असार २४, २०८२ मंगलबार July 8, 2025

राजनीतिक महत्त्वाकाङ्क्षाको अवसान – डा. सुरेश आचार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वैचारिक विचलन र राजनीतिक महत्त्वाकाङ्क्षाले नेताको राजनीतिलाई कहाँसम्म पु-याउने सक्छ ? नेपाली राजनीतिमा यो प्रश्न अब अनुत्तरित रहेन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले यसको ज्वलन्त उदाहरण बन्नुभएको छ । लोकतान्त्रिक शासन पद्धतिलाई स्वीकार नगर्ने स्कुलिङबाट सुरु भएको उहाँको राजनीति स्खलित हुँदै क्षेत्रीय दलमा सीमित रहन पुग्यो र त्यहाँ पनि उहाँले आफ्नो ‘स्पेस’ फेला पार्न सक्नु भएन । यतिबेला डा. भट्टराई टेक्ने रुख न समाउने हाँगोको अवस्थामा पुग्नुभएको छ । त्यसो त डा. भट्टराई पहिलो उदाहरण होइन, यस्ता घटनाक्रमको उहाँ पछिल्लो उदाहरण मात्र हो । राजनीतिक विचलनले कुनै पनि नेताले क्षणिक लाभ लिन सक्ला, अन्ततः उसको राजनीतिक अवसान अवश्यम्भावी छ भन्ने उदाहरण नेपाली राजनीतिमा थुप्रै देखिएका छन् ।

नेपाली राजनीतिमा पञ्चायतकालदेखि देखिएको यो विचलन निरन्तर जारी छ । हिजो कुनै प्रतिबन्धित पार्टी छाडेर पञ्चायतमा समाहित हुने प्रवृत्ति थियो भने आज दल चाहार्ने प्रवृत्ति देखापरेको छ । फरक यति मात्रै हो । पञ्चायती राजनीतिमा एकजना राष्ट्रिय पञ्चायत सदस्य थिए धादिङका हरिबहादुर थापा । पञ्चायती राजनीतिमा हस्तक्षेपकारी भूमिका नभएका तर पटक पटक रापस हुने हैसियतका रसिक माननीय थापाको नेपाली कम्युनिस्टका प्रति एउटा जोक थियो – काँग्रेस पञ्चायत पस्यो भने मन्त्री हुन्छ, कम्युनिस्ट पस्यो भने फर्सी जस्तो कुहिन्छ । यो जोक सबै काँग्रेस वा सबै कम्युनिस्टका हकमा समान रूपमा लागू त भएन तर यसले कम्युनिस्टहरूको सत्ताप्रतिको आशक्तिलाई प्रतिविम्बित गथ्र्यो ।

डा. भट्टराई माओवादी नेताका हैसियतमा यो देशको प्रधानमन्त्री बन्नुभएको हो । तीन पटक माओवादीले प्रधानमन्त्री बन्ने अवसर पाउँदा पार्टीका दुईजना मात्रै प्रधानमन्त्री भए । चौथो वा पाँचौँ पटक पनि प्रधानमन्त्री बन्ने अवसर आएछ भने फेरि पनि माओवादीसँग अर्को नाम छैन ।

तर यतिबेला माओवादी कार्यालयमा पूर्वप्रधानमन्त्रीको नाम टाँगिथ्यो भने पनि एउटाबाहेक प्रधानमन्त्रीको अर्को तस्बिर राख्ने अवस्था छैन । नेपाली राजनीतिको अधिकतम लक्ष्य प्रधानमन्त्री नै हो । बरीयतामा राष्ट्रपति पहिलो नम्बरमा रहे पनि उसले शक्ति प्रयोग गर्ने हैसियत राख्दैन । त्यसैले राजनीतिक शक्तिको स्रोत प्रधानमन्त्री नै हो ।

हालसम्म मुलुकमा राजनीतिक दलका प्रधानमन्त्री खोज्ने हो भने चार दललाई मात्र त्यो अवसर प्राप्त भएको छ । प्रजातन्त्रको स्थापनापछि प्रधानमन्त्री पाउने राजनीतिक दल नेपाली काँँग्रेस हो । आज पनि काँग्रेस सत्तारुढ दल हो । नेकपा एमालेले अल्पमतको सरकारबाट सुरु गरेको सत्तारोहणलाई झन्डै दुईतिहाइ बहुमतसम्मको यात्रामा पु-यायो । आज ऊ संसद्को ठूलो दल भएर पनि प्रतिपक्षमा छ । हिंसात्मक आन्दोलनका बलमा स्थापित नेकपा माओवादी संसद्मा तेस्रो दल हो । अरू दलको खिचातानीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सत्तारुढ हुने चौथो दलको हैसियत प्राप्त ग-यो । यद्यपि यो दलका नेतालाई प्रधानमन्त्री हुन दलीय शासन आउनु र खोसिनुले केही फरक पारेन ।

गैर पार्टी प्रमुखका रूपमा नेपालका प्रधानमन्त्री हुनेहरूमा काँग्रेसका शेरबहादुर देउवा, एमालेका माधवकुमार नेपाल र माओवादीका डा. भट्टराई मात्र हुन् । नेपाल प्रधानमन्त्री हुनु अघि नै पार्टी प्रमुख भइसक्नु भएको थियो भने देउवा प्रधानमन्त्री भएपछि मात्रै पार्टी प्रमुख हुनु भएको हो । डा. भट्टराईका हकमा त्यो अवसर सत्तारुढ पार्टीका रूपमा अहिलेसम्म जुरेको छैन र सम्भवतः उहाँले रोज्नु भएको बाटोले उहाँलाई त्यो हैसियतमा पु-याउने सम्भावना पनि छैन । यति जाने बुझेर पनि डा. भट्टराई किन विचलित हुनुभएको

छ ? अबको उहाँको गन्तव्य के हो ? फेरि उहाँ कुनै झिनामसिना दल खोजेर त्यसको नेता हुने आकाङ्क्षा राख्नु हुन्छ वा शक्तिका रूपमा स्थापित हुन नसकेको नयाँ शक्ति पार्टीको पुनर्गठनमा लाग्नु हुन्छ ? यो उहाँको रोजाइ हो ।

उहाँका बारेमा चासो र चिन्ता लिनुको कारण उहाँ मुलुकको पूर्वप्रधानमन्त्री भएका कारण मात्र होइन, राजनीतिमा तुलनात्मक रूपमा एउटा इमानदार पात्र पनि हो । पार्टीको नेतृत्व क्षमताका हिसाबले उहाँले आफूलाई अब्बल प्रमाणित गर्न नसक्दा पनि मुलुक बनाउने स्पष्ट दृष्टिकोण भएका नेताका रूपमा उहाँको ख्याति अहिले पनि छ ।

उहाँसँग आमनागरिकका आशा र अपेक्षाहरू पनि धेरै थिए तर १८ महिना सत्तामा बसेर निस्कँदै गर्दा उहाँले अपेक्षाकृत काम गर्न सक्नु भएन । संविधान सभाबाट संविधान जारी गराउन प्रधानमन्त्रीका रूपमा भूमिका निर्वाह गर्न नसक्नु उहाँको ठूलो राजनीतिक असफलता थियो । उहाँको नाम व्यक्तिगत रूपमा भ्रष्टाचारमा नजोडिए पनि परिवारका सदस्यको नाम पटक पटक जोडिइरह्यो ।

तर नियतिले नेतालाई पनि धोका दिने रहेछ । कठोर कम्युनिस्टका रूपमा पहिचान बनाउनु भएका भट्टराई माओवादीबाट बहिर्गमन गर्दै गर्दा आफू अब उप्रान्त कम्युनिस्ट नरहने घोषणा नै गर्नुभयो । सम्भवतः कम्युनिस्ट पार्टीभित्र हुने गैर लोकतान्त्रिक परिपाटी र चरित्रबाट उहाँ आजित हुनुभएको थियो । यो घोषणा गर्दै गर्दा सम्भवतः लोकतान्त्रिक पार्टीमा असन्तुष्ट रहेका नेता कार्यकर्ता पनि आफूले खोलेको पार्टीप्रति आकर्षित हुने लोभ पनि उहाँमा थियो तर अपेक्षित रूपमा उहाँलाई न काँग्रेसले साथ दिए, न कम्युनिस्टहरूले । उहाँको पार्टी दलीय व्यवस्था पुनस्र्थापनासँगै अर्थमन्त्री बन्नु भएका डा. देवेन्द्रराज पाण्डेले खोल्नु भएको पार्टीभन्दा फरक हुन सकेन । एउटा चुनावदेखि त्यो पार्टीले अर्को चुनाव देख्न भेट्न पाएन । उहाँलाई साथ दिनेहरू विस्तारै पुरानै पार्टीमा फर्किए र अन्ततः उहाँको पार्टीले पलायनको बाटो रोज्यो ।

डा. भट्टराईको अझै पनि साना र क्षेत्रीय पार्टीप्रति नै आकर्षण छ भने त्यसको प्रमुख कारण फेरि पनि पार्टीको नेतृत्व हात लगाउनका लागि हो । माओवादी पार्टीमा प्रचण्डपछिको बरीयतामा रहँदै आउनु भएका डा. भट्टराईले आफूलाई कुनै पार्टीमा तेस्रो बरीयतामा आफूलाई उभ्याउन सक्नु हुन्न । यो हीन मनोग्रन्थीले उहाँलाई कुनै ठूलो दल रोज्न नै दिँदैन । डा. भट्टराईमा भएको राजनीतिक उदारताको खोजी उहाँको व्यक्तिगत चरित्रमा पनि देखिने हो भने उहाँका लागि अझै पनि थुप्रै राजनीतिक ‘स्पेस’ बाँकी नै छ । कम्युनिस्ट सिद्धान्त त्यागेका कारण उहाँलाई कम्युनिस्ट ट्याग लगाएका पार्टीमा अब त्यो स्पेस हुने छैन तर अरू राजनीतिक दलमा उहाँ अटाउने ठाउँ हुन सक्छ ।

नेपालका परम्परागत राजनीतिक दलको विकल्पमा बहस सुरु हुन थालेको धेरै भइसक्यो । केही पालिकामा स्वतन्त्र उम्मेदवार जितेका आधारमा नेपालका स्थापित राजनीतिक दलबिरुद्ध नयाँ राजनीतिक शक्तिको उदय हुनलाग्यो भनेर निष्कर्ष निकाल्नु गलत हुन्छ । ती स्वतन्त्रका नाममा फेरि स्वतन्त्र नामका दल खोल्नुको औचित्य आउने निर्वाचनले नै देखाउने छ । फेरि ती पार्टीमा आफ्नो स्पेस खोज्ने चाहनाले डा. भट्टराईलाई कहीँ पु-याउन सक्दैन ।

राजनीतिमा केशरजङ्ग रायमाझी र परशुनारायण चौधरी हुने जमानाको त अन्त्य भयो तर नेताहरूको संस्कार र प्रवृत्तिमा ती चरित्रहरू अझै हावी हुँदैछन् । सत्ताआरोहणले व्यग्र चाहनाले आज पनि केशरजङ्ग र परशुनारायणहरू जन्माउने क्रम रोकिएको छैन । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र तदनुरूपको आचरणमा दल र यसका नेताहरू आज पनि गम्भीर देखिएका छैनन् । राजनीतिक दल र नेताका लागि सत्ता अन्तिम लक्ष्य हो तर त्यो सत्ता सधैँ मेरा लागि हुनुपर्छ वा मेरै वरिपरि घुम्नुपर्छ भन्ने संस्कार र मान्यताले अधिनायकवाद जन्माउँछ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार