असार २४, २०८२ मंगलबार July 8, 2025

निर्वाचन प्रणालीमा सुधारको खाँचो – खिमलाल देवकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२०७२ मा संविधान जारी भएपश्चात्को आउँदो दोस्रो आवधिक निर्वाचनले संघीय सरकार र प्रदेश सरकारको निर्माण गर्नेछ । संघीय सरकार बनाउन प्रतिनिधिसभाका २७५ सदस्यको बहुमत चाहिन्छ । सातै प्रदेशका प्रदेशसभा सदस्यको संख्या ५५० छ । यीमध्ये सबभन्दा बढी वाग्मतीमा ११० र सबभन्दा कम कर्णालीमा ४० जना छन् । प्रतिनिधिसभा र प्रदेशसभाको कुल सदस्यसंख्यामा ६० प्रतिशत प्रत्यक्ष जननिर्वाचित हुन्छन् भने, बाँकी ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् ।

२०७४ को पहिलो आवधिक निर्वाचनमा नेकपा एमाले १६५ निर्वाचन क्षेत्रमध्ये ८० स्थानमा विजयी भएको थियो । समानुपातिकमा ४१ गरी कुल १२१ सदस्य एमालेबाट निर्वाचित भएका थिए । निर्वाचनमा एमालेले माओवादी केन्द्र र अन्य ससाना राजनीतिक दलसँग गठबन्धन गरेको थियो । पछि एमाले र माओवादी केन्द्र एकताबद्ध भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । मधेश प्रदेशबाहेकका प्रदेशमा नेकपाकै नेतृत्वमा दुईतिहाइ बहुमतका प्रदेश सरकारहरू बने । पछि, नेकपाको आन्तरिक कलह लगायतका कारण प्रतिनिधिसभा दुई–दुई पटक विघटन भयो । नेकपा विभाजित भई साबिककै एमाले र माओवादी केन्द्र बने । केन्द्रमा ओली सरकार परिवर्तन भयो । प्रदेशमा पनि एमालेले नेतृत्व गरेका प्रदेश सरकारहरू फेरिए । पछिल्लो पटक, एमाले पनि विभाजित भयो । एमालेले १८७ दिनसम्म संसद् अवरुद्ध गर्‍यो । विभिन्न आरोह–अवरोहबीच प्रतिनिधिसभाले पहिलो कार्यकाल पूरा गर्‍यो । मुलुक नियमित चुनावी प्रक्रियामा होमियो ।

चुनावमा राजनीतिक दलहरूले जनतासँग गर्ने प्रतिबद्धता भनेका ‘बहुमत दिनोस्, स्थायित्व दिन्छौं, विकासको लहर ल्याउँछौं, सुशासन दिन्छौं’ आदि नै हुन् । भनिरहेका पनि छन् । २०७४ मा एमालेले नेतृत्व गरेको चुनावी समीकरणका पक्षमा दुईतिहाइनिकट बहुमत आयो । तर जनताले अपार माया गरेर दिएको बहुमतको कदर भएन । पार्टीको आन्तरिक कलहको भार मुलुकले बोक्नुपर्‍यो । निसाना प्रतिनिधिसभालाई बनाइयो ।

प्रतिनिधिसभा जीवित नै रहँदा पनि संसद्लाई खासै बिजनेस दिइएन । संघीयता कार्यान्वयनका लागि बन्नुपर्ने निजामती सेवाजस्ता अत्यावश्यक कानुनहरूसमेत बनेनन् । प्रदेशको एकल अधिकार सूचीमा हुँदा पनि प्रहरी समायोजन भएन । संविधानसँग तादात्म्य हुने गरी संघीय शिक्षा ऐनसमेत जारी गरिएन । प्रदेश र स्थानीय तहका कर्मचारी लगायतका समस्या समाधानमा गम्भीरता देखाइएन ।

कोभिड–१९ को व्यवस्थापनमा वाग्मती प्रदेश सरकारलाई काठमाडौंमा छिर्नै दिइएन । सुरक्षा र सार्वजनिक यातायातका नाममा वाग्मती प्रदेशको अधिकार कुण्ठित हुने गरी संसद्मा विधेयक पेस गरियो । भएका विश्वविद्यालयहरूको व्यवस्थापनमा ध्यान दिनुको सट्टा धमाधम नयाँ विश्वविद्यालय सम्बन्धी विधेयक पेस गरियो । प्रदेश र स्थानीय तहलाई संघीय सरकारको प्रशासनिक एकाइका रूपमा प्रस्तुत गरियो ।

अध्यादेशमार्फत शासन सञ्चालन गर्ने अभ्यासको थालनी भयो । कानुन तर्जुमा गरी संघीय शासन प्रणालीको सबलीकरण गर्नतर्फ खासै ध्यान दिइएन । मुख्यमन्त्रीहरूको बारम्बारको अनुरोधपश्चात् अन्तरप्रदेश परिषद्को बैठक बस्यो र संघीयता कार्यान्वयनको २९ बुँदे कार्यायोजना बनायो । कार्ययोजनामा निजामती सेवा, स्थानीय सेवाको गठन र सर्त, शिक्षा, विद्युत्, कृषि, पर्यटन, खानी लगायत सम्बन्धी कानुनहरू २०७५ चैतभित्र बनाइसक्ने भनिए पनि साढे ३ वर्षसम्म पनि बनेनन् । स्थानीय तहको अधिकार क्षेत्रभित्रका सम्पत्तिहरू छ महिनाभित्र हस्तान्तरण गर्ने भनिए पनि लामो समयसम्म आलटाल गरियो ।

ओली सरकारको बहिर्गमनपश्चात् शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बन्यो । ओली सरकारले संविधान मिच्यो, कानुन र विधिको शासनको पालना गरेन, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र मिच्ने गरी कानुन बनायो, प्रदेशमा प्रहरी समायोजन गरेन, निजामती सेवा सम्बन्धी कानुन बनाएन, प्रदेश र स्थानीय तहको कर्मचारी लगायतको समस्या समाधान गरेन, योजना जथाभावी बाँडफाँट गर्‍यो, कार्यबोझका आधारमा वित्तीय हस्तान्तरण गरेन, प्रहरी र राजस्व अनुसन्धान लगायतका निकायहरू प्रधानमन्त्री कार्यालयमा राखेर शक्तिको दुरुपयोग गर्‍योजस्ता जे–जे आरोपहरू सत्ता गठबन्धनले सडकमा हुँदा लगायो, सरकारमा पुग्दा उसको ताल पनि त्यस्तै देखियो । ओली सरकारलाई लगाइएका आरोपहरूको पुष्टि गर्ने गरी काम गरेन, बरु उल्टै निरन्तरता दियो ।

प्रदेशका अधिकार खुम्च्याउने गरी संसद्मा दर्ता भएका र अध्यादेशमार्फत ल्याइएका विधेयकहरू नसच्याई जस्ताका तस्तै प्रस्तुत भए । विधेयककै सन्दर्भमा पनि, सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक अनि नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयकले संविधानप्रदत प्रदेशको अधिकारलाई कुण्ठित गरेका छन् । २५० देखि ३०० वटासम्म स्थानीय तह निमित्तका भरमा चलेका छन् । सिंहदरबारमा कर्मचारी काम नपाएर त्यसै बस्ने, उता स्थानीय तह निमित्तको भरमा चल्ने ! यसलाई सुधार गर भनेर पटक–पटक संसद्मा सांसदहरूले बोल्दासमेत कुनै सुनुवाइ भएन ।

संसद्मा विनियोजन विधेयकमा छलफल गर्दा सरकारका कतिपय मन्त्रीहरू निर्लज्ज तरिकाले प्रस्तुत भए । खारेज गरिएका अनि प्रदेश र स्थानीय तहमा हस्तान्तरित कार्यालय तथा निकायहरू पुनःस्थापित गराउँछौं, केन्द्रमै फिर्ता हुन्छन् भन्नेजस्ता अभिव्यक्तिहरू दिए । कार्यक्रम तथा योजनाहरू न्यायोचित तरिकाले बाँडफाँट गर्नुपर्नेमा आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित गरे । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा खानेपानी, पर्यटन, सहरी विकास लगायतका योजनाहरूको सीमा तोकिए पनि यसलाई मान्दैनौं भनेर खुला चुनौती दिए ।

मिश्रित निर्वाचन प्रणालीलाई हटाएर पूर्ण प्रत्यक्ष वा पूर्ण समानुपातिक निर्वाचन प्रणाली जबसम्म कायम गर्न सकिँदैन, तबसम्म यस्तै समस्या र अन्योल रहिरहनेछ । मिश्रित निर्वाचन प्रणालीले गर्दा जतिसुकै लोकप्रिय पार्टीले पनि संसद्मा बहुमत ल्याउन सक्दैन ।

ओली सरकार र गठबन्धन सरकारको प्रसंगहरू यहाँ किन जोडिएका हुन् भने, सडकमा गरिएका मीठा–मीठा भाषणहरू सत्ताका लागि मात्रै रहेछन् । सत्तामा पुगेपछि सडकका आवाजहरू सबैले बिर्सने रहेछन् । यो प्रवृत्तिमा जबसम्म सुधार हुँदैन, तबसम्म जति पटक चुनाव गरे पनि हुनेवाला केही छैन । चुनाव फगत सत्ताका लागि मात्रै हुनेछ । सायदै यही भएरै होला, अहिले जनतामा खासै चुनावी रौनक छैन ।

पार्टीभित्रकाले काम गर्न दिएनन्, परमादेशी सरकारले सिन्को भाँचेन भन्नेबाहेक एमालेसँग खासै चुनावी मुद्दा छैन । सत्ता गठबन्धनमा पनि संविधानलाई मूल ट्र्याकमा ल्याएर मुलुकलाई दुर्घटनाबाट जोगायौं भन्नेबाहेकको एजेन्डा छैन । नयाँ शक्ति पार्टी खोलेका बाबुराम भट्टराई पुरानै घरमा फर्कने वातावरण बनाउँदै छन् । रवीन्द्र मिश्र राप्रपामा गए । ससाना राजनीतिक दल र स्वतन्त्रहरूलाई जनताले पत्याउने, विश्वास गर्ने वातावरण बन्न सकेको छैन । यो हेर्दा अबको सरकारको स्थायित्वमा पनि समस्या रहिरहने देखिन्छ । आलोपालो प्रधानमन्त्री/मुख्यमन्त्री, राष्ट्रपति र सभामुख लगायतका महत्त्वपूर्ण पदहरूमा भागबन्डा, मन्त्रीहरूको फेरबदल आदि लेनदेनका कारण जनतामा फेरि पनि निराशा छाउनेछ ।

तत्कालीन ओली सरकारले जनमत अनुसार काम गर्न सकेन, गठबन्धन सरकार पनि अपेक्षित परिणाम दिनबाट विमुख भयो । नागरिकस्तरमा अनुभूति गरिएका विषय हुन् यी । तर सत्य के हो भने, संविधानमा रहेको मिश्रित निर्वाचन प्रणालीलाई हटाएर पूर्ण प्रत्यक्ष वा पूर्ण समानुपातिक निर्वाचन प्रणाली जबसम्म कायम गर्न सकिँदैन, तबसम्म यस्तै समस्या र अन्योल रहिरहनेछ । मिश्रित निर्वाचन प्रणालीले गर्दा जतिसुकै लोकप्रिय पार्टीले पनि संसद्मा बहुमत ल्याउन सक्दैन ।

समानुपातिक निर्वाचन प्रणालीका नाममा हुनेखाने र टाठाबाठाहरूले मात्र अवसर पाएका छन् । पटक–पटक सांसद मन्त्री/उपप्रधानमन्त्री भएका छन् । नाम–दाम कमाएका छन् । पार्टी पदाधिकारी लगायत उच्चपदस्थ पदमा बसेर काम गरेकाहरू पनि समानुपातिकको सूचीमा छन् । समानुपातिक निर्वाचन प्रणाली हुनचाहिँ पछाडि परे–पारिएका वर्ग, समुदाय र क्षेत्रका नागरिकका लागि हो । तर यथार्थमा त्यस्तो छैन । केही राजनीतिक दलहरूको धारणा पूर्ण समानुपातिक निर्वाचन प्रणाली मात्र हुनुपर्छ भन्ने छ । यदि त्यसो हो भने सतहका विकृतिहरू सुधार्न जरुरी छ । यसै गरी समानुपातिक सूचीका उम्मेदवारसमेत जनताबाट अनुमोदित हुने गरी राजनीतिक दल र उम्मेदवारको संयुक्त मतभारका आधारमा निर्वाचित हुने विधिमा जानुपर्छ । यसका लागि सिंगो मुलुकको सट्टा प्रदेशको भूगोललाई निर्वाचन क्षेत्र बनाइनुपर्छ ।

पछाडि परे–पारिएका वर्ग र समुदायलाई प्रत्यक्ष निर्वाचन प्रणालीबाट सम्बोधन गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न पनि सकिन्छ । यसका लागि निर्वाचन क्षेत्र रोटेसनका आधारमा अदलबदल हुने गरी दलित–दलित, महिला–महिला, थारू–थारू, मुस्लिम–मुस्लिम आदिबीच प्रतिस्पर्धा गराउने विधि बसाल्दा राम्रो हुन्छ । तर प्रत्यक्ष निर्वाचन प्रणालीमा हुने अत्यधिक खर्चको बेथितिलाई रोक्न भने जरुरी छ । भारतका संविधानका पिता भीमराव अम्बेडकरले संविधान लेखनताका प्रत्यक्ष निर्वाचन प्रणालीले मात्र मुलुकमा स्थायित्व हुने धारणा व्यक्त गरेका थिए । कुन विधि अपनाउँदा मुलुकमा स्थायी शान्ति र स्थायित्व हुन्छ, त्यसको निर्क्योल गर्ने दायित्व भने राजनीतिक दलहरूको हो ।

संविधान राजनीतिक दलको साझा सहमतिको दस्तावेज हो । निर्वाचन प्रणालीका कारण संविधानको स्थायित्वमै प्रश्नचिह्न लाग्ने अवस्थाका कारण राजनीतिक दलहरूले यस विषयमा गम्भीर रूपमा छलफल गर्न जरुरी छ । यथास्थितिमै रहने हो भने राजनीतिक दलहरूबीच सरकार बनाउने–भत्काउने खेल भने चलिरहने नै छ । बिहानको बैठकसम्म सत्ता गठबन्धनमै रहेको जसपा बेलुकाको बैठकमा एमालेको गठबन्धनमा गएको जस्तो चुनावपछि थप नयाँ गठबन्धन नबन्ला भन्न सकिँदैन । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार