असार २४, २०८२ मंगलबार July 8, 2025

राजनीतिको परिमार्जित पाठ्यक्रम – प्रमोदहरी गुरागाँई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विभिन्न दलको नेतृत्व गरिरहनुभएका नेताहरूलाई स्थानीय निर्वाचनको परिणामले पक्कै पनि सचेत गराएकै छ । आ–आफ्नो पार्टीलाई सम्बन्धित स्थानमा विजयी गराउन सम्पूर्ण खाले गठबन्धनको प्रयास तिनले गरे । पाँच दलीय गठबन्धनले संख्यात्मक रूपमा बलियो परिणाम प्राप्त गर्‍यो । भलै, कांग्रेसलाई हराउन माओवादी, एमालेलगायत अन्य दल र माओवादीलाई हराउन कांग्रेस, एमालेलगायत अन्य दलले स्थानीयस्तरमा गरेको प्रत्यक्ष–अप्रत्यक्ष गठबन्धनको परिणाम पनि आँखासामुन्ने प्रस्टै छ । तर, स्थानीयस्तरमा कमजोर ठानिएको पार्टीबाट उम्मेदवार बनेका तुलनात्मक रूपमा असल उम्मेदवारको विजयको परिणामलाई नेतृत्वले नजरअन्दाज गर्न मिल्दैन ।

लोकतान्त्रिक व्यवस्थासहितको २१औँ शताब्दीले प्रश्न गर्ने योग्यता राख्छ । आत्मसम्मानको विषयमा कोही कसैसँग सम्झौता नगर्ने लोकतान्त्रिक चरित्र हो । बरु लोकतन्त्रले हरेक पक्षमा पारदर्शिताको खोजी गर्छ । नागरिक समस्याको बोध, स्वीकार र सम्बोधन लोकतान्त्रिक नेतृत्वका अनिवार्य सर्त हुन् । परम्परागत राजसंस्थालाई बिदाइ गरेको युगले थोपरेको निर्णय स्वीकार गर्दैन । तसर्थ, आफ्नो पार्टी सत्तामा किन पुग्नुपर्ने ? सत्तामा पुगिसकेपछि नागरिकले प्राप्त गर्नैपर्ने आधारभूत अधिकार कसरी प्रत्यायोजन गर्ने, खाका स्पष्ट पार्नु अनिवार्य छ । दलहरूले बुझ्नुपर्छ, निर्वाचन, सत्ता, प्रतिपक्ष आवधिक विषय हुन् । बरु, नागरिकको नेतृत्वप्रति क्रमशः घटिरहेको विश्वासको पुनर्प्राप्ति प्रधान विषय हो । रेमिट्यान्सले देश धानिएको छ । आफ्ना छोराछोरीको जवानी विदेशी श्रमबजारमा न्यूनतम मूल्यमा बेचेर पालिएको देशको धुरीमा बिजुली बत्ती त बलेको देखिन्छ । नागरिकको मनमा ग्रहण लागेको समयमै देख्नु नेतृत्वको योग्यतामा भर पर्छ । तसर्थ, नेतृत्वले आफूहरूद्वारा गल्ती भएको स्वीकार गर्नुपर्छ । गल्ती नगर्ने प्रतिबद्धता कर्ममार्फत प्रमाणित गर्नैपर्छ ।

हालै सम्पन्न स्थानीय निर्वाचनमा अपेक्षाकृत रूपमा कांग्रेस खासै मोटाएन र एमाले खासै दुब्लाएन । माओवादी, एकीकृत समाजवादीलगायत क्षेत्रीय दलले आफ्नो अस्तित्व कायम राखे । तर, जनकपुर, धनगढीको निर्वाचन परिणामलाई विद्रोहका रूपमा मात्र नबुझ्दा राम्रो हुन्छ । काठमाडौं र धरानको परिणामलाई प्रतिक्रियाका रूपमा मात्र बुझ्नु हुँदैन । नभुलौँ, देशको राजधानी काठमाडौं मकहानगरमा कांग्रेस र एमालेले नगर प्रमुखमा प्राप्त गरेको मतभन्दा स्वतन्त्र उम्मेदवारहरूले प्राप्त गरेको मतको संख्या बढी छ । घरका भित्ताहरू चर्किएको कारण पत्ता लगाई समयमै पुनर्निर्माण गर्नु ठीक हुन्छ । भाषाको लिपपोतले चर्किएका भित्ताहरू टालिएलान्, तर बलिया हुँदैनन् । छाना खस्ने वेलासम्म पनि लिपपोतमै समय खर्चिनु समस्याको निराकरण गर्नु होइन ।

दलहरूले बुझ्नुपर्छ– निर्वाचन, सत्ता, प्रतिपक्ष आवधिक विषय हुन् र नागरिकको नेतृत्वप्रति क्रमशः घटिरहेको विश्वासको पुनर्प्राप्ति प्रधान विषय हो ।

राजनीति र राजनीतिक दलहरू सैद्धान्तिक जगमै उभिएका हुन्छन् । सिद्धान्तअनुरूप बाटाहरू तय गर्ने, निरन्तर यात्रा गर्ने र परिणाममा पुर्‍याउने कार्य नेतृत्वको हो । राजनीति सत्तामा पुग्न र असल नीति निर्माण गर्दै नागरिक सेवाकै लागि हो । लोकतन्त्रमा सत्तामा पुग्ने तीनवटा मार्ग छन् । पहिलो मार्ग, दल एक्लैले बहुमत प्राप्त गर्नु हो । दोस्रो, असल प्रतिपक्षको भूमिका निर्वाह गरेर आवधिक निर्वाचनमार्फत सत्तामा पुग्ने । तेस्रो, यसोउसो गठबन्धन गरेर तत्कालै सत्तामा पुग्ने । समय–सन्दर्भले सैद्धान्तिक कम र परिणामकेन्द्रित स्थानीय निर्वाचन सम्पन्न भयो ।

प्रमुख सहरलगायत विभिन्न स्थानमा सत्तापक्ष र प्रतिपक्षको अपेक्षा गलत साबित भयो । निर्वाचन आयोगको तथ्यांकअनुसार १३ प्रमुख, चार उपप्रमुख, १३६ वडाध्यक्ष र २३२ वडा सदस्यमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् अर्थात् दलहरू पराजित भएका छन् । नेताहरूले आफैँले ल्याएको व्यवस्थाको परिणामका रूपमा स्वतन्त्र व्यक्तित्वको विजयलाई व्याख्या गरिरहनुभएको छ । दलभित्रका विभिन्न तहका नेतृत्वलाई निराश हुन नदिनु नेतृत्वको धर्म हो । तथापि, आफ्नो कमजोरीलाई नेतृत्वले पक्कै पनि स्विकारेकै हुनुपर्छ ।

राजनीतिक दलहरू संस्था हुन् । संस्था निर्माणमा सिद्धान्त, समय र नेतृत्वको महत्वपूर्ण भूमिका छ । विश्वास आर्जन गरेर उभिएका संस्थाहरू र व्यक्ति विशेषलाई तुलना गर्नु उपयुक्त हुँदैन । राज्यले नागरिकलाई न्यूनतम खाना, नाना, छाना र सुरक्षाको प्रबन्ध गर्नैपर्छ । तत्कालै यावत् विषयको परिपूर्ति गर्न नसके पनि परिपूर्तिमा सम्पूर्ण ध्यान केन्द्रित छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ । विश्वासको क्षयीकरण तीव्र रूपमा बढिरहेको छ । व्याप्त भ्रष्टाचार, बेथितिले नागरिकको मनमा आँधीबेहरी सिर्जना भएको छ । देशको अवस्था र नागरिकको मनोविज्ञान बुझ्न सरकारी अस्पताल, विद्यालय, प्रमुख जिल्ला अधिकारीको कार्यालय, मालपोत कार्यालय आदि स्थानमा थोरै समय खर्चिए पुग्छ ।

प्रत्येक वर्ष खेती किसानीको समयमा प्राप्त नहुने मलले जवाफदेहिताको धज्जी उडाएको छ । देश श्रीलंका बन्दै छ भन्ने गभर्नर, अर्थ मन्त्रालयबाटै सूचनाको चुहावट, सिसिटिभी फुटेज मेटिएको सूचनाको स्वीकार आजको पुस्ताले गर्न सक्दैन । माता, पिता पुस्तामा जस्तै निरन्तर पढेर स्नातकोत्तर परीक्षापछि अर्थोपार्जनका कर्ममा लाग्ने मनोविज्ञान भाइ–बहिनी पुस्तामा छैन । कक्षा १२ को अध्ययन समाप्तिसँगै अर्थोपार्जनमार्फत आत्मनिर्भर र स्वाभिमानी जीवनको खोजीमा आजको पुस्ता छ । समयको चेतना धुरीतिर लम्किरहेको वेला पिँढीतिर अलमल्याउन खोज्नु दुर्भाग्यपूर्ण हुन्छ । प्रत्येक राजनीतिक दलभित्र नागरिकसँग सरल र सहज संवाद गर्न सक्ने दागरहित हजारौँ नेता छन् । दलभित्रको अन्तरलाई राजनीतिको मूलधारमा ल्याउन अवेला गर्ने सुविधा छैन । तहगत नेतृत्वको व्यक्तित्व विकासको जिम्मेवारी पनि दलहरूकै हो । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार