काठमाडौँ । बलात्कार प्रयासको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालतले सोमबार सफाइ दियो ।
अदालतबाट सफाइ पाएसँगै महराको सांसद पदको रोक्का सेवा सुविधा भने स्वतः फुकुवा भएको छ । तर आज दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महरा उपस्थित हुनेरनुहुने विषयमा टुंगो लागेको छैन ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अदालतबाट सफाइ पाएसँगै महरालाई सांसदका रुपमा प्रतिनिधिसभामा भाग लिने बाटो खुलिसकेको बताउँछन् । तर महरा प्रकरणमा जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत जानै पर्ने भएकोले यो नै अन्तिम फैसला नहुने उनको भनाई छ ।
हाललाई भने महराले सांसदका रुपमा प्राप्त हुने सम्पूर्ण सेवा सुविधा र अधिकार उपभोग गर्न पाउने उनले बताएका छन ।
फौजदारी अभियोग लागेका सांसदले सफाइ पाएपछि प्रतिनिधिसभालाई उक्त सूचना दुई ढंगले सूचित गरिन्छ । एक, संसद बसेका बेला सभामुखमार्फत पढेर सुनाउने र अर्को, संसद नबसेका बेला सूचना टाँस गरेर जानकारी दिने ।
त्यसका लागि सबैभन्दा पहिला त अदालतबाट सम्बन्धित सांसदले सफाइ पाएको औपचारिक पत्र संसद सचिवालमा प्राप्त हुनुपर्छ । तर हालसम्म अदालतबाट उक्त पत्र प्राप्त नभएको संसद सचिवालयका सचिव गोपालनाथ योगीले बताएका छन ।
‘अदालतबाट औपचारिक पत्र प्राप्त भएपछि हामीले थप प्रक्रिया अगाडि बढाउने हो । तर अहिलेसम्म पत्र प्राप्त भएको छैन’, उनले भने ।
प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे बस्दै छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया