असार २४, २०८२ मंगलबार July 8, 2025

महिलामाथिको अस्वीकार्य बन्देज – झलक सुवेदी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेरी उनीलाई मुद्दती खातामा आफ्नी श्रीमतीका नाममा रकम जम्मा गरिदिनुहोस् र उनको अनुहारमा कहिल्यै नदेखिएको खुसी अनुभव गर्नुहोस् ।’ रकम जम्मा गर्न महिलाहरूलाई आकर्षित गर्ने योजनाबारेको एउटा बैंकको विज्ञापनको मोटो सन्देश यस्तै छ ।

त्यसका लागि बनाइएको विज्ञापन टेलिभिजन, एफएम र रेडियोहरू, अनलाइनहरू, युट्युब, फेसबुक जताततै बज्छ, देखिन्छ । विज्ञापनमा एउटा युवा लोग्ने घरमा प्रवेश गर्छ, पत्नी यसै ठुस्किएजस्ती देखिन्छे । पुरुष गीत गाउँदै प्रेमप्रस्ताव गर्न सिनेम्याटिक शैलीमा घुँडा मार्छ, आशिकले आफूले मन पराएकी यौवनाको हातमा चुम्बन गरेर प्रेमप्रस्तावका रूपमा गुलाफको फूल टक्र्याएको जस्तो गरेर पाँच लाख रुपैयाँ बैंकमा जम्मा गरिदिएको प्रमाणपत्र दिन्छ । एक छिनअघिसम्म ठुस्किएकी पत्नी औधी खुसी देखिन्छे र पतिको छातीमा टाँसिन पुग्छे । विज्ञापनमा त्यसपछि पत्नीहरूलाई आर्थिक रूपले समृद्ध बनाउन सबैका लोग्नेहरूले यस्तो खाता खोलिदिऊन् भन्ने सन्देश दिने प्रयास गरिएको छ । जीवनसाथी कस्तो ? बैंकको विज्ञापनमा आउने पुरुष जस्तो कमाउने र महिलाजस्तो पैसा पाएपछि रमाउने !

बैंकका लागि यस्तो विज्ञापनका माध्यमबाट ग्राहकहरूलाई आकर्षित गर्नु, मानिसहरूमा बचत गर्ने बानी बसाल्नु राम्रै हो, व्यावसायिक दृष्टिले । यस्सो हेर्दा कुरा त राम्रो हो; पतिपत्नी खुसी हुनु, आर्थिक भविष्य पनि सुरक्षित पार्दै जानु ! तर यो विज्ञापन हेर्दा मेरो मनमा भने केही जिज्ञासा उब्जिरहन्छन् । विज्ञापनमा पुरुषले कमाउने, महिला घरमा बस्ने, महिलाका लागि पनि पुरुषले बचत गरिदिने र यसो गर्दा परिवार खुसी हुने सन्देश दिइएको छ । हाम्रो समाजको मनोविज्ञान निर्माण गर्ने यस्ता विज्ञापनहरूले कस्तो पुरुष र महिलालाई आदर्श मान्छन् भन्ने देखाउने एउटा उदाहरण हो यो ।

यो विज्ञापनले महिलालाई पराश्रित वर्गका रूपमा देखाउँछ । उसको स्वतन्त्र व्यक्तित्व या अस्तित्व अस्वीकार गर्छ । पुरुष घरबाहिर जान्छ र कमाउँछ, महिला घर बस्छे र लोग्नेको कमाइले घर चलाउँछे । पैसा कमाउन र श्रीमतीका नाममा जम्मा गरिदिन सक्ने पुरुष आदर्श पुरुष हो । घर पुरुषको, कमाइ पुरुषको, ऊ आफ्नो आयस्ताबाट अलिकति रकम पत्नीलाई दिन्छ र उसको अनुहारको हाँसो, मुस्कान या खुसी किन्छ । पत्नी पैसा पाएकामा दंग पर्छे र आफूलाई पतिको काखमा समर्पित गर्छे । यसरी रकम जम्मा गरिदिन नसक्ने पुरुषले पत्नीलाई खुसी पार्न सक्दैन । जब पत्नी खुसी हुन्न, परिवार पनि खुसी रहँदैन । समाजका पुरुष र महिला दुवैमा यसले एउटा मनोविज्ञान निर्माण गर्छ, जसलाई हाम्रो पितृसत्तात्मक समाजले पहिलेदेखि नै संस्कारका रूपमा लालनपालन गरेको छ- घर र पत्नी पतिका परिश्रमबाट चल्ने, पतिको नियन्त्रणका वस्तु हुन् । पति पहिलो दर्जाका हुन्छन्, पत्नी दोस्रो ।

जबकि नेपालमा केही बैंकका प्रमुख कार्यकारी पदमा महिलाहरू कार्यरत छन् । तिनले यस्तो विज्ञापनलाई कसरी हेर्दा हुन् ? तिनीहरूको कमाइ तिनीहरूका पतिको भन्दा बढी हुन सक्छ । तिनले पतिहरूका नाममा बैंक खाता खोलेर पतिको प्रेम र आलिंगन खरिद गर्ने पनि योजना बनाएर विज्ञापन गर्ने प्रस्ताव राखे पुरुषहरू के सोच्दा हुन् ?

विज्ञापनको यो सन्देशले महिलाहरूलाई घरबाट सार्वजनिक जीवनमा निस्केर आफ्नै योग्यताबाट कमाइ गर्ने, घरपरिवार चलाउने, समाज र संस्थाहरू हाँक्ने ल्याकतसहितका अलग व्यक्तित्वका रूपमा स्वीकार गर्दैन । उक्त विज्ञापनमा मोडलिङ गर्ने महिला स्वयं कलाकारका रूपमा अलग पहिचान र आफ्नो जीवन आफैं चलाउन सक्ने गरी कमाइधमाइ गर्ने व्यक्तित्व हुन सक्छिन् । महिलाहरू कोभन्दा को कम भन्दै सार्वजनिक जीवनमा प्रतिस्पर्धामा उत्रेर पुरुषको अधीनस्थ बस्ने होइन कि पुरुषसरह बन्ने, घर भित्र र बाहिर आफ्ना लागि पुरुषसमानको स्थान र सम्मान खोज्ने हकदार हुन्; अहिले सर्वत्र त्यसका लागि संघर्षरत महिलाहरू उपस्थित छन् । पुँजीवादी विकासले सामाजिक उत्पादन शक्तिलाई विस्तार गर्न महिलाहरूलाई घरबाहिर तानेर ल्याउने गरेको छ । पुरुषको कमाइले मात्र या महिलाको कमाइले मात्र सामूहिक परिवार चलाउन नसक्ने मध्यम वर्ग अहिले सामाजिक वर्गमा सबैभन्दा ठूलो संख्यामा छ । तर विज्ञापनमा यसलाई पूरै बेवास्ता गरिएको छ ।

महिला शरीर र यौनिकता तथा उसको स्वतन्त्र व्यक्तित्वमाथिको यो बन्देज ढिलोचाँडो भत्किनेछ, तर त्यसअघि हामीकहाँको राजनीतिक नेतृत्वको दिमागमा लागेको पितृसत्ताको खिया घोटेर फाल्नुपर्नेछ ।

सरासर महिलालाई अधीनस्थ राख्ने गरी ल्याइएको यो विज्ञापन अहिले सम्झनामा आएको भने नेपालको नागरिकता सम्बन्धी कानुनमा हालै गरिएको संशोधन र त्यसमा महिलालाई विभेद हुने गरी थोपरिएको व्यवस्थाका कारणले हो । जसरी घरभित्र पत्नीमाथि पतिको नियन्त्रण हुन्छ, त्यसरी नै देशका समग्र महिलाहरूमाथि पुरुषहरूको नियन्त्रण हुनुपर्छ भन्ने मान्यता अहिलेको नागरिकता सम्बन्धी कानुनले राख्छ । देश पुरुषको हो । पुरुषको खटनपटनमा चलेसम्म महिलाहरू यहाँ बस्न योग्य हुन्छन् अन्यथा तिनले देश दाबी गर्न पाउन्नन् । पुरुषले विदेशी महिलासँग वैवाहिक सम्बन्ध राख्न र उसबाट जन्मेका सन्तानलाई नेपाली नागरिकता दिन सहजै पाउँछ । तर, महिलाले विदेशी पुरुषसँग बिहे गरेपछि सक्कियो, उसको लोग्ने यता आएर नागरिकता पनि पाउँदैन, उसबाट जन्मेका सन्तानले बाउका बारेमा थाहा छैन भनेपछि मात्र नेपालमा नागरिकता पाउँछन्; त्यो पनि जन्मेदेखि नै नेपालमा बसेको हुनुपर्छ । आमाका नाममा वंशजका आधारमा नेपाली नागरिकता छ तर विदेशीसँग बिहे गरेकाले उसका सन्तानले वंशजको नागरिकता पाउन सक्दैनन् । पुरुषका हकमा भने यो लागू हुँदैन, उसले कुनै विदेशी महिलाबाट सन्तान प्राप्त गरी नेपाल ल्यायो भने पनि सहजै वंशजका आधारमा आफ्ना सन्तानलाई नागरिकता दिन सक्छ ।

महिलालाई अधीनस्थ राख्ने यो अपमानजनक नागरिकता सम्बन्धी कानुन हाम्रो संसद्ले पास गरेको हो । झिनोमसिनो रूपमा यसका विपक्षमा स्वर उठाइएको भए पनि त्यसलाई सरकार र संसद्ले सुनेनन् । यस्तो कानुन बनाउनमा संसद्मा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले लगायतका सबै दलका महिला–पुरुष जिम्मेवार छन् । वामपन्थी र उदारवादी सबै सहमत छन् । राजनीतिक वृत्तभित्र यसमा विमति देखिएको चाहिँ नेपाली पुरुषसँग बिहे गर्ने महिलाले बिहेलगत्तै उताको नागरिकता त्यागेपछि यताको नागरिकता पाउनेछन् भन्ने प्रावधानमा हो । यस्तो विरोध संविधानले महिला र पुरुषलाई समान मानेकाले नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिला या पुरुष दुवैको हकमा समान व्यवहार गरियोस् भन्ने मनसायले आएको छैन, बरु नेपालका धेरै पुरुषले भारतीय महिलासँग बिहे गर्छन् र त्यसरी आउने भारतीय महिला र तिनका सन्तानले नेपाल ढाकेर नेपाललाई सिक्किम या फिजी बनाउँछन् भन्ने काल्पनिकीमा आधारित छ । जबकि नेपालमा नागरिकता वितरण हुन थालेको ७० वर्षयताको इतिहासले यसलाई स्वतः खण्डन गर्छ ।

यता नागरिकता सम्बन्धी यो व्यवस्थाले नेपालमै जन्मेहुर्केकी कुनै महिलाले नेपाली पुरुषबाट जन्माएको सन्तान बाबुको पहिचानबिना नेपाली नागरिक बन्न लोग्ने या बाबु पत्ता नलागेको घोषणा गर्नुपर्ने भनेको छ । अर्थात्, कुनै महिलाले आफ्नो गर्भाशयमा हुर्केको सन्तानको बाबु को हो भन्ने जानकारी छैन भन्ने बकपत्र जिल्ला प्रशासनमा दर्ज गरेपछि मात्र उसका सन्तानले वंशजका आधारमा नेपाली नागरिकता पाउँछन् । पुरुषका हकमा यो व्यवस्था छैन । यसरी पनि कानुनले महिलालाई पुरुष–अधीनस्थ बनाएको छ । जसरी घर पुरुषको हो, पत्नी पुरुषको अधीनस्थ हो भन्ने आम पितृसत्तात्मक व्यवस्था छ, त्यसरी नै नेपालको नागरिकता सम्बन्धी कानुनले देश पुरुषको हो, नेपाली पुरुषको अधीनस्थता स्वीकार नगर्ने महिला, नेपाली पुरुषसँग बिहे नगर्ने नेपालकै छोरी र उसका सन्तान नेपाली हुन सक्दैनन् भन्ने भाष्य स्थापित गरेको छ । पुरुषको लिंग र वीर्यलाई देश या राष्ट्रको जिनेटिक आधार मान्ने यो राष्ट्रवाद नेपालका कन्जर्भेटिभ, लिबरल र लेफ्ट भनिने तीनै थरी राजनीतिक शक्तिको वैचारिक स्रोत बनेको छ । विभेदलाई निरन्तरता दिने संविधान तीनै थरी शक्तिको साझा दस्तावेज हो र अहिलेको कानुन पनि सबैको साझा प्रतिबद्धता हो । पञ्चायतकालबाट स्थापित पहाडे राष्ट्रवादको भद्दा नक्कल गरिएको यो कानुन आफैंमा विभेदकारी सिद्धान्तमा आधारित छ ।

महिलाहरू घरभित्र पनि र बाहिर पनि स्वतन्त्र हुन सक्दैनन् भन्ने वैचारिकी ‘मेरी उनीलाई…’ विज्ञापनमा स्थापित गर्न खोजिएजस्तै वर्तमान नागरिकता सम्बन्धी कानुनले त्यसलाई थप जटिल बनाएर व्यवस्थापन गरेको छ । महिला शरीर र यौनिकता तथा उसको स्वतन्त्र व्यक्तित्वमाथिको यो बन्देज ढिलोचाँडो भत्किनेछ, तर त्यसअघि हामीकहाँको राजनीतिक नेतृत्वको दिमागमा लागेको पितृसत्ताको खिया घोटेर फाल्नुपर्नेछ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार