असार २४, २०८२ मंगलबार July 8, 2025

दुई मन्त्रीसहित ६१ अमेरिकी अधिकारीमाथि रूसी प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रूसले ऊर्जा र अर्थमन्त्रीसहित ६१ जना अमेरिकी अधिकारीमाथि यात्रा प्रतिबन्ध लगाएको छ । ऊर्जामन्त्री जेनिफर ग्रानहोम र अर्थमन्त्री जेनेट येलेनसहित ६१अमेरिकी नागरिकलाई आफ्नो भूमिमा प्रतिबन्ध लगाइएको रूसी विदेश मन्त्रालयले जनाएको छ ।

रूसी राजनीतिक एवम् अन्य अधिकारीका साथै व्यापार प्रतिनिधिहरूविरुद्ध अमेरिकी प्रतिबन्धको बदलामा मस्कोले अमेरिकी नागरिकहरूमाथि यात्रा प्रतिबन्ध लगाएको हो । विदेश मन्त्रालयले अग्रणी सैन्य–औद्योगिक निगमहरू, रेटिङ एजेन्सी, विमान र जहाज निर्माण कम्पनीका प्रमुखलगायत अमेरिकी नागरिकलाई प्रतिबन्धको सूचीमा समावेश गरेको छ । साथै रूसी साइबर हमला बारे दुर्भावनापूर्ण झूठा समाचार फैलाउनमा संलग्न अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूलाई पनि सूचीमा संलग्न गरिको छ ।

बुचालगायत युक्रेनमा गरेको अत्याचारको विरोधमा अमेरिकासहित औद्योगिक राष्ट्रहरूको समूह (जी सेभेन) र युरोपेली सङ्घ (इयू) ले रुसमाथि गम्भीर आर्थिक प्रतिबन्ध लगाएको छ । युक्रेनमा गरेको कारबाहीमा रूसलाई जवाफदेही बनाउने संयन्त्रको एक अंशको रूपमा अमेरिकाले मस्कोमाथि नयाँ लगानी प्रतिबन्ध लगाएको छ ।

अमेरिकी प्रतिबन्धमा रूसको सबैभन्दा ठूलो सरकारी र निजी बैंक, वित्तीय संस्था, राज्य–स्वामित्वका उद्यम र सरकारी अधिकारी तिनका परिवारका सदस्यलगायत परेका छन् । अमेरिकामा रूसीहरूको सम्पत्ति रोक्का र आर्थिक कारोबार पनि बन्द गरिएको छ ।

यसैबीच, अमेरिकी अर्थमन्त्रालयका एकजना अधिकारीले युक्रेनमा आफ्नो सैन्य कारबाहीका लागि रूसमाथि संयुक्त राज्यले लगाएका प्रतिबन्ध मस्कोले आफ्नो व्यवहार परिवर्तन गरेमा हटाउन सक्ने बताएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया