असार २४, २०८२ मंगलबार July 8, 2025

खाल्डो खनेर चन्द्रलोक देखाउने सपना – देवप्रकाश त्रिपाठी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हरेक मानिसको गन्तव्य शान्ति, सुख र समृद्धि हुन्छ । घरमा, खेतमा, कारखानामा, कार्यालयमा, काममा, जीवनमा उन्नति खोज्नु मानिसको सामान्य धर्म हो, तर सबैको जीवनमा समृद्धि प्राप्त हुने गर्दैन । उत्तिकै चाहना भएको, उत्तिकै परिश्रम, लगनशीलता र प्रतिबद्धता रहेको स्थिति हुँदाहुँदै पनि मानिसलाई फरक-फरक परिणाम हासिल हुन पुग्छ । यस्तो हुनुको कारण कसैले भाग्यलाई ठान्छन् त कसैले बुद्धि या समय र परिस्थितिलाई ! कुनै पनि कार्य-परिणामका पछाडि कारण अनिवार्य रूपमा रहन्छ, कारणबिना परिणाम नहुने हुँदा हरेक रोगको औषधि गर्नुअघि चिकित्सकहरू कारण पत्ता लगाउन खोज्छन् ।

व्यक्तिको जीवनमा जस्तो हुन्छ देशको जीवनमा पनि त्यस्तै हुन्छ । सबै देशहरू शान्ति र समृद्धि चाहन्छन् तर यसको प्राप्तिचाहिँ कसै-कसैलाई मात्र हुने गरेको छ । देश निर्माणमा दूरदर्शिता, इमानदारी र प्रतिबद्धता अनिवार्य तत्व मानिन्छ । उल्लिखित तीन तत्व निहित रहेको राजनीति र साथमा भ्रष्टाचारमुक्त एवम् चुस्त कर्मचारी प्रशासन भयो भने देश बन्नबाट रोक्न कुनै फिडेल क्यास्त्रो या विन लादेनले पनि सक्ने छैनन् । जनतामा राजनीतिक चेतना ज्यादा हुँदैमा या राजनीतिक विषयवस्तुमा जिब्रो चलाउन सक्ने क्षमता बढी हुँदैमा देशले समृद्धि प्राप्त गर्ने भए आज दक्षिण कोरियाभन्दा उत्तर कोरिया अतुलनीय ढङ्गले समृद्धिमा अगाडि हुन सक्थ्यो । दक्षिण र उत्तर कोरियावासी एउटै जाति र भाषाका भएर पनि दुईबीचको अनेक अन्तरमध्ये प्रमुख एउटा के हो भने उत्तरकाहरूमा बोल्ने क्षमता ज्यादा छ, त्यहाँका साधारण नागरिकले पनि देश र जनताका बारेमा नेपालका वामपन्थी कम्युनिस्टहरूले जस्तै धाराप्रवाह प्रवचन/भाषण दिन सक्दछन् । तर, दक्षिणकाहरू राजनीतिक विषयमा कम रुचि राख्छन् र, कम बोल्छन् । उनीहरू आर्थिक विकास र अर्थतन्त्रका विषयमा बढी केन्द्रित छन् । देशवासीको सोच र संस्कारजस्तै उत्तरकोरियावासीले सैन्य शक्ति मजबूत बनाएको छ भने दक्षिणकाले आर्थिक विकासमा उत्तरलाई धेरै पछाडि पारिदिएको छ ।

नेपालमा राणा शासनको पतनपश्चात् धेरै-धेरै नेताहरूले अनेकौँ सपना देखाएर गए । बीपी कोइरालादेखि डा. केआई सिंह र अरू धेरै नेता तथा राजाहरूले समेत हामी नेपालीलाई सपना देखाए । बीपीले दूरदर्शिता, इमानदारी र प्रतिबद्धता भएर पनि काम गर्ने मौका नै पाउनुभएन भने राजा महेन्द्रले राष्ट्रियताका पक्षमा आफूलाई केन्द्रित गरेर सायद त्यसो गर्दा राज्यसत्ता बलियो हुन्छ भन्नेमा मात्र लाग्नुभयो । पञ्चायती निरङ्कुश शासनको पतनपश्चात् जनतालाई सपना देखाउने प्रतिस्पर्धा राजनीतिक वृत्तमा निकै चलेको छ । यसै क्रममा २०६३ को जनआन्दोलनले सफलता प्राप्त गरेपछि नयाँ नेपाल बनाउने सपना देखाउन थालियो । हामी यही सपना पूरा हुने अर्को उपसपना देखेर लाख गल्तीमाथि अन्धाधुन्द आँखा चिम्लदै छौँ ।

सन् १९४९ देखि यताका अनेकौँ दशक हामीले गरिबी पिउँदै राजनीतिकर्मीहरूद्वारा देखाइएका सुन्दर सपनामा आँखा ओछ्याएर बिताइसकेका छौँ, अब नयाँ सपना देखाउन नयाँ मानिसहरू ढोका-ढोकामा आइपुगेका छन् । तर, पहिलेकालेझैँ यिनले पनि देशको आवश्यकता र आकाङ्क्षा पूरा गर्लान् भनी विश्वास गर्न सकिने आधारहरू देखापरिसकेका छैनन् । आजसम्म विश्वमा कान्ति रच्नेहरूले देशको उन्नतिको अगुवाइ गरेको एउटै दृष्टान्त पनि छैन । नेहरूले क्रान्तिको अगुवाइ गरे, तर समृद्धितर्फ उन्मुख आजको भारतको अगुवाइचाहिँ पीभी नरसिंह राव, मनमोहन सिंह, राजीव गान्धी र पी. चिदम्बरमले नै गरेका हुन् भन्नुपर्छ । माओले चीनमा राजनीतिक क्रान्ति सम्पन्न गरे, आर्थिक क्रान्तिमा उनी पूर्ण असफल भएकै हुन् । आर्थिक क्रान्तिको सम्पूर्ण जस (यस) देङ सियाओ पेङलाई नै जान्छ । राजनीतिक उथलपुथल ल्याउन नेपाली राजनीतिकर्मीहरू पटक-पटक र यसपटक पनि सफल प्रमाणित अवश्य भएका हुन्, मुलुकलाई जहाँको त्यहीँ राख्न या (आर्थिक दृष्टिले) अझै पछिल्तिर लैजान सर्वाधिक मुख्य भूमिका पनि उनीहरूले नै निर्वाह गर्दै आएका छन् ।

जापानी राजनीतिक दल र. जनताले एउटा ऐतिहासिक प्रण गरे, सन् १९५५ मा, जापानमा अस्तित्वमा रहेका सबैजसो क्रियाशील राजनीतिक दलहरू मिली एउटै दल (लिबरल डिमोक्रेटिक पार्टी) बनाएर मुलुक निर्माणको नयाँ पाइलो चालेपछि उसले हासिल गर्न थालेको उपलब्धि अझै रोकिएको छैन । प्रण र पाइला भएपछि गन्तव्य टाढा हुँदैन भन्ने यथार्थलाई जापानीहरूले सिद्ध गरेर देखाइदिए ।

‘लोकतन्त्र’को स्थापनापश्चात् जातीय एवम् क्षेत्रीय सद्भाव टुटेको, नेपाली भेषभूषा र भाषाकै आवरणका व्यक्तिहरू पराइको स्वार्थपूर्तिका निम्ति अहोरात्र जुटेको तथा पुरानो मूल्य, मान्यता एवम् प्रजातान्त्रिक संस्कार र यसका आधारभूत सिद्धान्तहरू छुटेको यस अवस्थामा देखाइएको नयाँ नेपालको सपना कुन रूपमा साकार होला भन्ने विषयमा अन्धाको अगाडि उभ्याइएको हात्तीजस्तो भए पनि जनतामा ‘नयाँ नेपाल’प्रतिको जिज्ञाशा प्रबल रूपमा अङ्कुरण भएको छ । हरेक पुराना कुरा गलत हुँदैनन् र, हरेक नयाँ कुरा राम्रा हुँदैनन् भन्ने शाश्वत सत्यलाई बुझ्ने विवेकसमेत गुमाएर हामी ‘नयाँ नेपाल’को दर्शन गर्न लालायित छौँ । तर विहङ्गम विडम्बनाको विषय के छ भने नयाँ नेपाल भनेको के हो, यसको राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक ढाँचा कस्तो हुन्छ र, नयाँ नेपालमा जनता कसरी खुसी, सुखी र सन्तुष्ट हुन्छन् भन्नेजस्ता प्रश्नहरूमा पुरातनवादी कम्युनिस्टहरू जडसूत्रवादी जवाफमा अलमल्याउन खोज्छन्, अरूहरू अपठित ब्राहमणले गायत्रीमन्त्र ओठमा झुन्डयाएझैँ नयाँ नेपालको नारा झुन्ड्याउँदैछन् । नीति पुरानो, नेता पुरानै, गति र मति पुरानो, भाव, भङ्गिमा, सोच र शैली पनि पुरानै, अनि यिनै पुरानै पुरानाहरूको जञ्जालयुक्त सञ्जालले नेपाललाई नयाँ बनाइदिने आश्वासन दिने र हामीले पत्याइदिनुपर्ने विडम्बना ब्यहोरिरहेका छौँ ।

नयाँ नेपाल बनाउनु भनेको उत्तरतर्फको हिमालय पर्वतमालालाई दक्षिणको दसगजा क्षेत्रमा सार्नु होइन, न महाभारत शृङ्खलालाई समथर बनाइदिनु हो । या नदीहरूको बहाव उत्तर-दक्षिणको सट्टा दक्षिण-उत्तर ढल्काउन होइन र, रारा र फेवातालहरूलाई राजधानी काठमाडौंमा सरुवा गर्नु या पहाडका टाकुराहरूमा माछा खेती गर्नु पनि होइन । जुन प्रकारको भू–अवस्थितिमा हामी छौँ, त्यसैलाई एउटा सत्यका रूपमा स्वीकार गरी आफ्नो सीमाभित्रका बसोवासीहरूलाई कष्टकर अवस्थाबाट मुक्त गरी समृद्ध तुल्याउनु मात्र नयाँ नेपाल बनाउनु हो । आफूबाहेक सबै नाजायज र फाल्तु हुन् भनी ठान्ने जङ्गली चिन्तनबाट हामी सबै मुक्त भइ सबै विचारको साझा एवम् सम्मानित र सभ्य फूलबारी बनाउनु भनेकै नयाँ नेपाल बनाउनु हो । पहाडका बस्तीहरू एकत्रित गरी सबै गाउँ र शहरहरूलाई सडकसँग जोड्न, कुनै पनि तराइवासी नेपालीले हिमालको पानीमा र, पहाडवासीले तराइमा उब्जेको अन्नपातमा जीवन गुजाराको अधिकार पाउने सार्थक अवस्थाको नाम नयाँ नेपाल हो । प्रत्येक घरमा बिजुलीको उज्यालो, शिक्षा तथा सञ्चारको सुव्यवस्था र स्वास्थ्योपचारको पर्याप्त व्यवस्था हुने अवस्थाको नाम नयाँ नेपाल हो ।

सडक, सञ्चार, स्वास्थ्य सुविधा र उज्यालोको पर्याप्त व्यवस्था गर्न नसक्ने नेपाल किमार्थ नयाँ नेपाल होइन । कुनै प्रचण्ड प्रतापीका ठाउँमा प्रचण्ड या कुनै गिरिजाप्रसादका ठाउँमा कुनै रामराजाप्रसादको आगमन हुनु मात्रले नयाँ नेपालको सङ्केत दिँदैन । समग्रमा नयाँ नेपाल बनाउनु भनेको हामी आफैले हाम्रा नकारात्मक सोचहरूमा परिवर्तन ल्याउनु हो, आफैलाई परिवर्तन गर्नु हो, हामीले आफूलाई बदल्न सक्यौँ भने देशको भौतिक आवरणमा परिवर्तन ल्याउन त्यति ठूलो प्रतीक्षा गर्नुपर्ने हुँदैन । तर, हाम्रो राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र नयाँ नेपालको वास्तविक स्वरूपबारे बेखबर छ । उनीहरूको ओठमा नयाँ नेपाल शब्द झुन्डिएको भए पनि दिल र दिमागमा कुनै चित्र टाँसिएको छैन । त्यसैले ‘लोकतन्त्र’ स्थापनापश्चात् अनेक चरणमा अनेकौँ समूह र उपसमूहहरूसँग अनेक स्तरमा भएका सम्झौताका दस्तावेजहरूमा पनि नयाँ नेपालको चित्र कोरिएको छैन । समूहहरूबीच शक्तिको बाँडफाँड र मस्तीको सपना मात्र लिपिबद्ध गरिएका छन् ।

नयाँ नेपाल निर्माण गर्न ठूलो हङ्गामा र तडकभडकयुक्त राजनीतिक यात्रा तय गरिरहनुपर्दैन, एउटा सुस्पष्ट दूरदृष्टि, इमानदारी र प्रतिबद्धता मात्र भए नेपाल नयाँ स्वरूपमा स्थापित हुन सक्दछ । नयाँ नेपाल बनाउन कुवेतको जस्तो तेलखानी, रसियाको जस्तो कोइलाखानी र दक्षिण अफ्रिकाको जस्तो हीराखानी नै चाहिन्छ भन्ने पनि होइन । आफूसँग जे छ त्यसैको भरपूर सदुपयोग गरेर हामी मुलुकलाई समृद्ध रूप दिन सक्दछौँ । न्युजिल्यान्ड गाई र भेडाका दूध र ऊन बिक्री गरेर आज समृद्ध भएको छ भने हामी पनि हाम्रो पानीको पूर्ण उपयोग गर्दै हिमाली जडीबुटी र मनोरम दृश्य बेचेर समद्धि प्राप्त गर्न सक्दछौंँ । ‘भिजन, अनेस्टी र कमिटमेन्ट’का कारण रसियाको जस्तो कोइला, कुवेतको जस्तो तेल र अफ्रिकाको जस्तो हीराखानी नभएरै पनि महाथीर मोहम्मदले मलेसियालाई आज एसियाकै ‘युरोप’ बनाइदिए । पचास वर्षअघिसम्म समुद्री डाँकु बनेर जीवन गुजारा गर्नुपर्ने यूएईवासी आज विश्वकै सर्वाधीक आय भएका नागरिकमा रूपान्तरित भएका छन् । एउटा दर्बिलो प्रतिबद्धता र प्रयासले उनीहरू आज यस हैसियतमा आइपुगेका छन् । डेढ दशकअघिसम्म विपन्न र बद्नाम युगाण्डा अहिले पूरा अफ्रिकी महादीपकै एउटा उज्ज्वल नमुना बनिरहेको छ । सङ्घीय स्वरूप विघटन गरी एकात्मक राज्य प्रणालीमा फर्किएपछि युगाण्डाले आर्जन गरेको प्रगति विश्वकै निम्ति एउटा उदाहरण बन्ने प्रकारको छ ।

यिनै मानिसको साथ लिएर हाम्रो ‘राजनीति’ले नयाँ नेपाल निर्माण गर्ने दिवास्वप्न देखेको छ, र हामी त्यस्तै स्वप्नदर्शीको साक्षी भएका छौँ, अब देश विघटनको साक्षी पनि हामी यही कालखण्डका मानिस हुँदैछौँ, त्यसैले अहिले नयाँ नेपाल बनाउनेभन्दा पुरानो नेपाल बचाउने सवाल प्रधान हुन गएको छ ।

सन् १९२० देखि ओरालो लागेको जापानको अर्थतन्त्र दोस्रो विश्वयुद्धसम्म आइपुग्दा सिकिस्त भइसकेको थियो । तर, जापानी राजनीतिक दल र. जनताले एउटा ऐतिहासिक प्रण गरे, सन् १९५५ मा, जापानमा अस्तित्वमा रहेका सबैजसो क्रियाशील राजनीतिक दलहरू मिली एउटै दल (लिबरल डिमोक्रेटिक पार्टी) बनाएर मुलुक निर्माणको नयाँ पाइलो चालेपछि उसले हासिल गर्न थालेको उपलब्धि अझै रोकिएको छैन । प्रण र पाइला भएपछि गन्तव्य टाढा हुँदैन भन्नो यथार्थलाई जापानीहरूले सिद्ध गरेर देखाइदिए । सन् १९९७ ताका मक्किइसकेको अर्थतन्त्रलाई थाक्सिन सिनावात्राले कसरी जोगाए र आजको थाइल्यान्ड बन्यो भन्ने यथार्थ बुझ्न थाइल्यान्डको मात्र दस वर्षको इतिहासलाई अध्ययन गरे पुग्छ । हाम्रा नेताहरू ती जनसुकै दलको अगुवा भूमिकामा किन नहुन् सबैमा दूरदृष्टि, इमानदारी र प्रतिबद्धताको अभाव देखिएको छ । पछिल्लो चरणमा त झन् सामान्य जनतालाई अवाञ्छित तवरले भड्काएर आफ्नो आकाङ्क्षा परिपूर्ति गर्ने खतरनाक प्रयास हुँदै आएको छ ।

सत्ता या सम्पत्तिको प्रलोभन दिएर मानिसलाई भड्काउनु कुनै कठिन कार्य होइन, हाम्रो वर्तमान राजनीतिले मानिसलाई सत्ता र सम्पत्तिको यस्तै प्रलोभनको शृङ्खला खडा गरेर भड्काएको छ । राजधानीमा हरेक परिवारलाई एउटा घर उपलब्ध गराइने नारा दिइयो या राजधानी आउने हरेकलाई मन्त्री बनाइदिने भनियो भने देशभरिबाट लाखौँ मानिसको भीड जुटाउन जो-कसैका निम्ति पनि सहज कार्य हुन सक्दछ । सक्षम भनेका ती मात्र हुन् जो अरूका लागि, सेवाका लागि र देशका लागि लाखौँलाई एकत्रित गराउने सामर्थ्य राख्दछन् । सत्ता या सम्पत्तिको लोभलालचमा परेर भड्किएका या भड्काइएका मानिसबाट देश निर्माणमा योगदान पुग्ने आशा किञ्चित गर्न सकिँदैन । वर्तमानमा सडकमा पोखिएका अधिकांश मानिस आफ्ना लागि मर्न र मार्न तयार भएकाहरू हुन् । यिनै मानिसको साथ लिएर हाम्रो ‘राजनीति’ले नयाँ नेपाल निर्माण गर्ने दिवास्वप्न देखेको छ, र हामी त्यस्तै स्वप्नदर्शीको साक्षी भएका छौँ, अब देश विघटनको साक्षी पनि हामी यही कालखण्डका मानिस हुँदैछौँ, त्यसैले अहिले नयाँ नेपाल बनाउनेभन्दा पुरानो नेपाल बचाउने सवाल प्रधान हुन गएको छ ।

संसारमा गर्नेहरूले बिग्रे-भत्केको सामाजिक आर्थिक र भौतिक संरचनालाई परिमार्जित र पुन:स्थापित गरेर नयाँ मार्ग तय गरेका हुन्छन् । हाम्रो राजनीतिक नेतृत्व बनिबनाउ सामाजिक सद्भाव र संरचनालाई खलबल्याएर नयाँ नेपाल निर्माण गन्तव्यको कुरा गर्दैछ । यसप्रकार जातीय या क्षेत्रीय सद्भावना खलबल्याएर देश बनाउने इच्छा राख्नु भनेको कुतीको बाटो सोझ्याएर काशी पुग्ने रहर गर्नु मात्र हो, या खाल्डो खनेर चन्द्रमा देखाउने कपट रच्नु मात्र हो। समयमै हामी सबैले यो सत्य बुझ्न जरुरी भएको छ । घटना र बिचार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार