काठमाडौँ । विश्व शान्तिको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका ६० बौद्ध भिक्षुले आगामी फागुन १ गतेदेखि काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ गर्ने भएका छन्।
काठमाडौँको स्वयम्भूदेखि शुरु हुने उक्त पैदल यात्रा फागुन २० गते कनकमुनि बुद्धको जन्म भूमि निग्लिहवा पुगेर समापन गरिनेछ।
आनन्दकुटी विहारको संयोजनमा हुने उक्त कार्यक्रममा दैनिक करिब ३० किलोमिटर हिँड्ने लक्ष्य लिइएको छ। यात्राका क्रममा स्कूलको खुला मैदान वा खुला चौरमा बास बस्दै यात्रालाई निरन्तरता दिइनेछ।
कार्यक्रमका संयोजक भिक्षु पन्नामूर्ति महास्थवीरले विश्वमा अहंकार र महत्वाकांक्षाले गर्दा द्वन्द्व, हिंसा र अशान्ति बढिरहेका बेलामा बुद्धको आदर्शलाई अनुशरण गर्न कार्यक्रम गर्न लागिएको जानकारी दिए। विश्व कल्याणका लागि बुद्धले सिकाएको अहिंसा, मैत्री र करुणा फैलाउन दुःखकष्ट गरेर भए पनि पैदल यात्रा गर्न लागिएको उनले बताए।
काठमाडौँको पश्चिममा रहेको चन्द्रगिरि डाँडा, मकवानपुरको चित्लाङ, हेटौँडा, नारायणघाट, भूमही, रामग्राम, लुम्बिनी, निग्रोधाराम हुँदै टोली निग्लिहवा पुग्नेछ। यात्राका क्रममा ठाउँठाउँमा भिक्षा मागेर भोजनको व्यवस्था गराइनेछ जुन बौद्ध भिक्षु व्यवस्थापनको अभिन्न पक्ष हो।
थाइल्याण्डका भिक्षु सोमछाई महास्थवीरको नेतृत्वमा २० भिक्षु सहभागी हुने कार्यक्रम छ। यात्रा अवधिमा स्थानीयवासीलाई बुद्ध शिक्षा र शान्तिकाबारे बुद्ध शिक्षा, ज्ञान, ध्यान, दर्शनकाबारे जानकारी गराइनेछ। शान्ति यात्रा करिब ४०० किलोमिटर हुने हुँदा यसक्रममा सिमेन्टका बुद्ध मूर्ति निर्माण गरेर केही स्कूल, हस्पिटल र विहार (गुम्बा)लाई निःशुल्क वितरण गरिने जनाइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया