असार २४, २०८२ मंगलबार July 8, 2025

फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री कीभमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी रुसी आक्रमणपछि पहिलो पटक युक्रेन भ्रमणका लागि बिहीबार कीभ आइपुगेका छन्।

नेताहरू पोल्याण्डबाट विशेष ट्रेन चढेर त्यहाँ पुगेको तस्बिर एएफपीले सार्वजनिक गरेको छ । तस्बिरमा उनीहरूलाई युक्रेनी राजधानीको प्लेटफर्ममा ओर्लिरहेको देखाइएको छ। शक्तिराष्ट्रका नेताहरूको यस किसिमको युक्रेनको सामूहिक भ्रमण फेब्रुअरी २४ मा रुसी आक्रमणपछिको पहिलो हो।

म्याक्रोनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्ने र “नरसंहार भएको युद्धस्थलमा जाने“ बताएका छन्। त्यस्तै फ्रान्सेली नेताले कीभ नजिकका शहरहरूमा  जारी रुसी अत्याचारलाई “युद्ध अपराध“ भनेका छन्। “यो युक्रेनी पुरुष र महिलाहरूलाई सम्बोधन गरिएको युरोपेली एकताको सन्देश हो,“ म्याक्रोनले ट्रेनबाट ओर्लँदै भने।

उनले भने– वर्तमान र भविष्य दुबैको बारेमा कुरा गर्न आफूहरू त्यहाँ पुगेको तर त्यो विषय धेरै गाह्रो हुनेछ।

युक्रेनले युरोपेली संघमा सामेल हुन आधिकारिक उम्मेदवारको हैसियत दिन दबाब दिइरहेको बेला यो भ्रमण भएको हो। तीनै जना नेताहरूले बिहीबार बिहान पोल्याण्डबाट कीभका लागि विशेष ट्रेनमा यात्रा गरेका थिए।

जर्मन मिडियाले उनीहरूलाई पोल्याण्डको दक्षिण–पूर्वी शहर रजेस्जोमा “रातमा“ भेटेको बताएको छ जहाँ अन्तरराष्ट्रिय विमानस्थल छ। फ्रान्सेली नेताले भर्खरै युक्रेनको छिमेकी राष्ट्र मोल्डोभाको भ्रमण पूरा गरेका थिए।

रोमानियाका नेता क्लाउस इओहानिस बिहीबारपछि कीभमा आफ्ना फ्रान्सेली, जर्मन र इटालियन समकक्षीहरूसँग सामेल हुन लागेका छन्। अन्य पश्चिमी नेताहरूले पनि हालैका हप्ताहरूमा कीभको भ्रमण गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया