काठमाण्डौंः ब्राजिलको चुनावी अदालतका प्रमुखले बुधवार यस वर्षको राष्ट्रपतिको लागि भएको मतदान रद्द गर्न जैर बोल्सोनारोले दिएको निवेदनलाई खारेज गरिदिएका छन् । देशका केही मतदान मेसिनहरू बिग्रिएकाले आफू हारेको भन्ने बोल्सोनारोको आरोपलाई अदालतले ‘हास्यास्पद र अवैध’ र ‘लोकतान्त्रिक विधिको शासनतर्फ स्पष्ट रूपमा षड्यन्त्रकारी’ भनेको छ ।
आफ्नो निर्णयमा, सर्वोच्च निर्वाचन अदालतका मुख्य न्यायाधीश अलेक्जान्डर डे मोरेसले ‘इलेक्ट्रोनिक मतपत्रका सबै मोडेलहरू स्पष्ट, सुरक्षित र अभिन्न रुपमा पहिचानयोग्य भएको’ बताए । मोरेसले दुरनियतपूर्ण हालिएको मुद्दाको लागि बोल्सोनारोको दक्षिणपन्थी लिबरल पार्टीलाई ४१ लाख डर जरिवाना तिर्न आदेश दिएका छन् । बोल्सोनारो गत महिना वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला दा सिल्भासँग झिनो अन्तरले पराजित भएका थिए । लुला जनवरी १ मा राष्ट्रपतिको रूपमा पदस्थपना गर्दैछन् ।
निर्वाचनको मत परिणाम सार्वजनिक भए यता बोल्सोनारोले स्पष्ट रुपमा हार नस्वीकारे पनि ‘संविधानका सबै प्रतिवद्धता पूरा गर्ने’ बताएका छन् । जसलाई केही पर्यवेक्षकहरूले उनी सत्ता हस्तान्तरणमा सहयोगी हुने प्रमाणका रुपमा लिएका थिए । तर मंगलबार एक्कासी बोल्सोनारो र उनको लिबरल पार्टीका नेताले केही भोटिंग मेसिनमा खराबी भएको भन्दै ती मसिनमा हालिएका कुनै पनि भोट खारेज गर्नुपर्ने माग गरेका छन् । बोल्सोनारोको पार्टीले आफूले नियुक्त गरेका विश्लेषण कम्पनीको मुल्याकंनलाई उद्धृत गर्दै, उजुरीमा ती भोटिङ मेसिनका मतदान नगन्ने हो भने बोल्सोनारो विजयी हुने दावी गरिएको छ ।
निर्वाचन अधिकारीहरूले पहिलो चरणको निर्वाचन र दोस्रो चरणको भोटमा एउटै भोटिंग मेसिन प्रयोग गरेको भन्दै आरोपलाई खारेज गरिदिएका छन् । बुधवारको एक पत्रकार सम्मेलनमा, लिबरल पार्टीका कंग्रेस वाल्डेमार कोस्टा नेटोले आफूहरुले दोस्रो राउन्डको प्रमाणीकरणको लागि सोध्नुको कारण रहेको बताए । ‘पहिलो चरणको चुनावमा उम्मेदवारको संख्या धेरै भएकाले कुनै व्यक्तिलाई लक्षित गर्न गा¥हो हुने थियो,’ कोस्टाले भने ।
उच्च मुद्रास्फीति, न्युन आर्थिक वृद्धि र बढ्दो गरिबीसँग संघर्ष गरिरहेको ब्राजिलमा तनावपूर्ण र ध्रुवीकृत राजनीतिक वातावरणको बीचमा गत महिनाको राष्ट्रपतिय चुनाव भएको थियो । दोस्रो चरणको चुनावमा लुला दा सिल्भाले ६ करोडभन्दा बढी मत प्राप्त गरेर चुनाव जितेको निर्वाचन आयोगले बताएको छ, जुन ब्राजिलको इतिहासमा राष्ट्रपतिले हासिल गरेको सबैभन्दा धेरै मत हो ।-सीएनएनबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया