असार २४, २०८२ मंगलबार July 8, 2025

सबल संघीयता अबको आवश्यकता – डा. डिला संग्रौला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गत वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । अबको केही महिनापछि प्रदेश र संघको निर्वाचन पनि हुने नै छ । संघीयता कार्यान्वयनको पहिलो कार्यकालबाट दोस्रो कार्यकालतिर लाग्दै गर्दा प्रदेश सरकारको औचित्यलाई लिएर प्रश्न उठ्न थालेका छन्, कतिपयले त ‘प्रदेश खारेज गरौं’ पनि भनिरहेका छन् ।

संघीयतालाई यति छिट्टै मूल्यांकन गर्ने बेला भइसक्यो र ? कि शासनव्यवस्था सञ्चालनमा जनप्रतिनिधिहरूको भूमिका, स्रोतसाधन परिचालन तथा सेवासुविधामा भइरहेको ढिलासुस्तीका कारण पोखिएको आक्रोश मात्र हो यो ? यस्तो विरोध संघीयताले सिंहदरबारको अधिकार घरघरमा पुर्‍याउन नसकेकाले चर्किरहेको छ ।

सिद्धान्तविहीन राजनीति : संघीयतामा एकभन्दा बढी तहका सरकारबाट शासन चलाइन्छ । संघीय संविधानबाटै तहगत सरकारको गठन, अधिकार क्षेत्र र जिम्मेवारीको बाँडफाँट सुनिश्चित गरिएको हुन्छ । संविधानको प्रस्तावनामै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट नेपालीको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संघीयतामा प्रवेश गरेको उल्लेख छ ।

एकात्मक राज्यप्रणालीमा देश विकासको गति बढेन । यो पद्धतिले मुलुकको भौगोलिक, सामाजिक, सांस्कृतिक, भाषिक, धार्मिक विविधतालाई पनि समेट्न सकेन । साधनस्रोतको समानुपातिक वितरण भएन, सबै शक्ति केन्द्रमै थुप्रियो । त्यसको वैकल्पका रूपमा संघ, प्रदेश र स्थानीय सरकारमार्फत राज्यशक्तिको बाँडफाँटका लागि संघीयता अपनाइएको हो । समानुपातिक, समावेशी र सहभागितामूलक विधिमार्फत समावेशी लोकतन्त्रको अभ्यास भइरहेको छ । सबै वर्गको प्रतिनिधित्व, पहिचान र पहुँच स्थापना गर्न खोजिएको छ । राज्यको सबै क्षेत्रमा जनताको अपनत्व र स्वामित्व स्थापना गर्दै विकास निर्माणको प्रक्रियामा न्यायोचित वितरण एवं हिस्सेदारीका साथै केन्द्रीकृत मानसिकतालाई विस्थापित गर्दै समाजवादतर्फ प्रतिबद्ध छ, यो व्यवस्था । सेवाको सहज प्रवाह पनि यसको उद्देश्य हो । त्यसैका लागि नेपाललाई ७ प्रदेशमा विभाजित गरियो । विशेषत: प्रदेश सरकारमार्फत विकासले गति लिन्छ, सार्वजनिक सेवा नागरिकको घरदैलोमा पुग्छ, जनता विकास र उत्पादनमा संलग्न हुन्छन्, असमानता अन्त्य गर्दै जनतालाई सम्पन्न बनाउँछ भन्ने आकांक्षासहित संघीय प्रणालीमा देश प्रवेश गरेको हो ।

क्षेत्रफल र जनसंख्याका आधारमा नेपाल सानो भए पनि जातजाति तथा भाषाभेष विविधतापूर्ण छ । यसलाई सम्बोधन गर्नुको साटो प्रदेश सरकारहरू पहिलो कार्यकालमा आन्तिरिक खिचातानीमै संलग्न भए । जनतालाई समृद्धिसँग जोड्नुको साटो प्रदेश सरकारहरू साधनस्रोतको असमान वितरण गर्न उद्यत थिए । आफ्ना परिवार र प्रतिष्ठानका नाममा मानोमानी बजेट छुट्याए । वित्तीय अनुशासन उल्लंघनका घटनाले प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठाएका छन् । प्रदेशहरू मुख्यमन्त्री, मन्त्रीहरूको फेरबदलमै सीमित छन् । गठबन्धन संस्कृतिलाई जोगाइराख्न नेताहरूले जे गरे पनि हुन्छ भन्ने मानसिकताले प्रश्रय पाएको छ । कल्याणकारी राज्यको अवधारणामा भन्दा पनि सत्ता र शक्तिमा बढी समय खर्चिनाले संघीयता लागू भएको छोटो समयमै प्रदेश सरकारको आवश्यकताबारे टीकाटिप्पणी हुन थालेका छन् ।

अनावश्यक मन्त्रिमण्डल विस्तार : प्रदेश सांसद संख्याको बढीमा २० प्रतिशतसम्मको मन्त्रिमण्डल गठन गर्न सकिने संवैधानिक व्यवस्था छ । तर यसलाई व्यवहारमा लागू गरिएको छैन । भागबन्डा मिलाउन मन्त्रालयहरू टुक््रयाएर मन्त्री नियुक्त गरिएका छन् । धेरै मन्त्री बनाउँदा प्रशासनिक खर्च बढेर विकास–निमार्णका कार्यक्रमलाई सीधै असर पारेको छ । संघीयताको विरोधमा आवाज उठ्नुको पछाडिको मुख्य कारण यो पनि हो ।

संघीयता कार्यान्वयनमा ढिलासुस्ती : अरू प्रदेशको नामकरण भए पनि प्रदेश १ को अझै भएको छैन । । त्यहाँ नामकरणका लागि सांसदहरूले गोप्य मतदानको माग गरिरहेका छन् । एउटा समूहले पहिचानसहितको नामकरणको विकल्प नरहेको र यसो नभए कालान्तरमा राज्य विखण्डनतिर जाने भनिरहेको छ, यसको विरोध अर्को समूहले गरिरहेको छ । लगातार प्रदर्शन तथा धर्ना भइरहेका छन् । पाँच वर्षसम्म नामै राख्न नसक्नुले पनि जनआक्रोश बढेको हो ।

संविधानले दिएको अधिकार : संविधानले तीनै तहका सरकारलाई एकल र साझा अधिकार प्रत्यायोजन गरेको छ । संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध, सहकारिता, समन्वय र सहअस्तित्वमा आधारित छ । तर, व्यवहारमा यसको कार्यान्वयन हुन सकिरहेको छैन । जस्तो, सार्वजनिक सेवा वितरण तथा बजेट खर्च र वित्तीय अनुशासनका मुद्दालाई लिएर प्रदेशको संस्थागत क्षमतामाथि प्रश्न उठिरहेको छ ।

अन्तर–सरकारी वित्तीय व्यवस्थापन ऐन–२०७४, संघ, प्रदेश र स्थानीय तह सञ्चालन ऐन–२०७७, स्थानीय सरकार सञ्चालन ऐन–२०७४, कार्य विस्तृतीकरण प्रतिवेदन–२०७४ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन–२०७६ परिमार्जनको प्रतीक्षामा छन् । यस्तै अन्तरप्रदेश परिषद्, समन्वय परिषद् र अन्तरसरकारी आर्थिक परिषद्ले संघ, प्रदेश र स्थानीय सरकारसँगको सम्बन्धलाई बलियो बनाउनुपर्छ । सबै तह क्षेत्राधिकारका विषय स्पष्ट छैनन्, जसका कारण सरकारहरूबीच राम्ररी समन्वय हुन सकेको छैन ।

स्थानीय तह, प्रदेश र संघले राजस्व उठाउने अधिकार पाएका छन् । संविधानमै संघीय सरकारले सबै प्रदेश र स्थानीय तहलाई राजस्वको समतामूलक बाँडफाँट गर्नुपर्छ भनिएको छ । स्थानीय तह र प्रदेशमा राजस्व वितरण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार हुनुपर्ने प्रावधान छ । तर, प्रदेश र स्थानीय तहमा स्रोतसाधनको हस्तान्तरण र बजेटको विनियोजनमा केही असमानता देखिएको छ ।

संघीयताको अपरिहार्यता : संघीय पद्धति समस्त नेपालीका लागि हो । राज्यशक्तिमा जनताको स्वामित्व बढाउन संघीयता आवश्यक छ । तर पहिलो कार्यकालमै प्रदेश सरकारको भूमिकालाई लिएर यसको आवश्यकतामाथि प्रश्न उठाउनु उचित छैन । दोष व्यवस्थाको होइन, नेताहरूको कार्यशैलीको हो, जुन अब फेरिनुपर्छ । प्रदेशको औचित्यमाथि नै प्रश्न उठाउनु फेरि केन्द्रीकृत मानसिकतामै फर्कन खोज्नुको लक्षण हो । तर, यस्तो बहसले अबको निर्वाचनपछिको प्रदेश सरकारलाई सच्चिनुपर्ने सन्देश दिएको छ । कमीकमजोरीहरू सच्याए संघीयताले जनतालाई सम्मान मात्र गर्दैन, आफ्नो क्षेत्र समृद्ध बनाउने आधार पनि दिन्छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार