श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्रधानमन्त्री कपको तयारी पूरा – विजेताले १० उपविजेताले ५ लाख पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही कात्तिक १३ देखि २६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा प्रधानमन्त्री कप क्रिकेट हुँदैछ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले प्रतियोगिताको लागि सबै तयारी पूरा भएको बताए । यसअघि कात्तिक १२ गतेदेखि नै सुरु गर्ने भनिएपनि चाडपर्वले गर्दा प्रतियोगिता एक दिन पछि सुरु हुने भएको हो ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । दुवै समूहको लिग खेलपछि शीर्ष दुई-दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

सेमिफाइनल विजेता दुई टिमबीच कात्तिक २६ गते त्रिवि क्रिकेट मैदानमा फाइनल खेल हुनेछ ।

उद्घाटन खेलमा कात्तिक १३ गते आइतबार समूह एमा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । यस्तै कात्तिक १३ गतेनै समूह बी मा रहेका नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच मुलपानी मैदानमा खेल हुनेछ ।

विजेतालाई १० लाख

प्रधानमन्त्री कपको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । यस्तै सेमिफाइनल पुग्ने दुवै टिमले ५०-५० हजार तथा म्यान अफ दि सिरिजले पनि ५० हजार रुपैयाँ पाउने क्यानका सचिव मल्लले बताए ।

बेस्ट ब्याटर र बेस्ट बलरले समान २० हजार, इमर्जिङ प्लेअरले १० हजार रुपैयाँ पाउनेछन् । म्यान अफ दि म्याचले ३ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको बजेट कूल १ करोड ५१ लाख रुपैयाँ रहेको छ । ‘त्यसमा ६० लाख राखेपले दिनेछ । बाँकी रकम क्यानको आन्तरिक स्रोतबाटै व्यवस्था गर्नुपर्नेछ’ कार्यवाहक सचिव मल्लले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया