच कांस्य पदक जित्यो । सिनियरको पुरुषमा लुम्बिनीका नवराज बस्नेत तथा महिलामा प्रहरीकी कञ्चन थापा उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।

यसैगरी जुनियरको पुरुषमा प्रदेश १ का सुशान्त थापा तथा महिलामा सुदूरपश्चिम प्रदेशकी गीता कठायत उत्कृष्ट खेलाडी चुनिनुभयो । अनुशासित टिमको उपाधि कर्णाली प्रदेशले पायो । नेपाल तेक्वान्दो संघले तीन बर्षपछि राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको सिनियरमा १६ र जुनियरमा १० गरी २६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

कोभिड-१९ र विभिन्न कारण रोकिएको प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमका २ सय ३७ खेलाडी सहभागीता रहेको प्रतियोगिताका संयोजक राम गिरीले जानकारी दिनुभयो । यसअघि २०७५-०७६ सालको आठौँ राष्ट्रिय खेलकुदको दौरानमा तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता भएको थियो । नेपाल तेक्वान्दो संघले यसै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय टिमका समावेश गरिने गरिने पनि जनाएको छ ।

प्रतियोगिताको विजेता टिम र खेलाडीलाई नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क चोङ सुक, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमसेर राणा, संघका उपाध्यक्ष एवं प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष भानबहादुर चन्द, संघका महासचिव दीपराज गुरुङ लगायतले पुरस्कार प्रदान गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया