श्रावण १, २०८२ बिहिबार July 17, 2025

पोखरामा खेलकुद कुम्भमेलाको आज उद्घाटन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४।०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नुहुनेछ ।

उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा आउनुभएको छ भने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत विशिष्ट व्यक्तित्वहरू पनि पोखरा आइसक्नुभएको छ । सबै खेलका लागि खेलाडी तथा अफिसियल पनि पोखरा आइपुग्नुभएको छ ।

यसअघि कुल सात हजार सात सय ९९ खेलाडी प्रतिस्पर्धामा भाग लिने भनिए पनि यसपटक छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो । प्रतियोगितामा ३६ खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी बन्नेछन् ।

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको सदस्यसचिव घिसिङले जानकारी दिनुभयो । उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरूबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रमलगायत आतिशबाजीसहितका मनोरञ्जनात्मक कार्यक्रम गर्ने तयारी छ । त्यस्तै ११ वटै टोलीको मस्कटसहित मार्चपास, ओलम्पिक टर्च प्रज्ज्वलनलगायत तयारी गरिएको छ ।

औपचारिकरूपमा आज उद्घाटन हुने भए पनि केही खेल यसअघि नै सुरु भइसकेका छन् । हालसम्म बागमती प्रदेशले चार स्वर्ण र एक रजत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण र तीन रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एक स्वर्ण, तीन रजत र छ कास्य प्राप्त गरेको छ । त्यस्तै सुदूरपश्चिमले एक स्वर्ण र तीन कास्य, नेपाल पुलिसले एक स्वर्ण, प्रदेश नं १ ले तीन कास्य तथा आयोजक गण्डकी प्रदेशले एक कास्य प्राप्त गरिसकेको छ । प्रतियोगितामा कुल पदक सङ्ख्या स्वर्ण तीन सय ९३, रजत तीन सय ९३  र कास्य छ सय रहेको बताइएको छ ।

कोरोना, स्थानीय निर्वाचनलगायतका कारण २०७७ सालमा नै हुनुपर्ने नवौँ राष्ट्रिय खेलकुद ढिलै भए पनि यसको काउन्डाउन आज सकिएको छ । यसअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनका दिन नवौँ राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी गराइएको थियो ।

महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व खेलकुदका गतिविधिसँगै नेपालको राष्ट्रिय खेलकुद पनि प्रभावित बनेको थियो । पछिल्लो समय स्थानीय निर्वाचनका कारण पनि खेलको मिति पुनः सरेको थियो । आज हुने उद्घाटन समारोहलाई विशेष बनाउने गरी सबै किसिमको तयारी भएको नवौँ राष्ट्रिय खेलकुद प्रचार–प्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिनुभयो ।

विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको छ । खेलकुदको उद्घाटन हुने दिन आज बिहानैदेखि पोखराको मौसम खुलेको छ ।

छत्तीस खेलमध्येका २६ खेल पोखरामा र अन्य गण्डकीका अरु जिल्लामा गर्ने गरी तय भएको खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिनुभयो । गण्डकीका लमजुङ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा नवौँ राष्ट्रिय खेलकुदका खेल सञ्चालन हुनेछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार